अख्तियारमा उजुरी

|

इलाम : कृषि क्षेत्रको प्रर्वद्धनका लागि नेपाल सरकारले गत आर्थिक वर्ष २०७९/८० मा कृषि अनुदानका ३१ अर्ब ८० करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो। 

हरेक वर्ष ग्रामिण क्षेत्रमा कृषकलाई आकर्षित गर्नका लागि सरकारले अनुदान दिँदै आएको छ। कोशी प्रदेशमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषिमा आधारित अनुदान कार्यक्रमअन्तर्गत चालु आवका लागि १६ करोड ७७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ तर अनुदानग्राहीले अनुदानको रकम दुरुपयोग गर्ने गरेको तथ्य बाहिर आएको छ। 

इलामको सूर्योदय नगरपालिका–८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन सहकारीले चिया प्रशोधन र उद्योग स्तरोन्नतिका लागि प्रदेश सरकारबाट अनुदान लिएको ३ वर्षमै उद्योग र जग्गा बिक्री गरेको तथ्य खुलेको छ। 

सहकारीले आर्थिक वर्ष ०७५/७६ मा ३१ लाख रुपैयाँ अनुदान लिएको थियो तर अहिले सहकारीमार्फत सञ्चालित उद्योग र जग्गा नै व्यक्तिलाई बिक्री गरिएको छ । मन्त्रालयसँग २०७६ असार १५ गते चिया प्रर्वद्धनका लागि भनेर सहकारीले सम्झौता गरेको थियो। प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको उद्योग आर्थिक रूपमा संकटग्रस्त भएको भन्दै ख्यामराज प्रधानलाई प्रशोधन केन्द्र बिक्री गरिएको छ।

सरकारको अनुदानमा सञ्चालित केन्द्र हाल ख्यामराजले चलाउँदै आएका छन्। सहकारीले घाटामा गएको भन्दै २०७९ माघ १६ गते १२औँ साधारणसभाबाट कन्याम–१ ख ४७८ कित्ता नम्बरको २ रोपनी ६ आना ३ पैसा १ दाम र कन्याम–१ ख ४७९ कित्ता नम्बरको १ रोपनी ८ आना ३ दामको जग्गा तथा कारखाना बिक्री गर्ने निर्णय गरेको थियो।

सहकारीले ३० लाख र कारखाना ७९ लाख २० हजार गरी १ करोड ९ लाख २० हजारमा प्रधानलाई फागुन १६ गते राजीनामा पास गरेको देखिन्छ। प्रधानले अहिले जग्गा र कारखाना नेशनल टि-प्रोड्युसर्सको नाममा नामसारीसमेत गरिसकेका छन्।
 
सहकारीले प्रदेश सरकारबाट मात्र अनुदान लिएको छैन्। केन्द्रीय चिया सहकारी संघबाट २०७८ माघ २० गते ८ लाख ५५ हजार अनुदानसमेत लिएको छ। त्यसैगरी राष्ट्रिय सहकारी बैंकबाट ८ प्रतिशत ब्याजदरमा गरिबी निवारण कर्जा शीर्षकमा २०७७ माघ २९ गते १ करोड ऋण लिएको छ। 

सहकारीले चिया उत्पादनमा घाटा भएको भन्दै उद्योग र जग्गा बिक्री गर्नु परेको कारण देखाएको छ। सहकारीले उद्योग र जग्गा बिक्रीबाट प्राप्त नगदले सहकारी बैंकको ऋण तिरेको सहकारीका सदस्यसमेत रहेका  सूर्योदय नगरपालिका–८ का वडा सदस्य पदम गिरीले बताए। 

‘लेखनाथ खतिवडा हुँदा अनुदान लिएको हो। बीचमा सहकारी बैंकबाट ऋणसमेत लिएका थियौँ। विभिन्न कारणले घाटामा गएपछि ऋण तिर्नकै लागि उद्योग नै बिक्री गर्नुपरेको छ’, उनले भने, ‘ऋण तिरेर केही पैसा बाँकी रहेको जानकारी पाएको छु। यकिन कति हो भन्ने बारेमा चाहिँ थाहा भएन्।’ 
गिरीका अनुसार अनुदानको रकमले उद्योगको भवन निर्माण र केही मेसिनरी खरिद गरिएको छ।

नगरपालिका सहकारी शाखाले तयार गरेको प्रतिवेदनमा आर्थिक वर्ष ०७७/७८ मा ७ लाख ४२ हजार ११४ रुपैयाँ र ०७८/७९ मा ६३ लाख ९८ हजार ५०९ रुपैयाँ ६ पैसा घाटा भएको सहकारीले जनाएको लेखिएको छ।
 
अनुदान दुरुपयोग गरेको भन्दै अहिले सहकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सूर्योदय नगरपालिका सहकारी शाखाले समेत अनुदान दुरुपयोग भएको फेला पारेर सहकारीको कागजात नियन्त्रणमा लिइ २०८० साउन १४ गते नगरपालिकामा पहिलो चरण राय पेश गरेको शाखा प्रमुख मदन गुरुङले बताए।

‘सहकारीले अनुदान दुरुपयोग गरेको जानकारीपछि कागजात झिकाएर अनुसन्धान गर्दा पुष्टि भएपछि नगरपालिका समक्ष पहिलो चरणमा राय पेश गरिसकेका छौँ। दोस्रो चरणको राय पेश गर्ने तयारी छ’, उनले भने ‘घाटा भएको भए थप आर्थिक सहयोग खोज्नुपर्नेमा अनुदान लिएर सरकारी बजेट दुरुपयोग भएको देखिएकाले कारबाही प्रक्रिया अघि बढाएका हौँ। अहिले अख्तियारले समेत छानबिन गरिरहेको छ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.