|

काठमाडौं : राज्यलाई जिम्मेवार बनाउनेले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार होइन सहज पहुँचको व्यवस्था गर्न सकेका छैनन्, त्यसको उदाहरण राजनीतिक दल नै हुन्।

आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, पुराना र नयाँ हुन् कि ठूला वा साना हुन्, देश हाँक्ने कुनै पनि राजनीतिक दलका कार्यालय अपाङ्गतामैत्री छैनन्। ती दलका वडा तहसम्म संरचना र कार्यालय भए पनि केन्द्रीय कार्यालयमा नै शारीरिक अपाङ्गता भएका व्यक्तिले सहज पहुँच पाउँदैनन् । यसो हुँदा दलीय प्रतिनिधित्वका आधारमा राज्यमा सहभागिता पाउन अपाङ्गता भएका व्यक्ति वञ्चित भएका छन्। 

नेपाली कांग्रेस, नेनेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका केन्द्रीय कार्यालयको अनुगमन गर्दा यीमध्ये कुनै दलका कार्यालय अपाङ्गतामैत्री पाइएनन्। कुनै दलका कार्यालयको भुइँतलामा र्‍याम्प अर्थात् भिरालो बनाइए पनि अपाङ्गता भएका व्यक्ति पहिलो तलामा चढ्दा घस्रिँदै जानु पर्छ। मुख्य संरचना मात्रै होइन, अपाङ्गता भएका व्यक्तिले त्यहाँ गएर शौचालय प्रयोग गर्न पनि समस्या छ। 

दुईतर्फ प्रवेशद्वार भएको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तलैपिच्छे शौचालय छन् तर एउटा मात्र अपाङ्गतामैत्री छ। यसका कारण आफूहरूलाई समस्या हुने कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले बताए।

‘सभापति, उपसभापति, महामन्त्रीसहित शीर्ष नेताको कार्यालय तीन तलामाथि छ, अपाङ्गता भएका व्यक्तिले भेट्न समस्या हुन्छ’, उनले भने, ‘र्याम्प पनि छैन, अप्ठ्यारो छ । लिफ्ट बनाउने छलफल चलिरहेको छ, चाँडै निर्माण होस्, हाम्रो माग यही हो ।’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि लिफ्ट बनाउने ठाउँ भए पनि निर्माणकै चरणमा रहेको र्‍याम्प नभएको स्वीकार गरे। 

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल र एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पनि आआफ्ना पार्टी कार्यालयको संरचना अपाङ्गतामैत्री नभएको स्वीकार गरिन्।  ‘भुइँतलासम्म प्रवेश गर्न मिल्छ । ह्विलचेयर आउन सक्छ, अपाङ्गता भएका व्यक्तिलाई त्यहीँ राखेर स्वागतकक्षबाटै सबै काम गरिदिने व्यवस्था मिलाएका छौँ ’, उनले भनिन्। भविष्यमा पार्टी कार्यालय निर्माण गर्दा आधुनिक, अपाङ्गता, बालबालिकामैत्री बनाउने उनले बताइन्।

च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा एमालेको कार्यालयको पनि उही ताल छ। सजावटमा धेरै खर्च भएको छ। तर अपांगता भएकाका लागि आवश्यक पर्ने संरचना छैन।  ‘यो हा,म्रो आफ्नै भवन होइन, अस्थायी रूपमा यहाँ बस्दै छौँ । आफ्नो भवन नभएकाले विस्तार निर्माण गर्न मिल्दैन। लिफ्टको व्यवस्था छैन।

भुइँतलाबाहेकमा र्‍याम्प पनि छैन’, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने । उनका अनुसार भुइँतलामा भिरालो (र‍्‍‍याम्प) छ । उहाँले शौचालय पनि अपाङ्गता भएका व्यक्तिमैत्री नभएको बताए।

हालै मात्र भव्य घरमा पार्टी कार्यालय सारेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यालय पूर्ण अपाङ्गतामैत्री बनाउने प्रयास गरेन । पहिलो तलासम्म जाने र्‍याम्प चाहिँ छ। उक्त पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले पार्टी कार्यालय अपाङ्गतामैत्री भएको दाबी गरे पनि बहुतले भवनको संरचना अपाङ्गतामैत्री छैन । ‘भाडाकै घर हो । हामीले पहिलो तलासम्म जान सक्ने बनाएका छौँ, अपाङ्गता भएका व्यक्ति गुडाएरै एक तलामाथि जान सक्नुहुन्छ। पहिलो तलामै अपाङ्गतामैत्री शौचालय निर्माण गरेका छौँ ’, उनले भने।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अस्थायी रूपमा भाडाको घर लिएर पार्टी कार्यालय चलाउँदा अपाङ्गतामैत्री बनाउन नसकिएको स्वीकार गरे।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.