|

काठमाडौं : १९९० सालमा भूकम्प गएपछिको कुरा हो। त्यसयताका काठमाडौं उपत्यकासहित देशभर हैजा (कोलेरा) ले मुलुक आक्रान्त  थियो।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै हैजाको सिकार बन्न बाध्य भए। १ सय जना हैजाका विरामी आउँदा ५० जनाको ज्यान  जान्थ्यो। त्यतिखेर दैनिक ५० जनासम्मलाई बागमतीमा जलाइन्थ्यो।

त्यही हैजाको माहामारीको समयमा हैजाको विरामीलाई उपचार गर्न भन्दै कलेरा उपचारको रुपमा हालको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्थापना भएको हो, जुन तथ्य टेकु अस्पतालको विवरणमा देख्न सकिन्छ।

त्यसैले टेकु अस्पतालाई  वि.सं. १९९० सालको भूकम्पपछि फैलिएको हैजाले जन्माएको अस्पताल पनि भन्ने गरिन्छ। यही अस्पतालले माघ १० गते आफ्नो ९० औँ स्थापना दिवस मनाएको छ।

स्थापनाको ९ दशक पार गरेको अस्पतालले यस बिचमा देशमा देखिएका पटक पटकको महामारीसँग लड्दै विभिन्न प्रकारका सरुवा रोगको उपचार समेत गर्दै आएको छ।

अस्पतालमा उपलब्ध भएको विवरण अनुसार हैजाले मानिस मर्न थालेपछि हैजा रोक्न १९९० सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत रोप–वे टर्मिनल (जहाँ हाल साल्ट ट्रेडिङको भवन रहेको छ) रहेको टेकुस्थित पाटीमा ‘कलेरा अस्पताल’ स्थापना भएको हो।

प्रारम्भिक चरणमा अस्पताल भवन हालको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको भवनमा थियो। तत्कालीन समयमा प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणा थिए।

२००७ सालमा भने रोप–वे टर्मिनलको प्राङ्गणबाट टेकु अस्पताल अहिलेको प्राङ्गणमा सरेको हो तर त्यस अघि सम्म टेकु अस्पताल वीर अस्पतालको शाखाको रुपमा सेवा दिँदै आएको थियो।   

२०३४ सालमा टेकु अस्पताल स्वायत्त भएको हो। २०३४ सालदेखि वीर अस्पतालको शाखा नभएर देशकै केन्द्रीय सरुवा रोग अस्पतालको रूपमा अस्पतालले आफ्नो सेवा दिँदै आएको छ।

पटक-पटक नाम फेरिएको अस्पताल

२०९० सालको हैजाले जन्माएको टेकु अस्पतालको नाम पटक-पटक फेरिएको छ। स्थापनाको वेला कोलेरा अस्पताल भनेर चिनिने यो अस्पताललाई २०३४ सालमा सरुवा रोग अस्पताल नामकरण गरियो।

त्यसपछि २०५३ जेठमा टेकु अस्पताल र २०५३ माघदेखि शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल नामकरण भएको अस्पतालको इतिहासमा देख्न सकिन्छ। स्थापनाकालदेखि नै सरुवा रोगको मात्रै उपचार गर्दै  ९ दशकको यात्रामा रहेको टेकु अस्पताल देशकै एक मात्रै सरुवा रोग अस्पताल मात्रै नभएर पुरानो अस्पताल मध्येको अस्पताल पनि हो।

कोरोना महामारीले अस्पतालमा चहलपहल बढ्यो

कोरोना महामारी अघिसम्म टेकु अस्पतालालाई कुकुरले टोकेको, सर्पले टोकेका बिरामीको उपचार गर्ने भनेर चिनिने गरिन्थ्यो तर कोरोना भाइरस (कोभिड–१९) महामारी पछि भने अस्पतालको पहिचान र महत्व छुट्टै भएको मात्रै छैन अस्पतालमा चहलपहल पनि बढ्दै गएको छ।

स्मरण रहोस् ४ वर्ष अघि माघ १० कै  दिन नेपालमा पहिलो पटक कोभिड संक्रमण भेटिँदा पनि टेकु अस्पतालले सफल उपचार गरेको थियो। त्यस यता पटक पटक देखिएको कोभिड लहर मात्रै नभएर काठमाडौं उपत्यकामा फेलिएको डेंगु संक्रमणमा पनि उक्त अस्पतालले उत्कृष्ट उपचार दिँदै आएको छ।

