|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) ३६ दशमलव ८६ अंकले बढेको छ। आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार ९८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो। 

आज विभिन्न २९७ कम्पनीका १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर ९५ हजार ४३३ पटक खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको छ।

सबै समूहका उपसूचकमा हरियो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ४ दशमलव ३३ र जलविद्युत् समूह ३ दशमलव ३० प्रतिशतले बढेका छन्। 

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ। सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५ दशमलव ११ प्रतिशतले घटेको छ। 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १८ करोड ७ लाख ११ हजार ४८८ रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका ४ लाख २९ हजार ८२७ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.