१२० प्रकारका औषधि उत्पादन गर्ने उद्योगमा उत्पादन ठप्प

|

काठमाडौँ : सरकारी उदासीनताका कारण देशकै पुरानो आयुर्वेदिक औषधि उद्योग 'सिंहदरबार वैद्यखाना' यतिखेर भद्रगोल अवस्थामा पुगेको छ।

कुनै समय राजपरिवारदेखि सर्वसाधारणलाई स्वदेशमै औषधि उत्पादन गरी निरोगी र स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सिंहदरबार वैद्यखाना आज थला परेको हो। 

एक समय देशको ८० प्रतिशत आयुर्वेदिक औषधिको हिस्सा ओगट्ने गरी औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समिति पछिल्लो ४ महिनादेखि एउटा औषधि पनि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको छ।

कुनै समय वैद्यखानाले देशमा उपलब्ध प्राकृतिक जडिबुटी प्रयोग गरी गुर्जो चिया, तुलसी चिया, शिलाजित, च्यवनप्राश‚ अश्वगन्धा तेल, अविपत्तिकर चूर्ण जस्ता १२० प्रकारका जीवनरक्षक आयुर्वेदिक औषधि उत्पादन गरेर बजार पठाउने वैद्यखाना अहिले आफै भद्रगोल अवस्थामा पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा सञ्चालन हुँदै आएको सिंहदरबार वैद्यखाना विकास समिति र नेपाल सरकारतर्फका कर्मचारीबाट सञ्चालन हुँदै आएको छ।

हाल विकास समितितर्फ ४२ र नेपाल सरकारका २ जना कर्मचारी गरी ४४ जना कर्मचारी रहेका छन्।

राजा प्रताप मल्ल (विसं १६९८–१७३१) को पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको वैद्यखानाबाट उत्पादन गरिने औषधि पछिल्लो समय कोरोना महामारीको समयदेखि ह्वात्तै लोकप्रिय बनेको थियो।

कोरोना महामारीको समयमा वैद्यखानाले उत्पादन गरेका औषधि बेचेरै दैनिक एक लाखसम्म मुनाफा कमाउँदै आए पनि पछिल्ला दिनमा औषधि उत्पादन गर्ने कच्चा पदार्थ समेत खरिद गर्न नसक्ने अवस्थामा पुगेको हो।

लामो समयदेखि कच्चा पदार्थ खरिद गर्न नसकेपछि हाल कुनै पनि औषधि उत्पादन हुन नसकेको त्यहाँका कर्मचारीहरूले बताउँदै आएका छन्। सामान्य अवस्थामा त्यहाँबाट उत्पादित च्यवनप्राश बेचेरै डेढ करोडसम्म नाफा कमाउने चिसो मौसममा वैद्यखाना अहिले कच्चा पदार्थ खरिद गर्न नसक्दा च्यवनप्राशको उत्पादन ठप्प भएको वैद्यखानाका कविराज सुमनकुमार झा बताउँछन्।

‘यहाँबाट उत्पादन हुने च्यवनप्राश एकदमै लोकप्रिय छ। यो मौसममा हामीले १ करोड ५० लाखसम्मको च्यवनप्राश बेचेको रेकर्ड छ तर अहिले कच्चा पदार्थ समेत नहुँदा योपटक उत्पादन नै गर्न सकिएन’‚ उनले भने।

लामो समयदेखि वैद्यखानामा निर्देशक पद खाली भएपछि कच्चा पदार्थ खरिद प्रक्रिया अघि नबढ्दा हाल औषधि उत्पादन रोकिएको कविराज झाले बताए।

‘खासमा अहिलेको मुख्य समस्या भनेको कच्चा पदार्थ नहुनु हो‚ जसको खरिदका लागि निर्देशकले प्रक्रिया अघि बढाउनुपर्छ तर लामो समयदेखि निर्देशक पद खाली छ र समस्या भयो’‚ उनले भने।

किन भद्रगोल अवस्थामा पुग्यो सिंहदरबार वैद्यखाना?

२०७७ सालमा आएको सिंहदरबार वैद्यखाना गठन आदेशमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेदिकतर्फको ११औँ तहका कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था रहेको छ। सोहीअनुसार यसअघि  वैद्यखानाको समेत कार्यभार सम्हाल्ने गरी आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायलाई निर्देशकको जिम्मेवारी दिइएको थियो।

त्यो समयमा कच्चा पदार्थको खरिद प्रक्रिया अन्तिम अवस्थामा पुगिसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उनको जिम्मेवारी खोसेर नरदेवी आयुर्वेदालयका निर्देशक डा. प्रदीप केसीलाई निर्देशकको जिम्मेवारी दिए। डा. केसीले आफ्नो दरबन्दी नभएको ठाउँमा नजाने अड्डी कसेपछि कच्चा पदार्थ खरिद प्रक्रिया नै अन्योलमा परेको वैद्यखानाका अर्का एक कर्मचारी बताउँछन्।

स्वास्थ्य मन्त्रालयले भने मन्त्रालयबाट खटाएको कर्मचारीले गएर जिम्मेवारी नलिँदा समस्या भएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार डा. केसीलाई मन्त्रालयले नियमित सरुवाकै अवस्थामा डा. केसीलाई वैद्यखानाको निर्देशकको जिम्मेवारी दिई पठाउँदा गएनन्। त्यसबाट अहिलेको अवस्था सिर्जना भएको हो।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने‚ ‘हामीले वैद्यखानाको संरचनाअनुसार नै ११ औँ तहका आयुर्वेद चिकित्सकलाई त्यहाँका निर्देशकको रूपमा पठाएका हौँ तर उहाँ जिम्मेवारी नसमालेर अदालत जानु भएको छ। अब अदालतले निर्णय नगर्दासम्म हामीले वैद्यखानाको विषयमा थप केही निर्णय गर्न मिल्दैन।’

स्वास्थ्य मन्त्रालयकै एक उच्च कर्मचारीका अनुसार नरदेवी आयुर्वेदालयमा दरबन्दी रहेका डा. केसीलाई सरुवाभन्दा पनि काजमा पठाउने निर्णय गर्दा यो समस्या आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.