कोभिड महामारी पछि त परीक्षण गराउन तथा खोप लगाउन टेकु अस्पताल नपुग्ने प्राय कमनै छन्। जुन कुरा अस्पतालका निर्देशक डा युवानिधि बसौला पनि स्विकार गर्छन्। उनले भने ‘ कोभिड महामारी अघि सम्म हाम्रो अस्पताललाई झाडापखरा लागेर तथा कुकुरले टोकेर सुई लगाउन जाने अस्पताल भनेर धेरैले बुझ्ने गर्नु हुन्थ्यो तर पछिल्लो समय त टेकु अस्पताले पनि अब्बल विशिष्टिकृत सेवा दिन्छ भनेर सेवा लिन आउनेहरु बढ्दै जानु भएको छ।‘

कोभिड महामारीअघि  टेकु अस्पतालमा सरुवा रोगहरू टाइफाइड, ज्वरो, एचआईभी भएकाहरूलाई २०६० सालदेखि एआरभी औषधि वितरण तथा डट्स क्लिनिक, एचआईभी परामर्श क्लिनिक, कुकुर, बाँदर, चितुवा, भालु, मुसाले टोकेका विरामीको उपचार, सर्पदंशका विरामी, हैजा, झाडापखाला लागेका, डेंगु, कालाजार, टिटानस, स्वाइन फ्लू, जापानी इन्सेफ्लाइटिस लगायतका बिरामीको  उपचार नियमित रूपमा गर्दै आएको थियो। हाल पनि विभिन्न खालका सरुवा रोगका विरामी देशभरबाटै रिफर भएर आउने गर्छन्।

विशिष्टिकृत सेवा र आफै जनशक्ति उत्पादन गर्ने लक्ष्य

समयसँगै टेकु अस्पतालले आफूलाई परिपक्क बनाउँदै विशिष्टिकृत सेवा दिँदै आएको छ। अस्पतालका निर्देशक डा बसौलाका अनुसार हाल अस्पतालले वर्षेनी २२ सय भन्दा एचआइभी संक्रमितलाई सेवा दिँदै आएको छ। तर यो सेवालाई अझै विस्तार गर्ने अस्पतालले लक्ष्य राखेको छ।

१०० वटा जनरल बेड, ३० वटा आइसियू र १० वटा क्याविनसहित दैनिक २ हजार भन्दा बढीलाई उपचार सेवा दिँदै आएको अस्पतालले भविष्यमा ३०० बेड सहितको विशिष्टिकृत सेवा विस्तार राखेको छ।

यस्तै भविष्यमा प्यारामेडिक्स र नर्सिङ जनशक्तिलाई अध्ययन गराउनु का साधै सरुवा रोग सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्ने लक्ष्य राखेको छ। निर्देशक डा बसौलाले भने ‘ सरुवा रोग उपचारमा हाम्रो जुन सफल इतिहास छ त्यस अनुसार अबका दिनमा उपचार सेवा मात्रै होइन यस सम्बन्धी छुट्टै अध्ययन अनुसन्धान केन्द्र पनि हामी बनाउने लक्ष्य लिएका छौँ, जसले सरुवा रोगको उपचारमा ठूलो सहयोग गर्न सक्छ’।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय देखिएको कोभिड महामारी पछि सरुवा रोग अस्पतालको महत्व झनै बढेको भन्दै अस्पतालको सेवालाई अझै फराकिलो विशिष्कृत बनाउनु पर्ने बताएका छन्। मन्त्री बस्नेतले भने ‘अहिले झन् सरुवा रोग उपचार अस्पतालको झन् महत्व बढ्दै गएको छ त्यसैले अस्पतालको सेवालाई झन् विस्तार गर्नु पर्ने अवस्था छ त्यसैले यस तर्फ सबै क्षेत्र लाग्नु पर्ने अवस्था छ मन्त्रालयगत तरिकाले कस्तो सहयोगगर्नु पर्छ त्यसको लागि म तयार छु।’

सरकारले यस अघिनै टेकु अस्पतालाई गर्दै ३०० शैयाको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको छ।स्थापना काल मा टेकु अस्पताल ७० रोपनी क्षेत्रफलको संरचनामा सन्चालन भए पनि हाल अस्पतालसँग जम्म १६ रोपनी क्षेत्रफलमा सेवा दिइरहेको अस्पतालको विवरण रहेको छ।

तर पनि अस्पतालले पछिल्लो समय चिकित्सा विज्ञानमा आएका सिटि क्यान सेवा समेत दिदै आएको छ। यस्तै २४ घण्टा एम्बुलेन्स सेवा, अस्पतालको आफ्नै २४ घण्टा फार्मेसी सेवा सञ्चालनदेखि ऐलो फिबरको सेवासम्म बिस्तार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.