सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-६, मैदेलमा पाँच कन्या कालिका देवीको मन्दिर शिलान्यास र गुम्बाको उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष असिम राईले शनिबार एकै दिन करिब रु ७० लाखको लागतमा निर्माण हुने देवीथान मन्दिरको शिलान्यास र नवनिर्मित तमु उगेन छ्योलिङ गुम्बा भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।
गाउँपालिकाको २८ लाख बजेटमा गुम्बाको भवन निर्माण सम्पन्न भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नवनिर्मित भवनमा गुरुङ समुदायको जन्मदेखि मृत्यु सम्मका संस्कार संस्कृति अवलोकन गर्न मिल्ने गरी संग्रहालय थप गरिने बताए।
गाउँपालिकाको महत्त्वपूर्ण क्षेत्रको विकासमा गुरुङ समुदायको सहयोग अतुलनीय रहेको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाको प्रशासनीक भवन, प्रहरी चौकी भवन, खेलग्राम लगायतको संरचना निर्माणका लागि आवश्यक जग्गा निशुल्क उपलब्ध गराउनेदेखि दुधकोशी सामुदायिक अस्पताल निर्माणमा आर्थिक सहयोगमा समेत गुरुङ समुदायको उल्लेखनीय भुमिका गरेको भन्दै अध्यक्ष राईले प्रशंसा गरे।
गाउँको विकासको निम्ति मुक्लि मैदेलका नागरिक सचेत रहेको भन्दै अध्यक्ष राईले यस क्षेत्रका नागरिकबाट अन्य क्षेत्रकाले समेत सिक्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै पालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले सचेत नागरिक भएको क्षेत्रमा विकास र परिवर्तन पनि बढी हुने गरेको भन्दै नेतृत्वको कार्ययोजना र स्थानीय नागरिकको सहयोग तथा सहभागितामा मात्रै विकासमा गुणस्तरीयता हुने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।