तोडे एक महिना कैद सजाय हुने

|

काठमाडौँ : दैनिकजसो नाराबाजी हुने माइतीघर मण्डला यतिखेर सुनसान छ। प्रदर्शनकारीहरू यसअघि पाल नै टाँगेर आन्दोलन गर्थे।

जसकारण उक्त क्षेत्र कुरूप देखिएको थियो तर अहिले माइतीघर मण्डलामा बीच सडकमा ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर र जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेको आदेशपत्र झुण्ड्याइएको छ। यहाँ अहिले कोही आन्दोलनकारी छैनन्, छन् त प्रहरी मात्र।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे समूहले मंसिर ७ गते (भाेलि बिहीवार) एकै दिन माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने घोषणा गरेपछि उपत्यकाका दुई जिल्ला प्रशासन कार्यालयले ठाउँ तोकेर निषेधाज्ञा जारी गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ४ गतेदेखि ३० दिनसम्म पद्‍माेदय मोडदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गर्न र जुलुस निकाल्न रोक लगाएको छ। यस्तै, शीतल निवास (राष्ट्रपतिको कार्यालय) क्षेत्रको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नालासम्म, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म निषेधाज्ञा जारी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म ३० दिन दिनसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला/जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय ललितपुरले भने युएन हाउस क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ। ललितपुर महानगरपालिका वडा-३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवास पुल्चोकको पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउससम्म निषेधाज्ञा जारी गरिएकाे छ।

यस्तै दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला/जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

प्रशासनले उनीहरूलाई माइतीघर मण्डलामा नभइ तीनकुने, माछापोखरी, नारायण चौर, कलंकी, बसपार्कलगायतका क्षेत्रमध्ये एउटा रोज्नु भनेकोमा युवा संघले कार्यक्रमका लागि तीनकुने रोजेको छ भने दुर्गा प्रसाईं नेतृत्वको समूहले बल्खु रोजेको छ। 

दुई पक्षलाई जुध्न नदिन सुरक्षाको व्यवस्था गरेका छौँ : सिडि‌ओ

प्रसाईंको ‘गणतन्त्र फालेर राजतन्त्र ल्याउने’ घोषणा छ। उनको राजतन्त्र ब्यूँताउने एजेण्डा छ। प्रसाईंले ७५३ वटै स्थानीय तहबाट मानिसहरू ल्याउने भनेका छन्। त्यसो त उनको पक्षमा हजारौँ मानिसहरू आन्दोलनमा आउने देखिन्छ।

भाेलिकाे कार्यक्रमलाई युवा संघले भने सरकार र अराजकतावादीविरूद्ध युवा–विद्यार्थीको शक्ति प्रदर्शन’ भनेकाे छ। युवा संघको आन्दोलनमा एमालेका नेता महेश बस्नेतले नेतृत्व गरेका छन्।

महेश र प्रसाईंबीच आपसी आक्रोश पनि छ। बस्नेतले प्रसाईंलाई ‘युवा संघको तागत ननाप्न’ भन्दै चेतावनीसमेत दिएका छन्। युवा संघका कार्यकर्ताले गत असोजमा प्रसाईंलाई कालोमोसो पनि दलेका थिए।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले आन्दोलनरत दुई पक्षलाई जुध्न नदिने बताए। ‘हामीले उहाँहरूलाई एक ठाउँमा प्रदर्शन गर्न दिएका छैनौँ, त्यसैले भोलि दुई पक्षलाई जुध्न दिँदैनौँ, घुसपैठ पनि गर्न दिँदैनौँ, यसका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गर्छौं,’ उनले भने। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले भोलि हुने प्रदर्शन कार्यक्रमलाई मध्यनजर गरि सुरक्षा व्यवस्था कडा​ पारिएकाे बताए।

उनले भने, ‘उहाँहरूले शान्तिपूर्ण आन्दोलन गर्छौं भन्नुभएको छन्, त्यसैले निषेधाज्ञा तोड्दैनन् भन्ने हामीलाई आशा छ।’ उनले आवश्यक सुरक्षा व्यवस्था गरिने पनि बताए।

‘शान्तिपूर्ण आन्दोलन होस् भनी हामीले प्रहरी परिचालन गरी सुरक्षा दिन्छौँ, कति परिचालन हुन्छ भन्ने अहिले भन्न मिल्दैन, भोलिको अवस्था हेरेर पनि हामी सुरक्षाकर्मी थप्छौँ,’ उनले भने।

निषेधाज्ञा तोडे ५ सय जरिवाना र एक महिना कैद सजाय हुने

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी पण्डितले निषेधाज्ञा क्षेत्र तोड्न नदिने र त्यहीअनुसार आवश्यक सुरक्षा व्यवस्था गरेको बताए।

‘अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्रमा विरोध प्रदर्शन गर्दा विभिन्न समूहबीच आपसी विवाद, झै-झगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने तथा हुलदंगा हुनसक्ने हुँदा निषेधाज्ञा जारी गरिएको हो,’ उनले भने।

उनले निषेधाज्ञा तोडेमा कानुनअनुसार ५ सय जरिवाना वा एक महिना कैद वा दुवै सजाय हुने बताए। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले पनि निषेधित क्षेत्रहरूमा आन्दोलन गर्न नपाइने र जबरजस्ती निषेधाज्ञा तोडे कानुनी कारबाही गरिने बताए।

उनले सर्वसाधारणहरूलाई यो प्रदर्शन कार्यक्रमबाट नडराउन पनि आग्रह गरे। ‘भोलि के-के न होला भन्दै सर्वसाधारणहरू डराउनु भएको छ, केही हुँदैन, ढुक्क हुनुस्, शान्ति सुरक्षाको व्यवस्था हामी दिन्छौँ,’ उनले भने। 

यता ट्राफिक प्रहरीले भने अत्यावश्यक नपरी सवारीसाधन लिएर बाहिर ननिस्किन अनुरोध गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.