|

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न प्रदर्शनकारीसँग र प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न सरकारसँग अनुरोध गरेको छ। 

आयोगले सामाजिक सञ्जालमा आइरहेका अभिव्यक्तिहरूमा समेत निगरानी राखिरहेको जनाउँदै एकअर्का विरुद्ध घृणायुक्त अभिव्यक्ति दिनु संवैधानिक र कानूनी अधिकारका मूल्यमान्यता विपरीत रहेको स्मरण गराएको छ। 

थाहा खबरसँग कुरा गर्दै आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले गाली गलोजको भाषा प्रयोग हुनु चिन्ताको विषय रहेको बताए। 

“खासगरी हिजोको प्रदर्शनमा सम्बोधन गर्ने क्रममा, त्यसपछि नारा जुलुस गर्ने क्रममा घृणायुक्त अभिव्यक्तिहरू धेरै आएको, एक अर्काको मर्यादामा आँच आउने, चोट पुग्ने गाली गलाैज गरिएको पाइएको छ ,” उनले थपे, “घृणायुक्त अभिव्यक्ति चाहिँ बन्द गरिनुपर्छ। यो  देशको संविधान, कानुन, अन्तरराष्ट्रिय कानुन, मानवअधिकारका मूल्य मान्यता विपरित हो। ”

प्रदर्शनकारीहरूले एकअर्का लक्षित दिएको गाली गलौजको भाषाहरू सामाजिक सञ्जाल तथा युट्युबमा आइरहेका भन्दै सहसचिव पोखरेलले यो कुरा चिन्ताको विषय रहेको बताएका छन्। उनले यस्तो हुन नहुने जिकिर गरे।

घृणायुक्त अभिव्यक्तिले प्रदर्शनकारीहरू स्वयम्लाई समेत असर पर्ने भन्दै पोखरेलले उनीहरूप्रति हेर्ने दृष्टिकोण नै फरक हुने भएकाले कानूनको दायरा भित्र बसेर तथा मानवअधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रदर्शन गर्न सुझाव दिए।

विरोधका कार्यक्रम गर्दा कसैप्रति लक्षित घृणायुक्त अभिव्यक्ति नदिन तथा त्यस किसिमका पोष्टर, अडियो, भिडियो सामाजिक सञ्जालमा नराख्नसमेत आयोगले भनेको छ। आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न सरकारलाई सचेत गराएको छ। 
आयोगका सहसचिव डाक्टर पोखरेलले जो सुकैले पनि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न र विचार राख्न पाउने भएकाले धरपकड गर्न नहुने मान्यता आयोगको रहेको स्पष्ट पारे। 

आयोगको टोलीले शुक्रबार गरेको अनुगनका क्रममा दुर्गा प्रसाईले प्रदर्शन गर्ने भनिएको तीनकुने क्षेत्रमा प्रदर्शनका लागि भेला भएकालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइ रोक लगाएको अुनगमनको क्रममा पाइएको बताएको छ।

बिहीबार प्रदर्शन स्थल तीनकुने र बल्खु क्षेत्रको स्थलगत अनुगमन गरकेो आयोगले आजपनि तीनकुने र प्रसाईको भक्तपुरस्थित निवास क्षेत्रको अनुगमन गरेको थियो।

आफ्ना विमति र विरोधका कार्यक्रम गर्दा संविधान, मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहन तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने कुनै पनि गतिविधि नगर्न आयोगले प्रदर्शकारीसमक्ष अनुरोध गरेको छ।

साथै आयोगले सरकारलाई नागकरकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दे प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न भनेको छ।

“सर्वसाधारण हुन् वा प्रदर्शनकारी जाे सुकैलाई पनि शान्तिपूर्णरुपमा कसैले प्रदर्शन गर्छ र आफ्नो विचार राख्छ भने त्यसलाई धरपकड गर्नुहुँदैन भन्ने आयोगको मान्यता हो”, सहसचिव डा. पोखरेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.