देशभर मुटुका भन्दा मधुमेहका बिरामी धेरै

|

काठमाडौं : बदलिँदो जीवनशैली र अन्य कारणले गर्दा नेपालमा मधुमेह, कार्डियो भास्कुलर र क्यान्सर जस्ता नसर्ने रोगहरू बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ। पहिलोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर मधुमेह‚ क्यान्सर र कार्डियो भास्कुलरका बिरामी कति छन् भनेर तथ्यांक संकलन गरेर सार्वजनिक गरेको हो।

स्वास्थ्य मन्त्रालयले हालै राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा सार्वजनिक गरेको उक्त विवरणमा नेपालमा मधुमेहका बिरामी सबैभन्दा धेरै रहेको देखिएको छ।

देशभरिबाट स्वास्थ्यसम्बन्धी तथ्यांक संकलन गर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस)ले देशभरका अस्पताल तथा अन्य स्वास्थ्य संस्थाबाट संकलन गरेको विवरणमा मधुमेहका बिरामी बढ्दै गएको देखिएको हो।

बैठकमा प्रस्तुत गरिएको उक्त नसर्ने रोगसम्बन्धी विवरणमा हाल देशभर ३ लाख १२ हजार ३४२ जना मधुमेहका बिरामी रहेको देखिएको छ। कार्डियो भास्कुलर रोगका बिरामीको संख्या नेपालमा १९ हजार २६२ जना र क्यान्सर रोगका बिरामीको संख्या ६७ हजार ३८२ जना रहेको उल्लेख छ।

मधुमेहका सबैभन्दा बढी बिरामी कोशीमा

मन्त्रालयको विवरणमा हेर्ने हो भने हाल कोशी प्रदेशमा सबैभन्दा धेरै ८४ हजार ७८८ जना मधुमेहका बिरामी रहेका छन्। कोशीमा कार्डियो भास्कुलरका ३ हजार ५४१ र क्यान्सरका ३ हजार ९०५ जना बिरामी रहेका छन्। कोशीपछि बागमती प्रदेशमा मधुमेहका बिरामी धेरै छन्। बागमतीमा मधुमेहका बिरामी ८३ हजार ३४४ जना रहेका छन् भने यो प्रदेशमा कार्डियो भास्कुलरका बिरामी ७ हजार २१० र क्यान्सरका बिरामी ६२ हजार ६०२ जना रहेका रहेका छन्।

यस्तै,  गण्डकी प्रदेशमा मधुमेहका बिरामी ३५ हजार ४२२ जना, कार्डियो भास्कुलरका १ हजार ६९० जना र क्यान्सरका १४७ जना बिरामी रहेका छन्। यसैगरी, कर्णाली प्रदेशमा ६ हजार ८९ जना मधुमेहका, ४ सय ६४ जना कार्डियो भास्कुलरका र ४९ जना क्यान्सरका बिरामी छन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा १९ हजार ५० जना मधुमेहका, कार्डियो भास्कुलरका ७१० र क्यान्सरका १९५ जना बिरामी रहेका छन्। भने मधेश प्रदेशमा  ३१ हजार ९३२ जना मधुमेहका, ४ हजार ३४७ जना कार्डियो भास्कुलर र ९२ जना क्यान्सरकार बिरामी रहेको रहेको मन्त्रालयको विवरणले जनाएको छ।

मधुमेह जस्तै नेपालमा कार्डियो भास्कुलरका बिरामीको संख्या पनि बढ्दै गएको भनेर विभिन्न तथ्याङ्कहरूले देखाउँदै आए पनि हाल सरकारी तथ्याङ्कमा भने कार्डियो भास्कुलरका बिरामी कम रहेको देखिएको छ।

किन कार्डियो भास्कुलरका बिरामी  मन्त्रालयको विवरणमा कम देखिएको छ भन्ने प्रश्नमा एचएमआइएसका प्रमुख उपसचिव कपिल तिमल्सिनाले कार्डियो भास्कुलरको विवरण पूर्ण नभएको बताउँछन्।

