|

जनकपुरधाम : सूर्यको आराधना, उपासना र पूजा गरी आज छठ पर्व मनाइँदै छ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य  दिई छठ पर्व मनाइन्छ। आजको छठ पर्वका लागि जनकपुरमा  तयारी पूरा भएको छ।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायत जलाशय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका छन्। पूजा सामग्रीले पोखरी किनार भरिएका छन्। विशेषरूपले छठ घाट सजाइएको छ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यदेवलाई चढाउँछन्।

भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ। व्रतालुहरू छठको पूजा गर्दा मनोकांक्षा पूरा हुने बताउँछन्। नरिवल, केरा, ठेकुवा लगायतका फलफूल र मिष्ठान्नद्वारा सूर्यदेवको पूजा गरिने बताए। मनोकांक्षा पूरा गर्न र परिवारको कल्याण, रोगको निवारणका लागि सूर्यदेवको पूजा गर्ने गरेको उनीहरूको भनाइ छ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ। परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.