|

काठमाडौं : एक वर्षअघि नै निर्णय भएको महाधिवेशन गर्न तयारी नपुगेको भन्दै नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टीको महाधिवेशन ४ महिना पछि धकेलेका छन्। 

गत वर्ष माघमा सम्पन्न पाँचौँ केन्द्रीय कमिटी बैठकले यो वर्षको माघ १४ गतेदेखि १८ गतेसम्म पार्टी महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यही निर्णयमा टेकेर गत भदौमा बसेको बैठकले महाधिवेशनको मिति र स्थानबारे निर्णय गरेको थियो। 

उक्त निर्णयअनुसार महाधिवेशन गर्ने समय दुई महिनामात्र बाँकी थियो तर आवश्यक तयारी नभएको भन्दै नेताहरुले महाधिवेशनलाई ४ महिना पछि सारेका छन्।  

माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभाको निर्वाचन र जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउनुपर्ने जस्ता बहाना देखाउँदै समाजवादीले पार्टी महाधिवेशन आगामी जेठमा सारेको छ। 

मंगलवार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको महाधिवेशन २०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिए। महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको उनले बताए। 

उनका अनुसार माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ। राष्ट्रियसभाको निर्वाचन र जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउनुपर्ने कारणले महाधिवेशनको तयारी गर्न नभ्याइने तर राष्ट्रिय सम्मेलन सानो कार्यक्रम भएकोले गर्ने निर्णय भएको खतिवडाको भनाइ छ। 

बाहिर राष्ट्रियसभाको निर्वाचन र जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउनुपर्ने कारणले आवश्यक तयारी नपुग्ने भने पनि पार्टीको आगामी नेतृत्वको होडबाजीले महाधिवेशनको मिति सारिएको एकजना केन्द्रीय सदस्यले बताए। 

‘भन्नलाई त तयारी पुगेन भन्दै मिति सारिएको छ। खासमा महाधिवेशनपछि पार्टीको नेतृत्व लिने विषयले गर्दा अहिले महाधिवेशन नहुने भएको हो’, उनले भने। 

उनको भनाइअनुसार एक वर्षअगाडि निर्णय हुँदा पनि आवश्यक तयारी नपुगेको भन्नु तर्कसंगत देखिँदैन। माघसम्म भूकम्प प्रभावितको उद्धारमा स्वयंसेवक खटिनुपर्ने अवस्था नरहन सक्ने र राष्ट्रियसभाको चुनाव एकैदिनमा सकिने भएकाले नेताहरुले दिएको यो कारण तर्कसंगत नदेखिएको हो। 

ती केन्द्रीय सदस्यका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको उमेरहद र महाधिवेशनपछि पार्टीको नेतृत्वमा को जाने भन्ने कारणले महाधिवेशन धकेलिएको हो। 

नेपाल र खनालबीच लामो समयदेखि शक्ति संघर्ष चल्दै आइरहेको छ। खनालले अध्यक्ष नेपालको कार्यशैलीप्रति सार्वजनिक रुपमा नै असन्तुष्टि राख्दै आएका छन्। खनालले भदौको केन्द्रीय कमिटी बैठकमा नै फरक मतसहितको दस्तावेज पेश गरेका थिए।

समाजवादीले गत भदौ २८ मा अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको थियो तर पार्टी कमिटीको बैठक बसेर निर्णय एक भएको र अपानि जारी हुँदा अर्कै आएको भन्दै खनाल समूहले विरोध गरेको थियो। अध्यक्ष नेपालले पार्टीमा नेताहरूको जिम्मेवारी प्रतिशोधपूर्ण तरिकाले हेरफेर गरेको आरोप खनाल समूहका नेताहरूले लगाएका थिए। 

अध्यक्ष नेपालले गरेको कार्यविभाजन माघमा हुने महाधिवेशनकेन्द्रित रहेको भन्दै खनाल समूहले विरोध गरेपछि अपानि नै फिर्ता भएको थियो। 

खनालको अभिव्यक्तिलाई लिएर नेपाल पनि असन्तुष्ट नै छन्। जुन उद्देश्य लिएर एमालेबाट छुट्टिएर समाजवादी गठन भएको हो, त्यो पूरा गर्नभन्दा पनि शक्ति संघर्षमा नै दुई नेताको बढी जोडबल रहेको देखिन्छ। 

उनीहरुबीच पार्टीको वैचारिक कार्यक्रम, एमसीसी अनुमोदन प्रक्रिया, आमनिर्वाचनमा गठबन्धनदेखि समाजवादी मोर्चा गठनसम्म नै मतभेद देखिँदै आएको छ। उनीहरुबीचको असन्तुष्टि र मतभेद आगामी महाधिवेशनमा प्रतिष्पर्धा बनेर निस्कनसक्ने सम्भावना देखिएको छ। 

