अझै २०० प्रहरी आवश्यक

|

काठमाडौँ : गत पुस २५ गते फिनल्याण्डका नागरिक रिकु एलेक्जेन्डर फर्पिङमा बेवारिसे अवस्थामा फेला परे। प्रहरीले उनलाई उद्धार गरी रिप्पा सिद्धि योग संगठन डल्लु र फर्पिङसँगको समन्वयमा संगठनको परिसरमा रहेको गुम्बामा राखे।

मानसिक अवस्था ठिक नभएका रिकु २९ गते त्यहाँबाट भागे। पुन: प्रहरीले उनलाई ठमेलबाट उद्धार गर्‍यो। प्रहरीले फिनल्याण्ड दुतावाससँग समन्वय गरी त्यही दिन एयर इण्डियाको उडानमार्फत आफ्नो देश पठायो। यो वर्षमात्र विभिन्न कारणले अलपत्र परेका ८ देशका १३ विदेशी नागरिकलाई पर्यटक प्रहरीले स्वदेश फर्काएको छ।

यस्ता खालका उद्धार तथा नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीको छुट्टै घुम्ति पर्यटक प्रहरी स्थापना छ। यसको मुख्य कार्यालय भने भृकुटीमण्डपमा छ।

उक्त कार्यालयले विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकहरूलाई उद्धार गरी सम्बन्धित निकाय, दूतावास वा उनीहरूको आफन्तसँग सम्पर्क गराउने गरेको छ।

पर्यटक प्नेरहरीले पालभित्र अलपत्र परेका विदेशी नागरिकलाई उद्धार गरेर सम्बन्धित निकायमा पुर्‍याउन तथा अवैधानिक रूपमा नेपाल प्रवेश गरेका वा बसोबास गरेका नागरिकलाई निगरानी गर्ने, बन्द, हडतालको समयमा पर्यटकलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्ने गर्छ।

कति छन् देशभर पर्यटक प्रहरी?

काठमाडौँभित्र मात्र ५ स्थानमा पर्यटक प्रहरीको कार्यालय छ भने काठमाडौँ बाहिर ११ वटा कार्यालय छन् तर अस्थायी पोष्टका रुपमा उपत्यकाभित्र ५ र उपत्यका बाहिर ८ वटा छन्।

उपत्यकाका पर्यटन क्षेत्रको १० स्थानमा तथा उपत्यकाबाहिर १९ स्थानमा प्रहरी खटाइएका छन्। डिएसपी नरेन्द्र कुँवरका अनुसार पर्यटक प्रहरी इकाइ, भृकुटीमण्डपमा ४१, पशुपतिमा १०, स्वयम्भूमा ८, बौद्धमा ९, भक्तपुरमा ६ जना प्रहरी खटिएका छन्।

यस्तै, उपत्यकाबाहिर पोखरामा २४, काँकडभिट्टामा ५, लुक्लामा ५ जना कार्यरत छन्। मधेस प्रदेशको जानकी मन्दिर र वीरगञ्ज‍मा ७/७ जना कार्यरत छन्। सौराहामा १०, रसुवामा ४, लुम्बिनीमा ७, मनाङमा ७, मुस्ताङमा ७ र घोडेपानीमा २ जना पर्यटक प्रहरी खटाइएको छ।

पर्यटकको सहजताका लागि प्रहरीले १३ स्थानमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेर सेवा दिएको जनाएको छ।

जसमा नगरकोटमा ५, पाटनमा ८, एयरपोर्टमा १३, वसन्तपुरमा ८ र ठमेलमा १४ जना गरी ४८ जना रहेका छन् भने उपत्यकाबाहिर चितवनको पटिहानीमा ३, बन्दीपुरमा ३, रुपन्देहीको बेलहियामा ७, कास्कीको धम्पुसमा २, वीरेठाँटीमा २, घान्द्रुकमा १, मनाङका धारापानीमा २ र सोलुको नाम्चेमा २ गरी २२ जना कार्यरत छन्।

सरकारले कर्णाली प्रदेश र सुदरपश्चिम प्रदेशमा भने पर्यटक प्रहरीको व्यवस्था गरेको छैन।

विदेशी नागरिकले दिने सकस

पर्यटकको सुरक्षा दिने तथा पर्यटकीयस्थलमा विदेशी पर्यटकलाई सहजीकरण गर्ने, उनीहरूमाथि हुने आपराधिक क्रियाकलाप रोक्ने, पर्यटकीय क्षेत्रको सुरक्षा गर्ने, भाषाको समन्वय गर्ने, पर्यटकको उजुरीलाई छानबिन तथा आवश्यक कारबाही गर्ने काम यो विभागले गर्ने डिएसपी कुँवरले बताए। 

पर्यटन सुरक्षामार्फत पर्यटन क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने र आर्थिक अभिवृद्धिमा सहयोग पुर्‍याउने हेतु पर्यटक प्रहरीको अवधारणा आएको हो।

सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले पुस १४ गते सार्वजनिक गरेको तथ्यांकअनुसार १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन्।

योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको थियो। सरकारले चालू आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो।

कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो। पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ। 

सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए। सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनर्उत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।

उनले भने, 'यस वर्ष पर्यटक आगमन उत्साहवर्द्धक छ। आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ।'

