|

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा उनले यस्तो दाबी गरेका हुन्। उनले विगतमा विदेशी लगानीकर्ताहरु नेपाल आफैँ सम्पर्कमा जाँदासमेत उदासिन हुने गरेको भए पनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताए।

उनले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए। उनले वैशाख १६ रु १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गरे। अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताए। उनले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने बताए। उनले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वर्ल्ड बैंकका प्रमुखको उपस्थिति हुने बताए।

लगानी सम्मेलनलाई सफल बनाउनसके सो सम्मेलनमा फाइदा हुने बताए। उनले सुरुवातमा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताए। लगानी सम्मेलनले नेपाली लगानीकर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको बताए।

उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालमा लगानी गर्नुपर्छ भनि स्वभाविक जिज्ञासा रहेको छ । उनीहरुले नै सोधिरहेका छन् । सामान्यतया यस्तो हुँदैन । हामी सम्पर्कमा जाँदा पनि उहाँहरु उदासिन देखिनुहुन्थ्यो । अहिले एउटा विशिष्ट किसिमको वातावरण बनिरहेको अवस्थामा हामीले यसलाई उपयोग गर्नुपर्छ । अहिलेसम्म नेपालमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन त्यो हुँदैछ ।  नेपाली लगानी कर्तालाई पनि उत्साहित गर्न जरुरी छ।’

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर अघि बढाइ संसदबाट पास गर्नुपर्ने बताए।

उनले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकका रुपमा अघि बढाउनसके लगानी सम्मेलनमा सहजता आउने बताए।

बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका काम कारबाहीको बारेमा जानकारी गराइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.