चिकित्सक भन्छन्– न्यानो कपडा दिन नसके समस्या विकराल बन्नेछ

|

काठमाडौं : चिसो बढ्दै जादा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको जीवन कष्टकर बनेको छ। चिसोकै कारण आइतबारसम्म सातजनाको मृत्यु भइसकेको छ। 

गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले घर भत्काउँदा मानिस चौरमा बसेका छन्। चिसो बढ्दै गर्दा खुला आकाशमुनि बसेका बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगी बढी प्रभावित भएका छन्।

नगलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले अहिले चिसो बढ्दै जाँदै भूकम्प पीडितलाई धेरै समस्या भएको बताए। उनका अनुसार एउटा पाल र ब्ल्याङ्केटको भरमा उनीहरूलाई चिसो काट्न समस्या भएको छ। लामो समयसम्म खुल्ला वातावरणमा बस्नुपर्दा दीर्घरोगी र चिसोले वृद्धवृद्धाको स्वास्थ्यमा समस्या भएको उनले जानकारी दिए। 

‘चिसोका कारण दीर्घरोगीको स्वास्थ्यमा समस्या थपिएको छ’, उनले भने, ‘अब झन चिसो बढ्दै छ। उनीहरूमा थप स्वास्थ्य समस्या हुने देखिन्छ।’ भूकम्पपीडितको जीवनरक्षा गर्न नगरपालिकाले पहल गर्दै आएको उनको दाबी छ।

त्रिपाल र र ब्ल्यांकेट पनि नपाउँदा

चिसो बढिरहेको वेला लामो समयसम्म खुला ठाउँमा बस्नुपर्दा  धेरै भूकम्पप्रभावितलाई निमोनिया, भाइरल ज्वरो, कोल्ड डायरिया, रुघाखोकी लगायतका समस्या देखिएको छ। यिनै समस्याले मृत्यु हुनेको संख्या पनि बढेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए। 

उनका अनुसार हाल चिसोको कारण बिरामी परेका अधिकांश भूकम्पप्रभावितले  त्रिपाल र ब्ल्याङ्केट समेत पाएका छैनन्। ‘दिनदिनै चिसो बढेको छ। यस्तो बेलामा खुला आकाशमुनि बस्दा अधिकांश बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरुमा निमोनियाका साथै भाइरल ज्वरो, कोल्ड डायरियाजस्ता समस्या देखिएको छ’, उनले भने, ‘वेलैमा उनीहरूलाई न्यानो लुगा दिन सकिएन भने समस्या विकराल हुने देखिन्छ।’

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित केही स्थानहरुमा अब चिसोको कारण हिउ पर्ने हुँदा समयमानै उनीहरुलाई न्यानो कपडामात्रै दिन नसके थप स्वास्थ्य जटिलता आउने समेत उनलेले बताए। ‘हामीले स्वास्थ्य सेवाको तर्फबाट हेर्ने हो तर त्रिपाल र अन्य न्यानो कपडा वितरण गर्ने जिम्मा स्थानीय तहको हो’, उनी भन्छन्, ‘तर उनीहरुले न्यूनतम त्रिपाल र ब्ल्याङ्केट मात्रै पनि वितरण नगर्दा जटिलता बढ्न थाल्यो यसले गर्दा  स्थानीयतह स्तरका स्वास्थ्य संस्थामा बिरामी बढ्न थाले।’

थप डाक्टरको माग

भूकम्पपीडित चिसोको कारण बिरामी हुन थालेपछि जाजरकोट र रुकुमपश्चिमका जिल्ला अस्पतालले एमडीजीपी चिकित्सक माग गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका उपेन्द्र ढंगानाका अनुसार जाजरकोट र रुकुम पश्चिमका  भूकम्प प्रभावित क्षेत्रमामा चिसोका कारण बिरामी बढ्न थालेको रिपोर्टिङ भएको र जिल्ला अस्पतालमा पनि एमडीजीपी चिकित्सकको माग भएपछि पठाउने तयारी गरेको बताए। 

हाल त्यस क्षेत्रमा कोल्ड डायरिया देखिएपछि डेंगु, इन्फ्लुयन्जा तथा करेला परिक्षण किट पठाइएको समेत ढुंगानाले बताए। ‘हामीलाई पनि चिसोको कारण निमोनिया सहित भाइरल संक्रमण फैलिन थालेको रिपोर्टिङ भएको छ। त्यसैले यहाँबाट डेंगु, इन्फ्लुयन्जा तथा करेला परीक्षण किट पठाइएको छ’, उनले भने, ‘अबसंक्रमण बढ्दै गए इन्फ्लुयन्जा निमोनिया लगायतको खोप लगाउन थाल्ने कि भन्ने विषयमा छलफल भइरहेको छ। स्वास्थ्य निर्देशनालयसँग समन्वय भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.