|

कपिलवस्तु :  जिल्लाको वाणगङ्गा नगरपालिका ११ को वडा अध्यक्षमा माओवादी केन्द्रका सोमनाथ अर्याल एक हजार ६ सय ५७ मत प्राप्त गरी विजयी भए। कांग्रेस उम्मेदवारलाई ५ सय मतान्तरले पराजित गरे पनि उनले जितको खुशी मनाउन सकेनन्। किनकी उनको घरमा शोक पर्‍यो।

जिल्लाको ओदारी घर भएका अर्याल वडाध्यक्षमा विजय भएको घोषणा गरिरहँदा उनका आँखामा आँसु रसाइरहेका थिए। उनको तीन महिनाका नाबालक छोराको एक दिनअघि शनिबार मृत्यु भएको थियो।

चुनाव प्रचार र मतगणनाको चटारोमा छँदा सुत्केरी पत्नी आफ्नो माइती गुल्मीको सिमलटारी गएकी थिइन्। सोमनाथ भने यता चुनाव प्रचार प्रसारमा व्यस्त थिए। घरदैलो, आमसभा, कोणसभा, भेटघाटमा बढी व्यस्त हुने भएकाले सुत्केरी पत्नीलाई घरमा भन्दा माइतीमै स्याहार हुने भएकाले गुल्मी पठाएका थिए।  तर यही बीचमा सोमनाथले आत्तिने गरी समाचार सुने उनले, “छोरा सिकिस्त छ रे, पाल्पा या बुटवल लैजानुपर्‍यो।'

गुल्मीमै छँदा बच्चालाई खोप लगाएपछि ज्वरो सुरु भयो। दुई तीन दिनसम्म घरमा निको नभएपछि मावलीकाले पाल्पा पुर्‍याए। “तर बचाउन सकिएन, आइसियुमा राखेको ५ मिनेटमैं छोराले यो संसार छोडेर गयो” सोमनाथले भने “२० वर्षपछि छोरा पाएको, त्यो पनि छोडेर गयो। यता जनताले जिताएका छन्। म स्तब्ध अवस्थामा छु।”

उता ५ दिनपछि भने अर्यालले विजयोत्सव मनाउने स्थानीय पार्टीले तयारी गरेको छ। अहिले उनको दुखमा स्थानीय पार्टीले पनि साथ दिएको छ। दुखी भएपनि जनतासँग गरेका वाचा र प्रतिबद्धता पुरा गर्न भने यो दुखले झनै आँट दिएको सोमनाथ बताउँछन्। “मेरो व्यक्तिगत क्षति भएपनि जनताले भरोसा गरेर जिताएका छन्। वडा नं. ११ र सिंगो नगरपालिकाका लागि मेरो भूमिका झनै सशक्त बनाउने अठोट लिएको छु” उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.