|

काठमाडौं : चिकित्सा विज्ञानको धेरै नै जटिल मानिने विधा हो, अंग प्रत्यारोपण। यसमा पनि कलेजो प्रत्यारोपण सबैभन्दा जटिल मानिन्छ। यही जटिल प्रकारको विधामा नेपालमा ठूला सरकारी स्वास्थ्य संस्थाले सफलता हात पारेका छन्।

नेपालमा अंग प्रत्यारोपणसम्बन्धी स्वास्थ्य सेवा सुरु भएको लामो समय भएको छैन। नेपालमा पहिलोपटक २०७३ साल मंसिरमा भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो।

त्यसपछि नेपालकै ठूलो शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालको प्रत्यारोपण टिमले त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १७ गते कलेजो प्रत्यारोपण गर्‍यो। यही टिमले २०७७ फागुन २९ मा त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलोपटक ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण भयो।

प्रत्यारोपणमा आत्मनिर्भर बन्दै नेपाल

मिर्गौला, कलेजो लगयात अंगमा समस्या आई काम नै नलाग्ने भएपछि एक स्वस्थ व्यक्तिको अंग बिरामी व्यक्तिको शरीरमा लगेर प्रत्यारोपण गर्दा बिरामीले नयाँ जीवन पाउँछन्।

चिकित्सा स्वास्थ्य विधामा अंग प्रत्यारोपणमा कलेजो प्रत्यारोपण अंग प्रत्यारोपणमा सबैभन्दा जटिल स्वास्थ्य सेवा मानिन्छ। हालसम्म नेपालमा भएका करिब दुई दर्जन कलेजो प्रत्यारोपण सेवा विदेशी चिकित्सको प्रत्यक्ष सहयोगमा नेपाली चिकित्सकले आफ्नै स्वास्थ्य संस्थामा गर्दै आएका थिए। तर पछिल्लो समय त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक विदेशी स्वास्थ्य संस्थाका चिकित्सकको प्रत्यक्ष सहयोगविनै सफल कलेजो प्रत्यारोपण गरिएको छ।

त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यचिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा कलेजो प्रत्यारोपण सम्पन्न गरेको हो।

यो टिमले गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गर्‍यो। ती पुरुषलाई श्रीमती (४० वर्षीया) ले कलेजो दिएकी हुन्। यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकले सघाउँदै आएका थिए। तर, नेपाली चिकित्सककै अगुवाइमा नेपाली चिकित्सक टिमले विदेशी चिकित्सकको सहयोगविना गरेको यो पहिलो कलेजो प्रत्यारोपण हो।

‘यसअघिका प्रत्यारोपणमा हामीले विदेशका चिकित्सकको सहयोग लिँदै आएका थियौँ। तर यो पटक हामीले कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पहिलो पाइला चालेका छौँ’, यो प्रत्यारोपणमा नेतृत्व गरेका प्राडा भण्डारीले भने, ‘नेपाली चिकित्सकको टिमले  गरेको यो पहिलो कलेजो प्रत्यारोपण हो। सफल भयो हामी एकदमै खुशी छौँ।’

कलेजो दान गरेकी ४० वर्षीय महिला १० दिनमा डिस्चार्ज भएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई भने २० दिनमा बिहीबार डिस्चार्ज गर्ने डाक्टर  भण्डारीले जानकारी दिए।

यसअघि त्रिवि शिक्षण अस्पतालमा १० वटा कलेजो प्रत्यारोपण सफल भइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत सात चिकित्सकले अंग प्रत्यारोपणको अनुमति पाएका छन्।

यस्तै त्रिवि शिक्षण अस्पतालमा जस्तै नियमित रुपमा कलेजो प्रत्यारोपण गर्दै आएको भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्रमा हाल सम्म १७ जनाको कलेजो प्रत्यारोपण भएको छ। पछिल्लोपटक केन्द्रले तीन वर्षीय बालकको कलेजो प्रत्यारोपण सफल उपचार गरेको छ। केन्द्रका निर्देशक समेत रहेका अंग प्रत्यारोपणविज्ञ डा. पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा वीरगञ्ज पर्साका ती बालकको कलेजो प्रत्यारोपण भएको हो।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठको नेतृत्वमा केन्द्रले २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाका चिकित्सकको प्राविधिक सहयोगमा देशमै पहिलोपटक कलेजो प्रत्यारोपण शुरु गरेको थियो।

त्यसपछि भारतको म्याक्स अस्पतालकका विशेषज्ञ चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण हुँदै आएको थियो। प्राविधिक रूपमा केन्द्रका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अब्बल भए पनि कलेजो प्रत्यारोपण जटिल प्रकारको विधा भएकाले म्याक्स अस्पतालका चिकित्सकको सहयोग लिने गरेको केन्द्रले जनाएको छ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मिर्गौलामा मात्रै नभई कलेजो प्रत्यारोपणमा पनि आत्मनिर्भर हुन थालेको बताए। ‘प्राविधिक रूपमा हामी सक्षम छौँ हामीले सन् २०१७ मै विदेशी चिकित्सहरुको सहयोग विनै कलेजो प्रत्यारोपण गरी सकेका छौँ , तर बिरामीकै सुरुक्षाको लागि बेला बेलामा म्याक्सका चिकित्सको सहयोग लिने गरेका हौँ। अब विस्तारै यो क्रम पनि हट्छ’, डा श्रेष्ठले भने।

उनका अनुसार सुरुका केही वर्ष वार्षिक एक/दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकामा अहिले केन्द्रले वर्षमै १० जनाको प्रत्यारोपणमा सफलता हासिल गर्न सफल भएको छ। आगामी आइतबार र सोमबार पनि केन्द्रमा कलेजो प्रत्यारोपण गर्ने तालिका रहेको डा श्रेष्ठले बताए।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट शुरु भएको कलेजो प्रत्यारोपण सेवाको सुरुवात त्रिवि शिक्षण अस्पताल, सीएमसी अस्पताल चितवन, र किष्ट मेडिकल कलेज, ललितपुर गरी चार स्वास्थ्य संस्थाले सफल कलेजो प्रत्यारोपण सेवा प्रदान गरी सकेका छन्।

हालसम्म नेपालमा सबैभन्दा बढी मानव अंग प्रत्यारोपण केन्द्रले १८, त्रिवि शिक्षण अस्पतालले ११, सीएमसी चितवनले ६  र किष्टले तीन गरी देशभरमा ३८ वटा कलेजो प्रत्यारोपण गरेका छन्।

मिर्गौला प्रत्यारोपणमा भने त्रिवि शिक्षा सहित प्रत्यारोपण केन्द्रका चिकित्सहरुले विदेशी चिकित्सकको सहयोगविनै मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्दै आएका छन्। मिर्गौला प्रत्यारोपण नेपाल यस अघिनै आत्मनिर्भर भइसकेको छ।

पहिलोपटक २०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण शुरु गरेको केन्द्रले ११ वर्षको अवधिमा हालसम्म करिब एक हजार २०० जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ। त्रिवि शिक्षण अस्पतालमा हप्तामा तीन दिन मिर्गौला प्रत्यारोपण हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.