|

धनकुटा : धनकुटा सदरमुकामस्थित तथ्यांक कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई सार्न लागिएको भन्दै नेकपा एमाले धनकुटाले विरोध गरेको छ।

एमाले धनकुटाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै तथ्यांक कार्यालयलाई खोटाङमा र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाममा सार्न लागिएको भन्दै विरोध जनाएको हो।

यसैगरी धनकुटामा निर्माणाधीन एक सय शय्याको अस्पतालको जग्गा प्राप्तिका लागि संघीय सरकारले निर्णय नगरेको, अघिल्ला सरकारले छुट्याएका विकास बजेट कटौती गरेको र एक स्थानीय तह एक अस्पतालको बजेट कटौती गरेको एमालेले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा संघीय संसद राजेन्द्रकुमार राईले संघीय मन्त्रिपरिषद् बैठकले कार्यालय सार्ने निर्णय गरेको भन्दै त्यसको विरोधमा सबै धनकुटे एक हुनुपर्ने बताए।

कार्यालय सार्न लागेको विरोधमा एमाले धनकुटाले माघ १५ गते सबै राजनीतिक दल र जनप्रतिनिधिको भेला आयोजना गर्ने तथा माघ १६ गते धनकुटा विरोध र्‍याली गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा वर्तमान सरकारले धनकुटालाई हेप्ने, अपमान गर्ने काम गरेकाले यो कार्य नरोकिए आन्दोलनको चेतावनी दिइएको छ।

एमाले धनकुटाले आइतबार नै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यालय सार्ने निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ। यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालय सार्न लागेको विषयमा माथिल्लो निकायबाट कुनै अनौपचारिक जानकारी नआएको बताए। उनले एमालेले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.