|

काठमाडौं : नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख लक्ष्य राखेर गत ४ असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको छ। 

सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मिलेर गत असार ४ मा धुमधामसँग सुरु भएको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको हो। 

जति फूर्तिसाथ मोर्चा बनेको थियो, त्यति नै छिटो सुस्ताउँदै गएको छ। सुरुवातमा सचिवालय गठन गर्ने, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्ने र विभिन्न प्रदेशमा सन्देश सभा गर्ने काममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता नै खटिएको मोर्चाको बैठक नै भदौ ४ गते यता बस्न सकेको छैन।

४ भदौको बैठकले सातवटै प्रदेशमा सन्देश सभा गर्ने र प्रदेशदेखि स्थानीय तहसम्म संरचना विस्तार गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार प्रदेशसभा सम्पन्न गरेपछि एकपटक पनि मोर्चाको बैठक बस्न सकेको छैन।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्य बोकेर मोर्चा गठन गरिएको भने पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो ‘कुर्सी’ जोगाउने दाउपेचको रुपमा मोर्चा खडा गरेको चर्चा राजनीतिक वृत्तमा चलेको थियो।

असहज संसदीय अंकगणितको बाबजुद नेपाली कांग्रेसको काँध चढेर प्रधानमन्त्री बनेका प्रचण्डले भविष्यमा आउनसक्ने जोखिमबाट बच्ने उपायको रुपमा मोर्चा बनाएका थिए। 

प्रचण्डसँग अहिले पनि सहज संसदीय अंकगणित छैन। संसदमा ३२ सिटमात्र जितेर तेस्रो दल बनेको माओवादी अध्यक्ष प्रचण्ड नेतृत्त्वको सरकारलाई पहिलो दल कांग्रेससहित एकीकृत समाजवादी, जसपा, नेसपा र नाउपालगायत दलको समर्थन छ। 

समाजवादी मोर्चाले ५४ सांसदको नेतृत्व गरिरहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा यो निर्णायक शक्ति पनि हो। मोर्चामा रहेको विप्लव नेतृत्वको नेकपासँग संसदीय शक्ति छैन। यद्यपि नेकपालाई पनि भविष्यमा आफ्नो शक्ति बनाउनसक्ने प्रचण्डको आँकलन छ। 

३२ सिट हुँदा सरकारको नेतृत्वमा पुगेका प्रचण्ड ५४ सिट रहेको मोर्चाको कमाण्डर पनि हुन्। यसलाई उनले सरकारको निरन्तरता मात्रै नभई गठबन्धनको नेतृत्व गरिरहेको सबैभन्दा ठूलो दल कांग्रेसलाई पनि दबाबमा राख्ने अस्त्रको रूपमा लिएको मोर्चाकै नेताहरु बताउँछन्। 

यो मोर्चामा आबद्ध दलबाहेक कांग्रेस र एमाले मिलेको अवस्थाभन्दा बाहिर गएर सरकार बन्न नसक्ने भएकाले प्रधानमन्त्री प्रचण्डले अन्य दललाई मोर्चामा बाँधेर आफूसँगै राखेको समाजवादी मोर्चाका एक नेताले बताए। 

‘कांग्रेस र एमाले मिलिहाल्ने अवस्था छैन‚ अरु दल नभई सरकार बन्न सक्दैन। त्यसैले एमाले र कांग्रेसबाहेक सरकार बनाउन सहयोगी बन्न सक्ने दलहरुलाई प्रधानमन्त्रीले मोर्चामा बाँधेर आफ्नो अस्त्र बनाइराख्नु भएको छ’, ती नेताले भने। 

यसरी आफ्नो ‘कुर्सी’ सुरक्षित गर्न बनाएको मोर्चालाई सक्रिय बनाउन भने प्रचण्डले सकिरहेका छैनन्। घोषणापछि एक चरणको प्रदेशस्तरीय सन्देश सभा गरेपछि मोर्चा निष्क्रिय छ। 

