|

काठमाडौँ : वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप-२८ सम्मेलनमा नेपालले उठाएका एजेण्डाले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा नेपालका तर्फबाट गरेको सम्बोधन र नेपालले उठाएका एजेण्डाले विश्वको ध्यान खिचेको उनले बताए। ​

मंगलवार दुबईमा भएको कुराकानीमा उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र त्यसले पारेको सकारात्मक प्रभावका कारण पनि कोप-२८  मा नेपालको उपस्थिति र प्रस्तुति सशक्त बन्न गएको बताए। 

उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोरिरहेको हानी नोक्सानीबापत न्यायमा आधारित भएर आर्थिक सहायता उपलब्ध गराउने कुरामा पनि आफूहरुले सम्मेलनमा सचेत भएर सशक्त ढंगले प्रस्तुति दिएको बताए। 

सचिव खरालले जलवायु परिवर्तनका कारण हिमाली मुलुकले बेहोरेको हानी नोक्सानीबारे विश्वमै उजागर गर्नका लागि हिमाली मुलुकहरुको सम्मेलन नेपालले आयोजना गर्न लागेको पनि बताए। 

सम्मेलनकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुलाई सो निर्देशन दिएको र काठमाडौँ फर्कने वित्तिकै तयारीलाई तीव्रता दिने उनले बताए। 

समान परिवेश भएका देशहरुको समूह बनाएर आवाज नउठाएसम्म जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि नेपालले पाउनुपर्ने वित्तीय सहयोग पाउन कठिन रहेको उनले बताए।

उनले समान परिवेश भएका देशहरुको समूह बनाएर काम नगरेसम्म ग्लोबल स्केलमा उपलब्धि हासिल गर्न सजिलो नरहेको उल्लेख गरे।

धेरै प्रभावशाली देशहरुले एकल प्रयासबाट सहायता पाउन सफल भए पनि आर्थिक अवस्था कमजोर भएका देशहरुका लागि एकताबद्ध भइ आवाज उठाउनुपर्ने आवश्यकता रहेको उनले बताए। 

उनले समान अवस्था भएका देशहरुले एउटै गोलमेचमा बसेर र एउटै गठबन्धन बनाएर आवाज र उपस्थितिलाई बलियो बनाउने स्थिति नभएसम्म सहायता पाउने कुरा कठिन रहेको उल्लेख गरे। 

सचिव खरालले नेपालले आगामी दिनमा पनि जलवायु परिवर्तनले पारेको असर न्यूनिकरणका लागि विश्व समुदायबाट लिने आर्थिक सहायताका लागि चनाखो भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.