|

धनकुटा : धनकुटाबाट पहिचान पक्षधर नौजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेकपा एमालेले शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरूप यातायात बन्द गराउन पुगेका र शंकास्पद अवस्थामा रहेका १ नम्बर प्रदेश संघर्ष समिति संखुवासभा संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खा संखुवासभा सचिव उमाकुमारी राई, १ नम्बर प्रदेश संघर्ष समिति संखुवासभा अध्यक्ष कर्वि राई, किराँत राई, धनकुटा अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कमल सिंह तिगेलालाई पक्राउ गरेको हो।

यसैगरी किराँत राई यायोख्खा पाख्रिबास नगर अध्यक्ष जितेन्द्र राई, किराँत राई यायोख्खा संखुवासभा कोषाध्यक्ष सोकुल राई, नेपाल कुलुङ किराँत भाषा संस्कृति उत्थान संघ संखुवासभा सदस्य पण्डित कुलुङ र संखुवासभाको मकालु यायोख्खा नगर सदस्य जुद्धवीर राईलाई लेगुवा बजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

पहिचान पक्षधर समूहले मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका थिए तर यातायात निर्बाध रूपमा चलिरहेको धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले बताए। पक्राउ परेका सबैलाई प्रहरी चौकी लेगुवामा राखिएको प्रहरीले जनाएको छ।

एमालेको टोली बिहीबार लेगुवा बजारबाट धनकुटा प्रवेश गर्ने तयारी छ। त्यसकै विरोधमा प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशमा पर्ने मध्यपहाडी सडक क्षेत्र बन्दको आह्वान गरेको हो।

पहिचान पक्षधर समूहले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित विरोधका कार्यक्रम गरिरहेको छ। एमालेले भने आफ्नो संकल्प यात्रामा अवरोध नगर्न अपिल गरेको छ।

प्रहरीले सम्भावित अवरोध र त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई मद्देनजर गर्दै पूर्वी पहाडको सुरक्षा व्यवस्था कडा बनाएको छ। पहाडी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन तराईका जिल्लाबाट समेत सुरक्षाकर्मी मध्यपडाही राजमार्गमा परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.