|
भूकम्पीडितको शिविरको फाइल तस्वीर।

त्रिवेणी : गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।

जिल्लाका छवटै पालिकाका १३ हजार ३८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन्।

सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका ४ हजार ७४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन्।

सानीभेरी गाउँपालिकामा २ हजार ३२१, त्रिवेणी गाउँपालिकामा २ हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिकाका लाभग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन्। 

आठबीसकोटमा ७ हजार लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि बैंकमा खाता सञ्चालन भएका ४ हजार ७४२ लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए।

उनका अनुसार नगरपालिकाभर ९ हजार ९६२ लाभग्राहीको सङ्ख्या एकिन भएको छ।

बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने जानकारी उनले दिए। त्यहाँ हालसम्म २ हजार २४० अस्थायी आवास निर्माण भइसकेको छ भने ३ हजार ६९० वटा अस्थायी आवास निर्माणको चरण रहेको नगरपालिकाले जनाएको छ।

चौरजहारी नगरपालिकामा ४ हजार १९३ लाभग्राहीको खातामा रकम पठाइएको छ। जिल्ला विपद् व्यवस्थापन कोषबाट ६ हजार २७९ लाभग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार नगरपालिकामा ८ हजार ३८३ लाभग्राहीको पहिचान भएको छ। 

अझै विवरण सङ्कलन गर्न केही दिन लाग्ने जानकारी उनले दिए। त्यहाँ ११८ अस्थायी आवास निर्माण हुँदा १ हजार ५३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन्।

सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न २ हजार ३२१ लाभग्राहीले पहिलो किस्ता पाएका छन्। पालिकाभर हालसम्म ५ हजार ४२५ लाभग्राही पहिचान भएका छन्। जसमध्ये बाँकी रहेका लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए।

उनका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल सङ्घ संस्था तथा सरकारको अनुदानमा १ हजार ६ सय अस्थायी आवास निर्माण भएका छन्। बाँकी अस्थायी  आवास निर्माणको काम जारी रहेको उनले बताए।

त्रिवेणी गाउँपलिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् २ हजार ६९ लाभग्राहीका लागि आएको रकम  खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले बताए।

उनका अनुसार बाँकी रहेका ६७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ। विवरण सङ्कलनको काम अझै जारी छ। ​पालिकामा हालसम्म २२२ अस्थायी आवास निर्माण भएको र २६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा ८६६ लाभग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभग्राहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ। त्यहाँ हालसम्म ९ सयभन्दा बढी लाभग्राही पहिचान भएका छन्।

 बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट १ हजार ६९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ।

अस्थायी आवास निर्माण गर्न प्राप्त रकम अपुग भएपछि सङ्घीय सरकारलाई १ अर्ब २ करोड रुपैयाँ माग गरी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.