नेकपा एमालेकै नीति लिएको समाजवादीमा पनि नेतृत्व लिनका लागि उमेरहद रहेको छ। एकीकृत समाजवादीले विधानमा स्पष्ट रुपमा उल्लेख नगरे पनि नेतृत्वको लागि ७० वर्षे उमेरहदको नीति अवलम्बन गरेको छ। 

पार्टीका वर्तमान अध्यक्ष नेपाल हाल ६९ वर्षका भए। उनी फागुन २३ गते ७० वर्ष पूरा हुन्छन्। यसअनुसार निर्धारित समयमा महाधिवेशन भएको भए नेपालमा उमेरहद लागू हुँदैन। त्यसैले उनले फेरि नेतृत्वमा दावी गर्न सक्छन्। 

तर सम्मानित नेता खनाल हाल ७३ वर्षका भए। उमेरहदको नीतिअनुसार उनले नेतृत्वमा दावी गर्न मिल्दैन। माघमा महाधिवेशन भएको भए खनाल स्वतः नेतृत्वको प्रतिष्पर्धाबाट आउट हुन्थे भने नेपालको सम्भावना रहन्थ्यो। त्यसैले नेता खनालले नै महाधिवेशनको मिति सार्ने प्रस्ताव ल्याएको स्रोतको दावी छ। 

किनकि निर्धारित समयमा महाधिवेशन नहुँदा नेपाल पनि ७० वर्षका हुन्छन्। त्यसो भएमा खनाल र नेपाल दुवैमा उमेरहद लागू हुन्छ। दुवैको अवस्था समान हुने भएपछि कि दुवैले नेतृत्वमा दावी गर्न पाउँछन् कि दुवैले पाउँदैनन्। 

यही रणनीतिअनुसार खनालले तत्काललाई महाधिवेशन सार्नुपर्ने प्रस्ताव ल्याएको स्रोत बताउँछ। यसअघि खनाल महाधिवेशन चाँडो हुनुपर्ने पक्षमा थिए तर महाधिवेशनमा ७० वर्षे उमेर हदको विषय प्रवेश हुने संभावना बढेर गएपछि उनले महाधिवेशन नै सार्नुपर्ने अडान लिएका थिए। 

पूर्व निर्धारित समयमा महाधिवेशन नहुने निश्चित भए पनि नेताहरूबीच नयाँ मिति कहिले तोक्ने भन्नेबारे मतभेद भएको थियो। महाधिवेशनको नयाँ मिति तोक्न भनेर सोमबार करिब ७ घण्टा बसेको सचिवालय बैठकमा नेताहरूले बोल्ने क्रममा आगामी चैतदेखि असोजसम्मको मिति प्रस्ताव गरेका थिए। 

नयाँ मितिबारे नेताहरूका फरक फरक प्रस्ताव आएपछि सोमबारको बैठकले निर्णय गर्न सकेन। त्यसैले मंगलबार पुनः बैठक बसेको थियो। मंगलबारको बैठकले महाधिवेशनलाई जेठसम्म सारेसँगै समाजवादीको आगामी नेतृत्व को? भन्ने चासो बढेको छ। 

ओली पथमै उमेरहद सार्ने तयारी 

जेठमा महाधिवेशन हुँदा वर्तमान अध्यक्ष नेपाल पनि ७० वर्ष पूरा भइसकेका हुन्छन्। प्रचार विभाग प्रमुख खतिवडा भने दुई नेताबीच कुनै पनि प्रकारको शक्ति संघर्ष नरहेको दावी गर्छन्। 

‘दुई नेताबिच त्यस्तो कुनै शक्ति संघर्ष छैन। उहाँहरुका कारण पार्टीको महाधिवेशन सरेको पनि होइन। पार्टीको आगामी नेतृत्वको विषयमा माघमा हुने राष्ट्रिय सम्मेलनबाट केही कुरा आउनेछ’, खतिवडाले भने। 

उनले ७० वर्षे उमेरहदको नीति समाजवादीले त्याग्नसक्ने संकेत गरे। महाधिवेशनसम्म नेपाल र खनाल ७० वर्ष पूरा भइसक्छन्। तपाईंहरुको पार्टीको आगामी नेतृत्वमा को हो भन्ने प्रश्नमा खतिवडाले माघमा हुने सम्मेलनले नेतृत्व चयनको मापदण्ड बनाउने बताए। उनले उमेरहदको नीति परिवर्तन पनि हुनसक्छ भन्ने जवाफ दिए। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेर पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका उनीहरु पनि ओली पथमा नै हिँड्ने सम्भावना देखिएको छ। आफूअनुकूल बनाउन ओलीले पार्टीको विधान नै संशोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.