news

|

काठमाडौं : गत कात्तिक १७ गते गएको भूकम्पले अहिलेसम्म जनताको ज्यान लिइरहेको छ। 

कतिपयको मृत्यु भूकम्पले भत्काएको घरले थिचेर भयो त कति चिसोले कठ्यांग्रिएर मरिरहेका छन्। भूकम्पले घरबारविहीन भएर खुला आकाशमुनि सुतिरहेको दुई साताभन्दा बढी भइसक्दा पनि सबैले त्रिपालसमेत समेत पाउन सकेका छैनन्। 

ओत लाग्ने घरको कुरा त पर जाओस्, ओढ्ने र ओछ्याउने समेत नपाउँदा एक सातामै चिसोको कारण पाँचजना भूकम्प पीडितको मृत्यु भइसकेको छ। शुक्रबार दुईजना, गत बुधबार एकजना र गत शुक्रबार दुईजनाको चिसोका कारण मृत्यु भएको हो। 

चिसो बढ्दै जाँदा भूकम्पपीडितमा स्वास्थ्य समस्या पनि बढ्दो  छ तर उनीहरूको समस्या समाधान गर्दै जीवन रक्षा गर्नेतर्फ सरकारको ध्यान गएको छैन। भूकम्प गएको दुई साताभन्दा बढी हुँदा समेत पीडितलाई उचित व्यवस्था गर्नुको साटो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेफिक्री भएर पार्टीको कार्यक्रम र उद्घाटन शिलान्यासमा व्यस्त छन्। 

भूकम्पपछिको प्रधानमन्त्रीको दैनिकी पार्टीको कार्यक्रममा भाषण र विभिन्न भवनको शिलान्यास तथा उद्घाटन गरेर बितिरहेको छ। उनी प्रत्येक दिन नयाँ कार्यक्रमलाई सम्बोधन गर्न नयाँ नयाँ ठाउँ दौडिरहेका छन्। खुला आकाशमुनि कठ्यांग्रिँदो चिसोमा भूकम्पपीडित छट्पटाइरहँदा प्रधानमन्त्री बेफिक्री भएर देश दौडाहामा छन्। 

आइतबार पनि प्रधानमन्त्री प्रचण्ड पार्टीको प्रशिक्षण तथा जनसभालाई सम्बोधन गर्न रुकुम पूर्व पुगेका छन्। यसअघि शुक्रबार प्रधानमन्त्री तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न पुगेका थिए।

सोही दिन उनले तनहुँकै आँबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि सम्बोधन गर्न भ्याए। शनिबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थर पुगेका थिए। 

भूकम्प गएको साता दिन नबित्दै गत कात्तिक २४ गते प्रधानमन्त्री रोल्पाको सदरमुकाम लिवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पुगेका थिए। उनी कहिले संघीय राजधानीको काठमाडौं, भक्तपुर र ललितपुर त कहिले पश्चिम नेपालका जिल्ला पुगेका छन्। नागरिकको सामान्य अपेक्षासमेत पूरा गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेका वेला प्रधानमन्त्री बिन्दास भएर घुमफिरमा लागेका छन्। 

भूकम्प गएको भोलिपल्टै हेलिकप्टर चढेर प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री त्यसयता दिनहुँ एउटा कार्यक्रममा सहभागी भइरहेका छन्। सत्ता र वर्तमान व्यवस्था जोखिममा रहेको भाषण गर्न कतै पनि नछुटाउने उनले भूकम्पपीडितका लागि कुनै योजना बनाउन भ्याएका छैनन्।

जिल्ला अस्पताल र अरू सामान्य सरकारी भवनको शिलान्यासदेखि पार्टी र संस्थाको कार्यक्रममा भाषण गर्न दौडधुप गरिरहेका उनलाई सरकार ढल्ने र वर्तमान व्यवस्था उल्टिने चिन्ता छ। त्यहीँ चिन्ताले छटपटिएर १२ बुँदे पक्षधरहरूलाई बोलाएर छलफल पनि गरेका प्रधानमन्त्री प्रचण्डले भूकम्पले घरबारविहीन बनेकालाई तत्काल बस्ने व्यवस्था कसरी गर्ने? भन्ने बारे कुनै ठोस योजना बनाएका छैनन्। 

प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हाल्दै प्रचण्डको अठोट भने विगतको जस्तो कार्यशैली नअपनाउने उद्‌घोष थियो। १० पुसमा संसद्‌मा उभिएर प्रचण्डले शान्ति प्रक्रियामा आएपछि बीचमा केही अलमलिए जस्तो देखिए पनि क्रान्ति सुरु गर्दाकै वेग र अठोटका साथ प्रधानमन्त्री बनेको बताएका थिए। 

देशका नागरिक चिसोले कठ्यांग्रिएर मरिरहँदा पनि उनले उद्घाटन, शिलान्यास, पुरस्कार वितरण र पुस्तक लोकार्पणकै कार्यक्रममा धेरै रुचि देखाइरहेका छन्। गठबन्धन सरकारको नेतृत्व गरिरहेका उनले पार्टीका चियापानदेखि सामान्य राजनीतिक कार्यक्रमहरूको निम्तो पनि टार्न सकेका छैनन्।  

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई भेटेरै भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव समेत दिएको थियो। प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीलाई भेटेरै समितिले सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएको थियो। 

नेपाली कांग्रेसले पनि जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको थियो। 

भूकम्प प्रभावित क्षेत्रको स्थलगत गत अवलोकन गरी फर्केको कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै उक्त सुझाव दिएको थियो। 

पुसको जाडोमा पीडितहरूको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिरभित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको कांग्रेस महामन्त्री थापाले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यथाशीघ्र अस्थायी टहरा बनाउन सुझाव दिएको थियो। तर हालसम्म सरकारले भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउने कुरा त परै रह्यो‚ सबै पीडितलाई त्रिपाल समेत वितरण गर्न सकेको छैन। 

भूकम्पलगत्तै सरकारले पीडितहरूका लागि भन्दै सहयोगको अपील गरेको थियो। सरकारले सुरु गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म १५ करोड रुपैयाँ मात्रै जम्मा भएको छ। गत कात्तिक १९ मा सरकारले उक्त कोषमा इच्छुक संघसंस्था तथा निकायलाई सहायता उपलब्ध गराउन आग्रह गरे पनि दुई सातामा १५ करोड २८ लाख रुपैयाँ मात्र जम्मा भएको हो। 

भूकम्प गएको भोलिपल्टैदेखि विभिन्न संघसंस्थाबाट पीडितलाई सहयोग घोषणाको प्रतिस्पर्धा भए पनि त्यसअनुसार रकम जम्मा हुन सकेको छैन। सहायता कोषमा शुक्रबारसम्म विभिन्न संघसंस्था, व्यक्तिलगायत ५८ निकायबाट मात्र रकम जम्मा भएको छ। 

यसबाहेक छिमेकी मुलुक र देशभित्रका विभिन्न संघसंस्थाले आफैं स्थलगत रूपमै पुगेर राहत वितरण गर्दै आएका छन्। भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश सरकार, अन्तरराष्ट्रिय जगत्, निजी संघसंस्था र व्यक्तिले करोडौँ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि तदनुरूप रकम जम्मा हुन सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.