भाषणबाजीमै बित्यो एक वर्ष

|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेर्ने छनक दिएका छन्।

सरकारको एकवर्षे उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू बदल्ने संकेत दिएका हुन्। उनले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने संकेत आज राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा दिए।

मन्त्रीहरू फेर्ने चर्चा भइरहेका वेला अब कार्यक्षमता कमजोर हुनेहरूले ठाउँ ओगट्न नहुने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। उनले मन्त्रीहरूको कार्यक्षमताको कुरा उठाएर मन्त्रीहरूलाई असफल हुने छुट नभएको बताए। 

उनले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बस्न जरुरी नरहेको सुनाए। प्रधानमन्त्री प्रचण्डले केही दिनमै कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्रोतले बताएको छ। 

स्रोतका अनुसार हाल गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिने तयारी छ। गृह कांग्रेसलाई दिने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्।

गृह छाडेर परराष्ट्रमा जान श्रेष्ठले पनि रुचि व्यक्त गरेका स्रोतको दावी छ। हाल परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद छन्। गृहमा साउदलाई नै ल्याउने/नल्याउने टुंगो कांग्रेसले लगाइसकेको छैन।

स्रोतका अनुसार गृहमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखकको चर्चा छ। ‘लगभग लेखकको नाममा सहमति जस्तै भए पनि टुंगो लागिसकेको छैन,’ स्रोतले भन्यो, ‘पार्टी सभापतिले चाहेको व्यक्ति नै गृहको नेतृत्वमा जाने पक्का जस्तै छ।’ 

भाषणबाजीमै बित्यो प्रचण्डको एक वर्ष

प्रधानमन्त्री प्रचण्डले एक वर्ष भाषणबाजीमै बिताएका छन्। भाषणले लंका चुटेका प्रधानमन्त्री प्रचण्डले सरकारका दैनिक कामलाई उपलब्धिका रूपमा व्याख्या गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त हुँदा गरेका बाचा पूरा गर्न प्रचण्ड स्वयं असफल बनेका छन्।

प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो एक वर्ष असफल नभएको तर सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्। प्रधानमन्त्री प्रचण्डले विद्युत् क्षमता बढेको, सडक सञ्जालमा उल्लेख्य प्रगति भएको, साक्षरता, औसत आयु र अर्थतन्त्र सकारात्मक स्थितिमा पुगेको दावी गरेका छन्। 

सरकारले गैरआवासीय नागरिकता दिन थालेको, राहदानी बनाउने विकल्पलाई थपिएको, श्रम स्वीकृति अनलाइनबाट दिन थालिएको, विदेशस्थित नियोगबाट समेत श्रम स्वीकृति दिन थालिएको, २४ सै घण्टा गुनासो सुन्ने गरी श्रम कल सेन्टर शुरु गरेको लगायतका फेहरिस्त प्रधानमन्त्रीले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.