|

ताप्लेजुङ : सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ। बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका युवा पुस्तासम्म छन्।

हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो। सूचनाको स्रोत पनि यी नै हुन्थ्यो तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ।

प्रायः गाउँगाउँ डिजिटल प्रविधिमैत्री बन्दै जाने क्रम बढ्दो छ। इन्टरनेटको पहुँच गाउँमा विस्तार हुँदै गएको छ। फोरजी सेवासमेत विस्तार हुँदै गएको छ। सहरदेखि गाउँगाउँ डिजिटल बन्दै गएको छ। दुर्गम गाउँका सूचना एक मिनेटमै विश्वभर पुग्न सक्ने भएको छ।

तर अहिले पनि यस्ता गाउँ पनि छन् जुन कुनै पनि अत्याधुनिक सञ्चारमाध्यमको पहुँचभन्दा बाहिर छन्। जीर्ण र  काठले छाएको घर निकै पुरानोजस्तो देखिन्छ। थोत्रो घरको  छानोमा एउटा अग्लो खम्बा गाडिएको छ तर त्यो  रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो।

यो दृश्य ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्वी नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को दुर्गम बस्ती याङमाको हो। याङमा समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको छ। यो बस्ती ताप्लेजुङको उच्च स्थानमा रहेका बस्ती हो।

याङमा गाउँमा ११ घरपरिवार बसोबास गर्दै आएका छन्। यहाँका समुदायको समय प्रायः गोठमै समय बित्छ। त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग न मोबाइल छ न त टेलिभिजन नै।

स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन्। घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र रेडियो नेपाल र एक दुईटा रेडियोको फ्रिक्वेन्सी टिपेर भने सुन्न सक्ने दोर्जे शेर्पाले बताए।

रेडियोबाटै देश विदेशमा के भइरहेको छ भन्ने खबर प्राप्त गर्ने गरेको उनले सुनाए। शेर्पाले भने, ‘अगाडि त कोशी एफएम पनि अलिअलि टिप्थ्यो तर हिजो आज त्यो पनि टिप्न छोड्यो।’

याङ क्षेत्रमा एक दुईवटा रेडियोका फ्रिक्वेन्सी सुन्नेबाहेक अन्य सञ्चारमाध्यमका पहुँच पुग्न सकेको छैन। रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताए।

सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङमाका बासिन्दा बताउँछन्। उनीहरूका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एक दिन पैदल हिँडेर ओलाङ्चुङगोला पुग्नुपर्छ।

त्यहाँ भने नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो। मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो।

वर्षायाममा भने याङमा–ओलाङचुङगोला आवतजावत गर्न सक्ने अवस्था नभएको याङमावासी बताउँछन्। याङमा खोलामा हिउँदमा काठेपुल हालेर  आवतजावत गरिन्छ भने वर्षामा पुल बगाउने भएकाले ओलाङचुङगोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताए।

उनका अनुसार याङमा गाउँदेखि एक/डेढघण्टा दूरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क भए पनि सहज रुपले कुरा गर्न पाइँदैन। मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्र र तोक्पेगाला क्षेत्रका बस्तीसमेत मोबाइलको पहुँचभन्दा बाहिर छन्।

यस क्षेत्रका केही ठाउँमा भने रेडियो सुन्न सकिने स्थानीय तेन्जिङनुपू शेर्पाले बताए। यस क्षेत्रमा बसोबास गर्ने समुदायको पुर्ख्यौली पेशा पशुपालन हो।

याक गोठ, बस्ती र गोठालाको साथी नै रेडियो भएको शेर्पाले बताए। प्रायः याक गोठमै समय बिताउँछन्।

गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नुपर्ने हुन्छ ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोलाका याकपालक राजकुमार सावाले बताए।

तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङमाका बासिन्दालाई सञ्चार सुविधा पुर्‍याउनका लागि आवश्यक पहल गर्नुपर्ने उनीहरूको माग छ।

याङमामा मोबाइल टावर राख्न पहल भइरहेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। लिम्बूले ‘म आफैँ नेपाल टेलिकमको मुख्य कार्यालयमा पुगेर याङमा गाउँमा टावर स्थापना गर्न आग्रहसहित पत्र बुझाएको छु। ६ महिनामा टावर राख्ने प्रक्रिया सुरु हुने भनेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.