|

काठमाडौं : नेकपा एमालेको १८ दिने लामो झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी संकल्पयात्रा आजबाट सकिएको छ। 

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको संकल्प यात्रालाई एमालेले आज आइतबार पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकाएको हो। ‘समृद्धिका लागि संकल्प यात्रा’ भने पनि यसलाई ‘मिसन ०८४’ को तयारीको हिस्साको रूपमा लिएको एमालेकै नेताहरू बताउँछन्। 

२०८४ सालमा एकल बहुमत ल्याउने उद्देश्य बोकेर शृंखलाबद्ध रूपमा विभिन्न अभियान सञ्चालन गरेको एमालेले संकल्पयात्राको उद्देश्य अरू जे बताए पनि यसले चुनावी अभियानको रूपको झल्को दियो। ३ तहको निर्वाचन सकिएको एक वर्षपछि र अर्को चुनाव आउनु ४ वर्षअघि गरेको एमालेको संकल्प यात्रा जसरी सुरु भएको थियो त्यसरी अन्त्य हुन सकेन। 

यात्राभरी गाडी प्रयोग गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले यात्रा अन्त्यका दिन हेलिकप्टर प्रयोग गरे। संकल्पयात्रा समापन गर्न पाँचथरको चिवाभञ्ज्याङ पुग्ने क्रममा नेताहरूले हेलिकप्टर प्रयोग गरेका हुन्। 

जनतासँग विकासको संकल्प गर्ने भनिएको यात्रा पुरानै शैलीको तामझामसहित समापन भयो। पुराना दलले केही गर्न नसकेको भन्दै निराश बनेका जनतामाझ पुगेको एमालेले नयाँ उत्साह थप्न सकेन। जनतासँग नयाँ संकल्प गर्न सकेन। बरु पुरानै शैलीमा तामझाम गर्ने, सरकार र विपक्षी पार्टीविरुद्ध खरो रूपमा उर्लिने कामलाई निरन्तरता दियो। 

जनतासँग संकल्प गर्ने भन्दै पार्टी अध्यक्ष ओली आफैँ सबै कार्यक्रममा पुगे। जनतासँगको भेटमा उनले अन्य पार्टीलाई आरोप मात्रै लगाए,आफूमाथि लागेका आरोपको तथ्यगत रूपमा सफाइ दिन सकेनन्। समृद्धिको परिभाषा दिन सकेनन्। 

मुलुकमा भ्रष्टाचार बढ्नु, बेरोजगार बढ्नु र महँगी नियन्त्रण नहुनुमा कांग्रेस, माओवादी र एमाले नै मूल कारक हो भन्ने भाष्य आमनागरिकमा स्थापित भइसकेको छ। जसले गर्दा पुराना भनिएका यी पार्टीहरूप्रति जनताको निराशा बढ्दै गइरहेको छ भने वर्तमान व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ तर एमालेले अहिले देखिएका बेथितिको जिम्मेवार आफूलाई मानेन। जनतासँग संकल्प गर्न गएको एमालेले यो सब समस्याको जड कांग्रेस–माओवादी हो भनेर उम्कने प्रयास गर्‍यो। ​

मध्यपहाडी लोकमार्गलाई प्राथमिकतामा राखेको एमालेले कोशी प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, बागमती प्रदेशका सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गण्डकीको गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, लुम्बिनीको रुकुम (पूर्व),कर्णालीको जाजरकोट र दैलेख र सुदूरपश्चिमको अछाम, डोटी, डडेलधुरा र बैतडीसम्म पुग्यो। 

‘मिसन ०८४’ बोकेर हिँडेको एमाले तिनै ठाउँमा पुग्यो, जहाँ उसको पकड पहिल्यै राम्रो थियो। कमजोर भएको स्थानमा एमालेले आफ्नो यात्राको बाटै पारेन। संकल्प यात्रामा एमाले जुन जुन ठाउँ पुग्यो तीमध्ये अधिकांश जिल्लामा २०७९ को प्रतिनिधिसभातर्फको निर्वाचनमा समानुपातिक मतमा एमाले अगाडि नै थियो। 

जनताका गुनासोमा पार्टीको नेतृत्वलाई उपस्थित गराउनकै लागि मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रा तय गरेको एमालेले विवादित स्थानको बाटो नै छल्यो। एमालेले समस्या उत्पन्न भएका ठाउँका स्थानीय बासिन्दासँग छलफल गरेर निकास निकाल्ने पनि यात्राको उद्देश्य रहेको बताए पनि कास्कीमा भने विवादित ठाउँ छलेर संकल्प यात्रा गर्‍यो। 

