|

काठमाडौं: मानव शरीरको बाहिरी आवरणमा छालाले ढाकिएको हुन्छ। स्वस्थ छाला तथा यसको सुन्दरता मानव शरीरको स्वास्थ्यसँग समेत जोडिएको हुन्छ।

अझै नरम र चम्किलो छाला त शरीरको सुन्दरताको प्रतीक पनि मानिन्छ।

तर, विभिन्न कारणले हाम्रो छालामा सामान्यदेखि जटिल प्रकारका स्वास्थ्य समस्या निम्तने गर्छन्। यस्ता समस्यामध्ये छालामा देखिने एउटा जटिल समस्या हो 'दुबी’।

मानव शरीरको बाहिरी भाग (छाला)मा देखिने सेतो वा खैरो रङको दाग आउने समस्यालाई दुबी भनिन्छ। छालाको रङ बनाउने मेलानोसाइट्स कोषको नष्ट भएपछि दुबी हुन्छ।

नेपालमा दुबीको समस्याले कति जनसंख्यालाई प्रभावित बनाएको छ भन्ने यकिन सरकारी तथ्यांक नभए पनि छाला तथा छालाजन्य स्वास्थ्य समस्याको बारेमा लामो समयसम्म उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेपालमा कुल जनसंख्याको ५ प्रतिशतलाई सामान्यदेखि जटिल प्रकारको दुबीको समस्या रहेको छ।

रिष्ठ छालारोग विशेषज्ञ डा धर्मेन्द्र कर्णका अनुसार हाल नेपालमा ५ प्रतिशत जनसंख्यामा सामान्यदेखि जटिल प्रकारको दुबीको समस्या छ। ‘हाम्रोमा ५ प्रतिशत जनसंख्यामा दुबीको समस्या भएको देखिन्छ, पछिल्लो समय त यसको उपचार गर्ने संख्या पनि बढ्दो छ’ डा कर्णले भने।

के हो दुबी?

मानव शरीरको बाहिरी भाग (छाला)मा देखिने सेतो वा खैरो रङको दाग आउने समस्यालाई दुबी भनिन्छ। छालाको रङ्ग बनाउने मेलानोसाइट्स कोषको नष्ट भएपछि दुबी हुन्छ। रोगप्रतिरोधात्मक क्षमताको कमी, वंशाणुगत, मेलनाइट्स कमीले  दुबीको समस्या निम्ताउने गर्छ।

सरुवा रोग होइन दुबी

दुबी सरुवा रोग नभए पनि शरीरको एक भागबाट देखिन सुरु भएको यो समस्या शरीरको अन्य भागमा पनि देखिन थाल्छ।

जस्तै हालको औँलाहरुबाट सुरु भएको यो समस्या हातखुट्टा, ओठ, टाउको लगायतका अन्य ठाउँहरूमा पनि देखिन थाल्छ। दुबी कुनै रोग होइन यो छालाको समस्या हो यसले शरीरको भित्रि अंगलाई कुनै असर गर्दैन। तर समयमै उपचार नगरे छालाको पूरै भागमा फैलने र लामो समयसम्म राख्दा उपचार पनि जटिल हुने अर्का छाला रोग विशेषज्ञ डा इशा पौडेलको भनाइ छ।

'दुबी कुनै रोग होइन यो छालाको समस्या हो यसले शरीरको भित्रि अंगलाई कुनै असर गर्दैन,तर शरीरमा देखिने सेतो दाग दुबी नै हो होइन भनेर परीक्षण गरेर ढुक्क भने हुनुपर्छ कहिलेकाहीँ छालामा देखिने सेतो दाग छालाको क्यान्सरको सुरुवाती लक्षण पनि हुनसक्छ,तर दुबी नै हो भने यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन, धेरैमा छोएर दुबी सर्छ भन्ने भ्रम छ त्यो पनि गलत हो’ उनले भनिन्।

दुबीको उपचार सम्भव छ?

छालामा सेतो र खैरो गरी दुई प्रकारका हुन्छन्। प्राय फंगल इन्फेक्सनको कारणले खैरो रङको दुबी छालामा देखिने गर्छ। यो खालको दुबी समयमै विज्ञ चिकित्सककोमा पुगेर उपचार गरेमा उपचार सुरु गरेको एक महिनामा सन्चो हुँदै जान्छ।

डा पौडेलका अनुसार हातखुट्टाको दुबी उपचारपछि पनि निको नहुने सम्भावना बढी हुन्छ । शरीरका अन्य भागमा आएको दुबीभन्दा हातखुट्टामा आएको सेतो दुबी निको बनाउन गाह्रो हुन्छ।

समयमै उपचार गरिएन भने शरीरका विभिन्न भागमा फैलिने सम्भावना हुन्छ। यो समस्या सबै उमेर समूहका मानिसलाई देखिए पनि २० देखि ५० वर्षको उमेर समूहका मानिसमा धेरै देखिने गर्छ।

दुबीको उपचारमा ‘फोटोथेरापी’को माध्यमबाट पनि गर्न सकिन्छ। यो भनेको दुबी भएको स्थानमा मेसिनबाट सेक्ने हो जसलाई ‘फोटोथेरापी’ भनिन्छ। डा कर्णले भने, ‘दुबीको प्रभावकारी उपचार हो फोटोथेरापी अहिले मेरोमा पनि यस माध्यमबाट उपचार गराउनेहरु धेरै हुनुन्छ’।

यस्तै, दुबीको उपचार खाने औषधी तथा लगाउने औषधीको माध्यमबाट पनि गर्न सकिन्छ। तर चिकित्सकको प्रेस्कृप्सनबाट मात्रै दुबीको उपचार सुरु गर्नु पर्ने डा पौडेलको भनाइ छ।

उनले भनिन्, ‘दुबीको उपचार धेरै माध्यमबाट गर्न सकिन्छ औषधी लगाउने मलम, खाने औषधी हुन्छन्। कुनै मलम लगाएर घाममा देखाउनुपर्ने हुन्छ। खाने र लगाउने औषधीले निको नभएमा फोटो थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ। सबै मेडिकल उपचारबाट भएन भने भिटिलिगो शल्यक्रिया आवश्यक पर्न पनि सक्छ। तर कस्तो खालको उपचार गर्ने हो भन्ने विषय भने बिरामीको कस्तो खालको दुबी छ र कत्तिको फैलिएको छ भन्ने विषयमा भर पर्छ’।

भिटिलिगो शल्यक्रिया भनेको छाला दुबी भएको ठाउँमा टाँस्ने, मेलानोसाइट्स प्रत्यारोपण गर्नु हो।

तर, दुबीको समस्यामा कुनै पनि प्रकारको खानेकुराहरु भने बार्नु पर्दैन। तर, सकभर दुबी भएमा मानिस धेरैबेर घाममा नबस्ने, घाउ हुनेगरी कन्याउन भने हुँदैन।

यस्तै, दुबी भएका मानिसहरूले सकभर प्लाष्टिकबाट बनेको टाइट बेल्ट, जुत्ता, तथा टाइट कपडा नलगाउन डाक्टरहरूको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.