नेपालमा दश लाख विदेशी ल्याउन सफल भए पनि पर्यटक प्रहरीको संख्या भने न्यून रहेको छ।

त्यसमाथि पर्यटकहरूले दिने थप हैरानी उस्तै छ। त्यसमाथि अलपत्र पर्ने पर्यटकका लागि राख्ने संस्था पनि नेपालमा नभएकाले यसतर्फ मन्त्रालयले सोच्नुपर्ने एक प्रहरीले थाहाखबरसँग भने। 

उनले भने, ‘हामी कहाँ विदेशी भन्ने वितिक्कै भिसा दिने चलन छ। सीमित स्रोत छ। अनि अनेक झमेलाले गर्दा प्रहरीको दैनिक काम कारबाहीमा पनि असर परिरहेको हुन्छ।'

कतिपय पर्यटकहरू भने गलत मनसायले पनि कार्यालयमा उजुरी लिएर आउने गरेको ती प्रहरीले जानकारी दिए। 

ति प्रहरीका अनुसार पर्यटकले आफ्नो कमजोरीलाई पनि देशको प्रणालीकमाथि दोष देखाउने गरेका छन्। सामानको बीमा क्लेम गर्नका लागि सामान चोरी भएको भन्दै निवेदन दिन आउने गरेका छन्। 

‘आफ्नो लापरबाहीमा पनि अर्कालाई दोष दिन्छन्। सामान हराउँछन्। चोरी भयो भन्छन्। यो गलत प्रवृत्ति देखिएको छ। चोरी हुनु र हराउनु त एउटै कुरा होइन नी’, ती प्रहरी अधिकृत भन्छन्, ‘नेपाल आउने विदेशी पर्यटकहरूको मानसिक अवस्थाबारे जानकारी लिनुपर्ने अवस्था आइसकेको छ। विदेशी भन्ने वितिक्कै भिसा दिनु अघि उनीहरूको मानसिक अवस्थालाई पनि अध्ययन हुन जरूरी छ। जसले हाम्रो काम कारबाहीमा सहजता प्रदान हुने थियो।'

आपराधिक गतिविधिमा विदेशी पर्यटक

प्रहरीले यो भिसा म्याद सकिएका र गैह्रकानुनीरुपमा देशका प्रवेश गरेका ४ जना अध्यागमन विभागलाई बुझाएको छ। यसअघि २०७९ मा ३२ जनालाई बुझाइएको थियो। यस्तै २०७८ सालमा २४ जनालाई अध्यागमनलाई बुझाएको थियो।

पर्यटन प्रहरीका अनुसार नेपाल आएका पर्यटकहरू अपराधिक गतिविधिमा पनि संग्लन हुने गरेका छन्। 

पर्यटकका रुपमा आएका उनीहरूले विभिन्न अपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार २०७७ सालमा ३०,  ७८ मा १०८ र ७९ मा १८३ जनालाई पक्राउ गरी नजिकको प्रहरी इकाइमा बुझाएको छ।

प्रहरीका हरेक विभागसँग समन्वय हुन्छ : नेपाल प्रहरी

देशभर करिब २२९ जना पर्यटक प्रहरी छन्। त्यसमाथि कर्णाली र सुदूरपश्चिममा दरबन्दीसमेत छैन। कर्णाली र सुदूरपश्चिमलाई किन नजरअन्दाज गरेको? भन्ने जवाफमा नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले यी दुई प्रदेशका लागि पर्यटक प्रहरीबारे मन्त्रालयमा मागपत्र पुगेको जानकारी दिए।

थाहाखबरसँग कुरा गर्दै उनले भने, 'राराताल, से-फोक्सुण्डो, काँक्रेविहार, बुलबुले ताल र पञ्चकोशीका लागि पर्यटक प्रहरी आवश्यक रहेको भन्दै त्यसका लागि विभागमार्फत पत्र पठाइएको छ।' 

उनले नेपाल प्रहरीका अन्य विभागसँग पर्यटक प्रहरीको समन्वय हुने गरेको जानकारी दिए।

थप २ सय पर्यटक प्रहरी आपूर्तिका लागि प्रक्रिया अगाडि बढेको छ : पर्यटन विभाग

नेपालमा पर्यटकीय दृष्टीले नयाँ-नयाँ स्थानहरू थपिएका छन्। त्यति मात्र होइन पोखरा तथा लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थलहरू निर्माण भएका छन्। सरकारले आँकलन गरेको १० लाख पर्यटक भित्रिएका छन्। यो संख्या वृद्धि हुने पक्कापक्की छ।

नेपाल आएका पर्यटकलाई समन्वय गर्ने पर्यटक प्रहरीको संख्या कम भएको स्वीकार्छन् पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढा। उनले अहिले भएको दरबन्दीले मात्र प्रहरीले काम गर्न नसक्ने बताए।

कर्णाली र सुदूरपश्चिमलाई समेटेर हामीले यसबारेमा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा पत्र पठाएका छौँ’, उनले भने, ‘अब मन्त्रालय कसरी अगाडि बढ्छ, हेरौँ।'

हालको प्रहरी संख्या कमी रहेको भन्दै उनले कम्तिमा २ सय थप पर्यटक प्रहरी आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.