मध्यपहाडी लोकमार्ग लैजाने एलाइटमेन्टबारे पोखरा–१६ बाटुलेचौरदेखि अर्मलासम्मका स्थानीय आन्दोलित छन्। हालको एलाइटमेन्टप्रति असहमति जनाएका उनीहरूले नयाँ एलाइटमेन्ट बनाउन दबाव दिँदै आइरहेका थिए। संकल्प यात्रा गर्दै एमाले त्यस क्षेत्रमा आउला र आफ्नो कुरा राखौला भन्ने तयारीमा त्यहाँका बासिन्दा थिए तर एमालेको संकल्प यात्रा सो क्षेत्र छलेर गयो। 

भासिँदै गएको जमिनमाथि राजमार्ग बनाउँदा थातथलो उखेलिने डरले भयभीत त्यस क्षेत्रका बासिन्दा मन मारेर बस्न बाध्य भए। जनताको गुनासो सुन्ने भन्दै सुरु गरेको एमालेको संकल्प यात्रा दैलैछेउको बाटो छलेर लमजुङ पुग्यो। 

जसले गर्दा एमालेको संकल्प यात्रा बिथोल्न खोज्नेदेखि ओलीलाई झापड हान्नेसम्मका गतिविधि भए। पहिचान पक्षधरहरूले संकल्प यात्रा बिथोल्न खोजे। आक्रामक बनेका एक व्यक्तिले ओलीलाई झापड लगाउन भ्याए तैपनि एमालेले संकल्प यात्रामा जनतासँग कुनै संकल्प गरेन। 

१८ दिन लामो चलेको एमालेको संकल्प यात्राले राष्ट्रिय मुद्दा उठाएन। अहिलेको आर्थिक, सामाजिक र राजनीतिक संकटको निकास निकाल्ने खालको कुनै मुद्दा स्थापित गर्न सकेन। एमालेको विचार, सिद्धान्त र मुद्दा त्यति चर्को रूपमा उठ्न सकेन, जति पार्टी अध्यक्ष ओलीको व्यक्तिगत ‘ब्राण्डिङ’को चर्चा सुनियो।

एमालेको संकल्प यात्राले एउटै कुरा मात्रै चर्चामा रह्यो, त्यो अध्यक्ष ओलीको व्यक्तिगत ‘ब्राण्डिङ’ मात्रै हो। दुई हजार किलोमिटर लामो मध्यपहाडी संकल्प यात्रामा ओलीको ‘बा ब्राण्डिङ’ले नै निरन्तरता पाइरह्यो।  

जहाँ पुग्यो त्यहीँ प्रतिभा देखाइहाल्ने ओलीको रहर पुरानै हो। संकल्प यात्रामा पनि ओलीले आफ्नो त्यो रहर मारेनन्। देशको दोस्रो ठूलो पार्टी र दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिको रूपमा जनताको माझ पुगेका उनले राष्ट्रिय समस्याको बारेमा चिन्तन गरेनन्। जनताको गुनासो र समस्या सुनेनन्। आफ्नै रहर पूरा गर्दै आत्मप्रशंसामा रमाए। 

संकल्प यात्रामा ओलीले कुन मुद्दा उठाए भन्ने सायदै कसैलाई याद होला। उनले आफ्नो कुन कुन कला देखाए भन्ने अधिकांशका लागि चर्चाको विषय बन्यो। ओलीले संकल्प यात्राभर कविता सार्वजनिक गरे, गितार बजाए, सारङ्गी बजाए,टेबल टेनिस खेले, क्रिकेट खेले र माछा तार्नसम्म भ्याए। 

राजनीतिक लक्ष्य बोकेर पार्टीको संकल्प यात्रामा निस्किएका ओलीले कार्यक्रमको मञ्चलाई अन्य दलहरूप्रति आक्रमण गर्ने अवसरको रूपमा मात्रै नभई आफ्नो कला देखाउने थलोको रूपमा पनि प्रयोग गरे। संकल्प यात्रालाई ओलीले आफ्नो ‘ब्राण्डिङ’ गर्ने प्रतिभा यात्रा बनाए। 

कतै श्रीमती राधिकाको फोटो खिचिरहेको, कतै डम्फु बजाएको, कतै माछा तारेको फोटो र भिडियो उनले लगातार आफ्नो फेसबुकमा राखे। जसले गर्दा संकल्प यात्राभर ओलीको प्रतिभा प्रस्फुटन भयो। ओलीको ‘बा ब्राण्डिङ’मा थप मलजल भयो। ओलीको थप चर्चा भयो तर एमालेको विचार, सिद्धान्त, योजना र मुद्दाको चर्चा भएन। पार्टीको ‘ब्राण्डिङ’ भएन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.