नेतृत्व परिवर्तनमा ढिलाई

​घोषणा गर्दा दलका नेताहरुबीच मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। एउटा पार्टीको नेतृत्व समयावधि ४ महिना रहने सहमतिअनुसार मोर्चा घोषणा भएको थियो। 

मोर्चाको सुरुवाती नेतृत्व नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए। मोर्चा बनेको ५ महिना भयो।

नेताहरुबीच भएको सहमतिअनुसार नेपालको समयावधि सकिसकेको छ। सहमति कार्यान्वयन भएको भए एक महिना पहिले नै मोर्चाको नेतृत्व परिवर्तन भइसक्नुपर्ने थियो। 

तर अहिलेसम्म बैठकसमेत बस्न नसकेको मोर्चामा बाँकी विषयमा छलफल हुन सकेको छैन। बैठक नै बस्न नसकिरहेको बेलामा मोर्चाको नेतृत्वको विषयमा कसैले नसोचेको नेताहरूको भनाइ छ। 

समाजवादी मोर्चाले आफ्नो बैठकको अध्यक्षताको मोडालिटी, मोर्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाइसकेको छ। जसअन्तर्गत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मोर्चाका संयोजक छन्। 

नेपालको मातहतमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेको सचिवालय छ। एकीकृत समाजवादीकै उपाध्यक्ष प्रमेश हमाल सचिवालयको सदस्य सचिव छन्।

विचार र सांगठनिक हिसाबले अलग–अलग स्वरूपमा रहेका दलहरूबीच केन्द्रमा नेतृत्वले मोर्चा निर्माण गरे पनि त्यसलाई तल्लो तहसम्म विस्तार गर्ने र घोषणा भएअनुसार कार्यान्वयनमा जानेमा आशंका व्यक्त भइरहँदा मोर्चाले त्यसको खाका कस्तो बनाउने भन्ने विषयमा समेत टुंगो लगाएको थियो।

समाजवादी मोर्चाको प्रदेश र स्थानीय तहको संरचनाको मोडालिटी केन्द्रकै शैलीमा बनाउने सहमति छ। हरेक पार्टीबाट १/१ जना रहने गरी सचिवालयको निर्माण गर्ने र मोर्चाको नेतृत्व गरिरहेको दलबाट एकजना सदस्य सचिव रहने सहमति मोर्चामा बनेको थियो।

मोर्चाको केन्द्रीय संयोजन समितिमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ छन्।

एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुषाल छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोक राई, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङ छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, स्थायी समिति सदस्य सन्तोष बुढा र उमा भुजेल मोर्चाको सचिवालयमा छन्।

माओवादीका महासचिव देव गुरुङ नेताहरुको व्यस्तताको कारण समाजवादी मोर्चाका काम अगाडि बढ्न नसकेको बताउँछन्। 

‘नेताहरुको व्यस्तताले उहाँहरु जुट्न सक्नु भएको छैन। त्यसैले समाजवादी मोर्चाका कामहरु गर्न विलम्ब भएको जस्तो देखिन्छ तर निष्क्रिय भएको छैन’, गुरुङले भने। 

गुरुङले भूकम्पलगायत घटनाक्रमले समेत मोर्चाको काम प्रभावित बन्न पुगेको बताए। समाजवादी मोर्चा नेताहरुको प्राथमिकतामा नपरेको हो? भन्ने प्रश्नमा गुरुङले भने‚ ‘काम र कर्तव्यअनुसार प्राथमिकतामा पर्छ। अहिले मोर्चाकोभन्दा अरु काम महत्वपूर्ण भएर हो।’

उनले ४/४ महिनामा मोर्चाको नेतृत्व परिवर्तन गर्ने भन्ने सहमति कार्यान्वयन गर्न पनि नेताहरुले नभ्याएर सम्भव नभएको बताए। गुरुङले मोर्चाको बैठक बसेपछि रोटेसनअनुसार नेतृत्व परिवर्तन हुँदै जाने बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.