निमाविको लाइसेन्स परीक्षामा ९१ प्रतिशत फेल

|

काठमाडौं : विद्यार्थीहरूलाई जीवनोपयोगी ज्ञान, योग्यता वा सद्गुण प्रदान गर्ने सम्मानित गुरू हुन् शिक्षक। विद्यार्थीहरूको भविष्य निर्माणमा उनीहरूले अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ। त्यसो त मानि नमानी,सकीनसकी अभिभावकहरू आफ्ना छोराछोरीहरू विद्यालयमा पठाउँछन्।

तर तिनै शिक्षकहरू पछिल्लो समय निकै कमजोर बन्दै गएको नतिजाले देखाउँदै आएको छ। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा मंगलबार साँझ प्रकाशित गर्‍याे। आयोगले गत कात्तिक १८ गते परीक्षा लिएको थियो तर शिक्षक बन्न चाहनेको नतिजा भने लाजमर्दो देखिएको छ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार सार्वजनिक गरिएको नतिजाअनुसार ९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। शिक्षक बन्न चाहनेहरूमध्ये ९१ प्रतिशत फेल भएका छन्। निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ जना परीक्षार्थीले परीक्षा दिएका थिए। जसमा जम्मा १३ हजार ७ जना पास भएको अध्यक्ष रेग्मीले जानकारी दिए।

यो त एक उदाहरणमात्र हो। यसअघि सञ्चालन भएका परीक्षाहरूमा पनि शिक्षक बन्न चाहनेहरूले अपेक्षित नतिजा ल्याउन सकेका थिएनन्। जसकारण शिक्षक बन्ने र अरूलाई पढाउने उनीहरूको सपना तुहिरहेको छ।

विसं २०७९ साउन १८ गते आयोगले लिएको निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र परीक्षा पनि १८.२६ प्रतिशतले मात्रै उत्तीर्ण गरेका थिए। परीक्षामा जम्मा १ लाख ८१ हजार ५६९ जना सहभागी भएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका थिए। यस्तै,कमजोर नतिजाले नेपालको शिक्षा कहाँ र कस्तो अवस्थामा पुगेको छ भन्ने प्रश्नसमेत खडा भएको छ।

कोरिया भाषा परीक्षामा भने पास

निमावि अध्यापन अनुमति पत्र परीक्षा नतिजाको तुलनामा कोरिया जान इच्छुक धेरै श्रमिकहरूले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका छन्। ईपीएस कोरिया शाखाका अनुसार गत सोमबार मात्रै सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रतर्फको परीक्षामा ४ हजार ९८ परीक्षार्थी अर्थात् २२.१ प्रतिशत उत्तीर्ण भएका छन्।

३५ हजार ४७८ जनामध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी थिए। पास भएका ४ हजार ९८ जनामध्ये ३ हजार ९०१ जना पुरूष र १९७ जना महिला छन्। पछिल्लो समय यसअघि शिक्षक लाइसेन्स निकाल्न सफल भएकाहरू पनि कोरियाली भाषा पढिरहेको पाइन्छ। 

किन हुन्छन् परीक्षामा फेल?

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर शिक्षक बन्न चाहने तर पर्याप्त तयारी भने नगर्ने गरेकाले शिक्षक अध्ययन अनुमति पत्र परीक्षा पास गर्न नसकेको बताउँछिन्।

उनी भन्छिन्, ‘पाठ्यक्रम त्यही हो, प्रश्नहरू पनि पाठ्यक्रम भित्रकै सोधिएको हुन्छ तर पनि पास गर्न सकेनन्। उहाँहरूको पढ्ने बानी छैन, तयारी नै गरेक हुँदैनन् अनि कसरी पास गर्छन्?’

