|

काठमाडौँ : महिला स्वयंसेविकाहरूले सेवा निवृत्त हुँदा पाउने सुविधामा सरकारले शोषण गरेको आरोप लगाएका छन्।

बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन्।

कार्यक्रममा बोल्दै स्वयंसेविका संघकी अध्यक्ष गीता थिङले २० वर्षअघि दिएको सेवा निवृत्त सुविधा बढाउनुपर्ने माग गरिन्। उनले सरकारले महिला स्वयंसेविकालाई सेवा निवृत्त सुविधाका रूपमा २० वर्षअघिकै २० हजार रुपैयाँ मात्रै दिनु शोषण भएको बताइन्। ६० वर्षको उमेरमा बिदा गर्नु भने ठिक रहेको उनको कथन छ।

थिङले भनिन्, ‘प्रमाणपत्र दिने र मनाउने मात्रै ठूलो कुरा होइन। जो स्वयंसेविका काममा लाग्नुभएको छ, उहाँहरू दूरदराजमान पनि धेरै हुनुहुन्छ। उहाँहरूलाई केही न केही सेवा सुविधा दिनुपर्छ। बिदाइमा २० वर्षअघि दिएको त्यही २० हजार दिने कुरा मान्य हुँदैन। यस्तोमा स्वयंसेविकाको मनोबल घट्छ। यो अति शोषण हो।’

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले महिला स्वयंसेविकाको कामले सरकारलाई थप शक्ति मिल्ने गरेको बताए। उनले महिला स्वयंसेविकाका लागि आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताए।

उनले भने, ‘हामीलाई थप ऊर्जा र शक्ति दिनेछ। स्वयंसेविकाहरूले बिनास्वार्थ गरेको सहयोग धेरै महत्त्वपूर्ण छ। उहाँहरू दियो मात्रै होइन सिंगै उज्यालो हो। मन्त्रालयका तर्फबाट गर्ने सहयोग गर्नेछु।’

कार्यक्रममा बोल्दै सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाले उठाएको माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए। उनले महिला स्वयंसेविकालाई विभिन्न तालिम दिई प्रभावकारी बनाएर थप सशक्त बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘उहाँहरूको आवाज बिल्कुलै सही छ। राज्यले यसलाई व्यवस्थित गर्नुपर्छ। दूरदराजमा महिला स्वयंसेविकाले गर्नुभएको योगदान अतुलनीय छ।’

डा. बास्तोलाले दूरदराजमा महिला स्वयंसेविकाहरूले गरेको योगदान अतुलनीय रहेको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.