|

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूह र एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आजदेखि काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। दुर्गा प्रसाईं पक्षले बल्खुमा र एमालेका नेता महेश बस्नेत नेतृत्वको पक्षहरूले तीनकुनेमा विरोध प्रदर्शन गरेका छन्। 

राजतन्त्र ब्युँताउने प्रसाईंको एजेण्डा छ। प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी गराउन उपत्यका बाहिरबाट हजारौँ मान्छे ओसारेका छन्। अहिलेसम्म आन्दोलनको विस्तृत कार्यक्रम घोषणा नगरिए पनि आजदेखि दैनिक राजधानीमा यस्तैगरी विरोध प्रदर्शन गर्ने उनको योजना छ।

प्रसाईंका दाजु राकेश प्रसाईले व्यवस्था परिवर्तन नहुँदासम्म आन्दोलन नरोकिने बताइसकेका छन्। यो अभियानमा उनी सक्रिय रूपमा लागिपरेका देखिन्छन्। उनले भनेका छन्,‘आज सुरुवात हुने हो, यो निरन्तर चल्छ, जबसम्म शासन व्यवस्था परिवर्तन हुँदैन, तबसम्म आन्दोलन रोकिँदैन।’

उनका भनाइमा भोलि पनि विरोध प्रदर्शन हुने देखिन्छ। विरोध प्रदर्शन नरोकिएमा भोलि पनि उपत्यकाको पठनपाठनमा प्रभाव पर्नेछ। रिङरोड एरियाका निजी विद्यालयहरू पुन: बन्द हुने अवस्थामै देखिन्छ।

आज पनि काठमाडौंमा प्रदर्शनको असर : सूचना पठाएर विद्यालय बन्द, खुलेकोमा पनि पढाइ भएन। आन्दोलनकै कारण उपत्यकाका अधिकांश निजी र सामुदायिक विद्यालय सूचना पठाएर बन्द भए।

खुलेका विद्यालय र क्याम्पसहरूमा पनि पढाइ भएन। कलेज गएका विद्यार्थीहरू हाजिर मात्र गरेर घर फर्किएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले आन्दोलन कार्यक्रमका कारण रिङरोड एरियाका निजी विद्यालयहरू बन्द गरिएको बताए।

उनले भने,‘विरोध कार्यक्रमले गर्दा बालबालिकाहरूलाई असुरक्षित हुने देखिएपछि हामीले रिङरोड एरियाका विद्यालय बन्द गरेका हो,रिङरोड क्षेत्र बाहेकका विद्यालयहरूमा भने पठनपाठन सञ्चालन भइरहेको छ।’

नियमित पढाइ हुने रणनीति बनाउँछौँ : ढुंगाना

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष  ढुंगानाले काठमाडौंमा भएको आन्दोलन नरोकिए योजना बनाएर भए पनि नियमित पठनपाठन सञ्चालन गर्ने बताए।

‘मिडियामा आएका समाचारअनुसार पनि दुई पक्षले जुड्ने गरी नै विरोध प्रदर्शन गर्ने देखियो,त्यसैले बालबालिकाहरूको सुरक्षामा चुनौती देखिएकाले आजलाई बन्द गरेका हौँ,अब भोलिदेखि पनि आन्दोलन भइरह्यो भने हामी छुट्टै रणनीतिक योजना बनाउँछौँ,’उनले भने। उनका अनुसार आज बेलुकासम्मको दुवै आन्दोलन अवस्था हेरिनेछ। त्यहीअनुसार थप योजना बनाइने उनको भनाइ छ।

सामुदायिक विद्यालय सञ्चालन हुन्छ : काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी इन्द्रप्रसाद दाहालले भने भोलि पनि सामुदायिक विद्यालयमा नियमित पढाइ सञ्चालन हुने जानकारी दिएका छन्। आज पनि पठनपाठन नरोकिएको उनको भनाइ छ।

‘बल्खु र शान्तिनगर आसपासका निजी विद्यालय चाहिँ बन्द भए, सामुदायिक विद्यालय भने बन्द भएनन्‚ पढाइ नियमित भयो, भोलि पनि पढाइ हुन्छ,’ उनले भने।

सवारीसाधन तोडफोडले जोखिम

प्रसाईं समूह र एमालेका नेता महेश बस्नेतले नेतृत्व गरिरहेको राष्ट्रिय युवा संघ नेपालले एकैदिन माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्‍याे। त्यसपछि प्रसाइलाई बल्खु र युवा संघलाई तीनकुने तोकियो।

तर,पनि प्रसाईं समूहले उक्त ठाउँमा निषेधाज्ञा तोड्न खोजेपछि बल्खुमा प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहराले हानेकाे छ। यसअघि उनीहरूले सडकमा राखिएका सवारीसाधनमा तोडफोड समेत गरे।

यसरी प्रदर्शनकारीहरू उग्र रूप बनेमा विद्यालयको बसलगायत अझै अन्य सवारीसाधनहरू जोखिममा हुने देखिन्छ। त्यसकारण पनि विद्यालय खोल्नुभन्दा पनि पहिला विद्यार्थीहरूको सुरक्षातर्फ ध्यान दिएको प्याब्सनका अध्यक्ष ढुंगानाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.