|

काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि नेपालमा महिनौँ कुर्नुपर्ने बाध्यता रहेको छ। एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्रमा अहिले पनि ५ सय विरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा रहेको केन्द्रका निर्देशक तथा अंग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन्।

‘मिर्गौलाका विरामी बढ्दै जाँदा प्रत्यारोपण गर्नुपर्ने विरामी पनि बढेका छन्। हामीकहाँ अहिले पनि ५ सय विरामी प्रत्यारोपणको पालो कुरिरहनु भएको छ’‚ डा. श्रेष्ठले भने।

पहिलोपटक २०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण सुरु गरेको केन्द्रले ११ वर्षको अवधिमा १ हजार १३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण गरेको छ। नेपालमा कलेजो प्रत्यारोपणका साथै मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपण समेत हुने व्यवस्था रहेको छ।

ब्रेन डेथ भएका व्यक्तिबाट दान गरिएको अंग प्रत्यारोपण समेत केन्द्रले गरिसकेको छ। ब्रेन डेथ भएका व्यक्तिबाट दान गरिएको अंग प्रत्यारोपण गर्न सकिने कानुन ल्याएको ६ वर्षमा जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मिर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण भएको छ।

पछिल्लो समय नसर्ने रोगहरूको चाप बढ्दै गएपछि विरामीले कुर्नुपर्ने बाध्यता सुरु भएको बताउँछन् त्रिवि शिक्षण अस्पतालका वरिष्ठ युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. पवनराज चालिसे।

उनका अनुसार हाल त्रिवि शिक्षण अस्पतालमा हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण हुने गरेको छ। ‘पछिल्ला दिनमा प्रत्यारोपण गर्नुपर्ने विरामी बढे पनि सबै कानुनी प्रक्रिया पूरा गरी आएका विरामीले एक महिनाभित्र प्रत्यारोपण सेवा पाउनुहुन्छ’‚ डा. चालिसेले भने।

उनका अनुसार हाल त्रिवि शिक्षण अस्पतालमा कार्यरत ७ जना चिकित्सकले अंग प्रत्यारोपणको अनुमति पाएका छन्।

देशभर ११ वटा अस्पतालमा प्रत्यारोपण सेवा

पहिलोपटक प्रत्यारोपण सेवा गरिएको ११ वर्षको अवधिमा अहिलेसम्म देशभर चार सरकारी सहित ११ वटा अस्पताल तथा प्रतिष्ठानले मिर्गौला प्रत्यारोपण गरिरहेका छन्। शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र भक्तपुर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित प्रदेश अस्पताल रहेका छन्। विशेषगरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्यअनुरूप सेवा दिइरहेको केन्द्रले जनाएको छ।

यस्तै निजी अस्पतालमा ग्राण्डी इन्टरनेशनल  अस्पताल, सुमेरु अस्पताल, निदान अस्पताल, किष्ट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज भरतपुर रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अंग प्रत्यारोपण समन्वय समितिका अनुसार हाल देशभर अंग प्रत्यारोपणका लागि ६४ भन्दा बढी चिकित्सले लाइसेन्स लिएका छन्। जसमा चार भारतीय चिकित्सक हुन्। यसरी अंग प्रत्यारोपणका लागि लाइसेन्स लिने  चिकित्सकमध्ये १८ जना कलेजो प्रत्यारोपणका लागि समेत अनुमति प्राप्त चिकित्सक हुन्।  

कस्ता चिकित्सकले पाउँछन् अंग प्रत्यारोणको लाइसेन्स

मानव शरीरको अंग प्रत्यारोपण नियमावलीको मापदण्डअनुसार नेपालमा प्रत्यारोपण सर्जन र नेफ्रोलोजिस्टलाई अंग प्रत्यारोपणको उपचारका लागि लाइसेन्स दिने व्यवस्था रहेको छ।

नियमावलीमा नेफ्रोलोजिस्टको हकमा अनुमतिपत्र लिन मान्यताप्राप्त शिक्षण संस्थाबाट नेफ्रोलोजीमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा स्नातक (डिप्लोमा) उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा कम्तीमा निरन्तर दुई वर्षको कार्यानुभव हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसम्बन्धी विषयमा कम्तीमा ६ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने नियमावलीमा उल्लेख छ।​

नियमावलीमा सर्जनको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा युरोलोजी अथवा जनरल सर्जरीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित विषयमा निरन्तर दुई वर्षको कार्यानुभव प्राप्त गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसँग सम्बन्धित विषयमा दुवैको (नेफ्रोलोजिस्ट सर्जन)का लागि कम्तिमा एक वर्ष प्रत्यारोपण हुने स्वास्थ्य संस्थामा कम्तिमा एक वर्ष मिर्गौला प्रत्यारोपण सम्बन्धी फेलोसिप समेत गरेको हुनुपर्ने उल्लेख छ।​

प्रत्यारोपणका लागि मिर्गौला लिने व्यवस्था

अंग प्रत्यारोपण ऐन, २०७२ अनुसार नेपालमा परिवारका सदस्य र नजिकका नातेदारले अंग (मिर्गौला) दान गर्न सक्ने व्यवस्था छ। ऐनमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुबा, आमा, धर्मपुत्री वा धर्मपुत्र राख्ने बाबुआमा, झड्केलो बुबा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनीले मिर्गौला दिन सक्छन्।

यसका साथै ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देवरानी, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानले पनि मिर्गौला दिन सक्छन्।

धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र राख्ने बुबाआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा कम्तीमा २ वर्षदेखि अटुट रूपमा नाता सम्बन्ध कायम रहेको अवस्थामा मात्रै मिर्गौला दान गर्न पाइने ऐनमा व्यवस्था छ।

नेपालमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) पश्चात् दान गरिएका अंग प्रत्यारोपण गर्न सकिने व्यवस्था भए पनि हालसम्म नगण्य संख्यामा मस्तिष्क मृत्युपश्चात् अंग दान भएको छ।

समयमै मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा ब्रेन डेथ भएका व्यक्तिको अंग झिकेर अर्काकोमा प्रत्यारोपण गर्न सकिने कानुन ल्याएको ६ वर्ष भइसक्दा पनि ब्रेन डेथ भएकाहरूको अंग झिकेर अर्कामा प्रत्यारोपण गर्न नसकिएको डा. श्रेष्ठको भनाइ छ। धर्मभक्त प्रत्यारोपण केन्द्रले हालसम्म जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मिर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण गर्न सफल भएको छ।

सरकारले मिर्गौलाका बिरामीलाई प्रत्यारोपणका लागि मात्रै नभएर नियमित डायलासिस गर्न सहयोग समेत गर्दै आएको छ।

स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार आर्थिक रूपले विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गराउँदा मिर्गौला प्रत्यारोपणका लागि बढीमा ४ लाख रुपैयाँसम्म र अन्य रोगका लागि १ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग दिने व्यवस्था छ।

मिर्गौलाका विरामीले हप्ताको २ सेसन र त्योभन्दा बढी हेमोडाइलासिस गर्नुपर्ने विरामीले प्रतिसेसन २५ हजार रुपैयाँ, अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका विरामीलाई प्रतिसेसन हेमोडाइलासिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलासिस प्रतिप्याकेज ५०१ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था निर्देशिकामा छ।

विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार प्रत्येक १० जनामध्ये १ जनालाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने गरेको छ। नेपालमा पनि वर्षेनि करिब ३ हजार जनाको मिर्गौला बिग्रिने गरेको र उनीहरूमध्ये धेरैको मिर्गौला फेर्न नपाउँदा अकालमै मृत्यु हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.