|

धनकुटा : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार धनकुटाको हिले पार्कको उद्घाटन गरेका छन्। निर्माण सम्पन्न भएको ३ वर्षपछि पार्क उद्धाटन गरिएको छ।

प्रदेश सरकारको लगानीमा धनकुटा नगरपालिका–१ हिले बीचबजारमा १ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण सम्पन्न हिले पार्कको आव २०७६।०७७ को असार मसान्तमै निर्माण सम्पन्न भएको थियो।

नेकपा एमालेको गरिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओली धनकुटा आइपुगेका हुन्।

हिले बजारमा आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्न वा मन भुलाउन सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएको हिले पार्क जोनका अध्यक्ष धीरेन थिङले बताए।

पार्कमा वृद्धवृद्धाहरूलाई पार्कको विभिन्न स्थानमा विश्रामालय, आन्तरिक तथा बाह्य पर्यटकलाई हिले र आसपासको क्षेत्रको पर्यटकीय स्थलको जानकारी गराउने उद्देश्यले सूचना केन्द्र समेत निर्माण गरिएको छ।

ऐतिहासिक तथा पुरातात्त्विक वस्तुहरूको पहिचान झल्काउने खालको फोटो संग्रहालय समेत स्थापना गरिएको छ। पार्कमा ४८ वटा लाइट राखिएका छन्। पार्कको माथिल्लो भागमा पानीको फोहोरा फाउण्टेन राखिएको छ।

धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्त रूपमा आमसभा आयोजना गरिएको हो। संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने एमालेले जनाएको छ।

संकल्प यात्राको अगुवाइ गरिरहेका एमाले अध्यक्ष ओलीको टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली‚ अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल लगायत सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.