|
सांकेतिक तस्विर

वीरगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनामा एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। 

ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड दुई लाख ५१ हजार राजस्व संकलन गरेको हो। यो अवधिमा १० हजार ८२० सवारीमाथि कारबाही गरी यो परिमाणको राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए। 

गत आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी तीन करोड ४२ लाख ६५ हजार राजस्व संकलन गरेको थियो। 

यो अघिल्लो आव २०७८/०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। अघिल्लो आव २०७८/७९ मा कार्यालयले  दुई करोड ८५ लाख २१ हजार ५०० राजस्व संकलन गरेको थियो। ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ। 

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.