|

काठमाडौँ : देशभरका जिल्ला तथा उच्च अदालतका न्यायाधीशहरूविरुद्ध ४५२ उजुरी परेका छन्। 

न्यायपरिषद् दिवसको अवसरमा मंगलबार न्यायपरिषद् सचिवालयले सार्वजनिक गरेको न्यायपरिषद् बुलेटिनमा देशभरका जिल्ला तथा उच्च अदालतका न्यायाधीशविरुद्ध ४५२ उजुरी परेको तथ्यांक सार्वजनिक गरिएको हो। 

परिषद्ले जिल्ला न्यायाधीशविरुद्ध २२६ र उच्च अदालतका न्यायाधीशविरुद्ध पनि २२६ उजुरी परेको जनाएको छ। परिषद्ले सार्वजनिक गरेको बुलेटिनमा प्रकृतिअनुसार ३३९ र एउटै न्यायाधीशविरुद्ध परेको उजुरीलाई फरक फरक गणना गर्दा न्यायाधीशगत रूपमा ४५२ उजुरी परेको उल्लेख छ। 

परिषद्‌मा कार्यक्षमता अभाव भएको भन्दै जिल्ला न्यायाधीशविरुद्ध ५५ र उच्च अदालतका न्यायाधीशविरुद्ध ७८ गरी १३३ उजुरी परेको छ। १३२ जिल्ला न्यायाधीश र १०७ उच्च अदालतका न्यायाधीश गरी २३९ न्यायाधीशविरुद्ध खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको आरोपसहितको उजुरी परेको परिषद्ले जनाएको छ। 

त्यसैगरी इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको वा बदनियतपूर्वक कार्य गरेको भन्दै ६ जिल्ला र ४ उच्च अदालतका गरी १० न्यायाधीशविरुद्ध उजुरी परेको छ। बुलेटिनमा २६ जिल्ला न्यायाधीश र २२ उच्च अदालतका न्यायाधीशमा कार्यक्षमताको अभाव र खराब आचरण देखिएको भन्दै उजुरी परेको उल्लेख छ। 

कार्यक्षमताको अभाव, खराब आचरण र इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको भन्दै २ जिल्ला र ४ उच्चका गरी ६ न्यायाधीशविरुद्ध परिषद्‌मा उजुरी परेको जनाइएको छ। ५ जिल्ला न्यायाधीश र ११ उच्च अदालतका न्यायाधीशले कार्यक्षमताको अभाव र इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको उजुरी परिषद्‌मा परेको छ। 

बुलेटिनमा प्रकृतिगत रूपमा परेका उजुरीमध्ये ४९ फर्स्योट भइसकेको र २९० उजुरी बाँकी रहेको उल्लेख छ। जसमा दुई वर्षमाथिका ३५, दुईवर्षभित्रका १०९ र एक वर्ष भित्रका १४६ उजुरी बाँकी रहेको जनाइएको छ। 

देशभर ६६ न्यायाधीश रिक्त 

सर्वोच्च अदालतसहित देशभरको अदालतमा ६६ न्यायाधीश रिक्त रहेको परिषद्ले जनाएको छ। 

परिषद्ले सार्वजनिक गरेको बुलेटिनअनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेकोमा १४ न्यायाधीश मात्रै पूर्ति भएको र ७ न्यायाधीश रिक्त रहेको जनाएको छ। सर्वोच्चका लागि ६ जना न्यायाधीश नियुक्त गर्ने क्रममा रहेको पनि परिषद्ले जनाएको छ। 

परिषद्ले देशभरका १८ वटा उच्च अदालत, इजलास र अस्थायी इजलासमा ३५ न्यायाधीश रिक्त रहेको उल्लेख छ। ती उच्च अदालत, इजलास र अस्थायी इजलासमा १६० न्यायाधीशको दरबन्दी रहेकोमा १२५ जना पूर्ति भएको र ३५ न्यायाधीश रिक्त रहेको बुलेटिनमा जनाइएको छ। 

त्यसैगरी ७७ जिल्लामा २८४ न्यायाधीशको दरबन्दी रहेकोमा २६० न्यायाधीश पूर्ति भएको र २४ जना रिक्त रहेको परिषद्ले जनाएको छ। 

२ उत्कृष्ट न्यायाधीशलाई सम्मान 
न्यायपरिषद् सचिवालयले न्यायपरिषद् दिवसका अवसरमा २ उत्कृष्ट न्यायाधीशलाई सम्मान गरेको छ। 

मुद्दा फर्स्योटमा उत्कृष्ट काम गरेका उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र जिल्ला अदालत काठमाडौँका डा. राजेन्द्रप्रसाद आचार्यलाई सम्मान गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.