उनका अनुसार पहिला लिइएको शिक्षक परीक्षाहरूमा अपेक्षित संख्यामा नै पास हुने गरेका थिए। तर अहिले त्यस्तो अवस्था नतिजाले देखाएन। उनले शिक्षक बन्ने चाहना नै भए यसका लागि धेरै मिहिनेत गर्न आवश्यक रहेको बताइन्।

शिक्षक सेवा आयोगका उपसचिव एवं सूचना अधिकारी सुदर्शन मरहट्ठाले पनि प्रश्नपत्र निर्माण, यहाँकै पाठ्यक्रम र विश्वविद्यालयको कोर्सभित्रै रहेर निर्माण गरिएको बताए। तर  पनि पर्याप्त तयारी नै नगरेकाले फेल भएको हुनसक्ने उनले बताए।

‘शिक्षक भनेको हिजो फटाफट भइन्थ्यो,’ उनले भने, ‘प्रतिस्पर्धा हुँदैनथ्यो, फ्याट्ट नाम निस्कन्थ्यो भनेर कम तयारी गरेर फेल भएका हुन पनि सक्छन्।’​ उनका अनुसार प्रश्नहरू पनि अप्ठ्यारो सोधिएको थिएन। विषय विज्ञहरूले नै परीक्षार्थीको उत्तरपुस्तिका पनि जाँचेका छन्।

‘कुनै पनि गलत मनसाय लिएर अंक नदिइएको पनि छैन,’ उनले भने, ‘तर यो नतिजाले कस्तो शिक्षा दिइयो र लियौँ भन्ने सोच्नुपर्ने वेला निम्त्याएको छ।’ पछिल्लो समय किन शिक्षकका परीक्षार्थीहरू बढी फेल हुँदै गए भन्नेमा अन्य कोणबाट पनि उनी हेर्छन्।

उनी भन्छन्, ‘हाम्रा विश्वविद्यालयहरूले कस्तो दक्ष जनशक्ति उत्पादन गरे? यहाँको पढाइको स्तर कस्तो छ? पठनपाठन क्रियाकलाप नै कमजोर छ कि वा विद्यार्थीहरूले बुझ्न नसकेको हो? त्यो पनि सोचेर सरकारले समीक्षा गर्नुपर्छ।’ 

शिक्षक बन्छु भन्ने गुण र दक्षता नै पुगेन’ 

पछिल्लो समयको यो नतिजाले शिक्षकहरू समेत चिन्तित छन्। बालबालिकाहरूको भविष्य कोरिदिने बेला उनीहरूले आफ्नै भविष्य कोर्न नसक्नाले नेपालको शिक्षा परिपाटी खस्किँदै गएको उनीहरूको बुझाइ छ।

पहिलो त म शिक्षक बन्छु भन्ने उनीहरूमा गुण र दक्षता नै नभएका कारण अध्ययन अनुमति पत्रको परीक्षामै पास गर्न नसकेको शिक्षाविद् प्राडा विद्यानाथ कोइराला बताउँछन्। 

उनी भन्छन्, ‘म शिक्षक बन्छु भनेर मात्रै हुँदैन, शिक्षक बन्न रहर गरे पनि आवश्यक गुण र दक्षता नभएकै कारण शिक्षकहरू परीक्षामा फेल भइरहेका छन्, म शिक्षक बन्छु भन्ने तर तागत नपुर्‍याउने?’

उनका अनुसार शिक्षक बन्न न्यूनतम कुरा हुनैपर्छ। पछिल्लो समय ग्रेडिङ प्रणाली लागू गरियो। यो लागू भएपछि नजानेका वा योग्यता नपुगेकालाई माथिल्लो तहमा पठाइयो। ‘यहाँ नीतिगत कुराको पनि धेरै कमीकमजोरी छ,’ उनले भने, ‘यसलाई सरकारले बेलैमा सुधार गरेर लानु आवश्यक छ, नभए अब सधैँ यस्तै हो।’

उनले यहाँको पढाउने परिपाटी पनि सुधार्न आवश्यक रहेको बताए। उनले भने, ‘शिक्षकहरू आफैँ नै अहिले पनि पहिला जस्तो पढ्यौँ त्यस्तै गरी पढायौँ भनेर भन्छन्, नयाँ कुरा कसरी पढाउने भन्ने कसैले सिकाएनन् भन्छन्, यसरी पनि हुन्छ? अब यस्ता कुरामा केन्द्रित हुनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.