कार्डियो भास्कुलरका बिरामीहरूको उपचार गर्ने विशिष्टीकृत अस्पताल तथा यसको उपचार गर्दै आएका अन्य अस्पतालहरूले आफ्नो अस्पतालमा आएका बिरामीको विवरणहरू पूर्णरूपमा नदिँदा यस्तो हुन पुगेको उनको भनाइ छ। तर, विशिष्टीकृत र सबै अस्पतालहरूले कार्डियो भास्कुलरको बिरामीको संख्या पनि झन्डे मधुमेहको बिरामी बराबरी संख्या हुने मन्त्रालयले आँकलन गरेको छ।

नेपालमै गरिएको विभिन्न अध्यनले बर्सेनि नेपालमा जन्मेका १ प्रतिशत बालबालिकाहरूमा मुटुको कुनै न कुनै जन्मजात रोग हुने देखाएको थियो अर्को स्कुले उमेरका बालबालिका अर्थात् ५ देखि १८ वर्ष उमेर समूहका बालबालिकामा प्रतिएक हजारमा एकजनामा बाथ मुटुरोगको समस्या भएको नेपालमै गरिएको अनुसन्धानले देखाएको थियो।

अर्कोतर्फ कार्डियो भास्कुलरको समस्या निम्ताउने उच्च रक्तचापको समस्या पनि नेपालमा बढ्दो क्रममा रहेको छ यस्तो अवस्थामा कार्डियो भास्कुलरका बिरामीको विवरण पूरै नआउँदा कार्डियो भास्कुलरसम्बन्धी बिरामीको संख्या कम देखिन पुगेको मन्त्रालयले जनाएको छ।

यसअघि बदलिँदो जीवनशैली तथा खानपानले नेपालमा मधुमेह तथा कार्डियो भास्कुलर क्यान्सर जस्ता नसर्ने जोखिम बढाउने सक्ने मोटोपनाको समस्या पनि नेपालमा बढ्दै गएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ समेत देखाएको थियो।

जनसांख्यिक सर्वेक्षण सन् २०२२ का अनुसार २० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमा अधिक तौल वा मोटोपन अत्यधिक देखिएको थियो। ग्रामीण क्षेत्रका महिलामा पनि २६ शहरी क्षेत्रका ३८ प्रतिशत महिलामा मोटोपनको समस्या रहेको पाइएको थियो। जसको मुख्य कारणमा गुलियो पेय पदार्थ सेवन, बोसोयुक्त खानेकुरा जस्तैः केक, बिस्कुट, कुकीज, जेरी / जुलेबी, मिठाई, टफी, आइसक्रिमलगायत तारेको र नुनिलो खानेकुराहरूमा जस्तैः चिप्स, कुरकुरे, चीजबल, तयारी चाउचाउ, समोसा, पकौडा, पुरी र तारेको खानेकुरा धेरै खाने गर्दा मोटोपनाको समस्या रहेको यो रिपोर्टले देखाएको थियो।

सर्वेक्षणले मोटोपना घरेलु सम्पन्नताको वृद्धिसँगै बढ्दै गएको छ, गरिब घरपरिवारका २० प्रतिशत महिलाहरूमा र धनी घरपरिवारका ५३ प्रतिशत महिलाहरूमा मोटोपन देखिएको थियो भने यही रिपोर्टले २० देखि ४९ उमेर समूहका नेपाली पुरुषहरूमा ३२ प्रतिशतमा मोटोपनाको समस्या भएको समेत उल्लेख गरेको थियो।

बदलिँदो जीवनशैलीपछि नेपालमा नसर्ने रोगहरू बढ्दै जानुमा जलवायु परिवर्तन पनि रहेको हुँदा अब यसको लागि सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले भने, ‘विस्तारै नसर्ने रोगहरूको भार हामीलाई बढ्दै गएको छ जसले गर्दा रोकथाम र उपचारको सेवाको सर्वसुलभ पहुँचको लागि सबै सरोकारवला लाग्नु पर्ने अवस्था आएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.