|

काठमाडौँ : देशकै ठूलो सरकारी अस्पताल वीर अस्पतालमा ‘एक्स-रे फिल्म’ नहुँदा सामान्य खालको एक्स-रेदेखि सिटीस्क्यान सेवा प्रभावित भएको छ।

तिहार पहिलेदेखि ‘एक्स-रे फिल्म सकिएर सेवा प्रभावित भएपछि हाल अस्पताल पुगेका विरामी सामान्य खालको एक्स-रेदेखि सिटीस्क्यान लगायतका सेवा पाउन वञ्चित भएका छन्। 

वीर अस्पतालका प्रशासन सेवाका एक कर्मचारीका अनुसार हाल अस्पतालमा ‘एक्स-रे फिल्म’ नभएको अवस्थामा आकस्मिक सेवातर्फ गर्नुपर्ने एक्स-रेदेखि सिटीस्क्यान सेवाका लागि एक्स-रे फिल्मविनाको रिपोट पेनड्राइभमा हालेर चिकित्सकसमक्ष पठाइन्छ।

ती कर्मचारीले भने‚ 'यो समस्या तिहार पहिलेदेखिकै हो तर बीचमा पर्व पर्‍यो। अहिले थेग्नै नसक्ने अवस्थामा पुगेको छ। सिटीस्क्यान गर्नुपर्ने सामान्य खालका बिरामी त फर्किएका छन् तर आकस्मिक सेवातर्फ एक्स-रेदेखि सिटीस्क्यानका लागि एक्स-रे फिल्मविनाको रिपोट पेनड्राइभमा हालेर चिकित्सकसमक्ष पठाउने गरिएको छ।' 

नसा, न्युरो, मुटु, टाउको विभिन्न खाले समस्यादेखि हाडजोर्नीसम्बन्धी जटिल समस्या भएका विरामीको सिटीस्क्यान तथा एक्स-रे गर्नुपर्ने हुन्छ। वीर अस्पताल भनेको न्युरोसम्बन्धी सबैभन्दा धेरै सर्जरी हुने स्थान हो। ती कर्मचारीका अनुसार वीर अस्पतालमा दैनिक १०० जनासम्म विरामी सिटीस्क्यान गर्नुपर्ने खालका पुग्ने गर्छन्। 

सिटीस्क्यानका लागि १४ इन्च लम्बाइ र १६ इन्च चौडाइको फिल्म चाहिन्छ।  

यस विषयमा वीर अस्पतालमा निर्देशक डा. सन्तोष पौडेलसँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.