|

काठमाडौँ : नेपाली कांग्रेससँगको गठबन्धन फलदायी नभएको निष्कर्षमा पुगेको नेकपा (माओवादी केन्द्र)ले संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकबाट नेकपा एमालेसँगको सहकार्यको ढोका खोल्न चाहेको देखिएको छ। आफ्नै नेतृत्वको सरकार हुँदा संक्रमणकालीन न्यायको काम टुंग्याउने अठोट लिएको माओवादीले सहकार्यको ढोका खुल्ने गरी टिआरसीमा एमालेको साथ खोजेको हो।

सहकार्यको वातावरण बनोस् भनेरै आफूहरूले टिआरसीमा एमालेको सहयोग अपेक्षा गरेको माओवादीका एक पदाधिकारीले बताए। ‘खासगरी संक्रमणकालीन न्याय माओवादीको मुख्य प्राथमिकताको विषय हो’, थाहाखबरसँग उनले भने, ‘यसमा मिलेर जान सकौँ र यसैबाट सहकार्यको ठाउँ पनि बनोस् भन्ने हाम्रो हो।’

यसबारे दुवै पक्षका नेताहरूबीच सघन रूपमै छलफल हुने गरेको थियो। पार्टीको विधान सम्मेलनको तयारीयता भने यसबारे खासै छलफल हुन नपाएको माओवादीका ती पदाधिकारीले बताए। ‘पहिलाको जति सघन छलफल छैन’, उनले भने, ‘हामी विधान अधिवेशनतिर लाग्यौँ। अब यो सकिएपछि फेरि छलफलमा बस्छौँ।’    

माओवादी केन्द्र कांग्रेससँगको गठबन्धन फलदायी नभएको निष्कर्षमा पुगिसकेको छ। यो निष्कर्ष प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कमिटी बैठकमा सोमबार (माघ २९ गते) सुनाएका हुन्। 

‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले एउटा आवश्यकता हो तर हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, उनको निष्कर्ष थियो। उनले अर्को गठबन्धनको आधार भने तयार भइनसकेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रयास भइरहेको भने सङ्केत गरेका छन्। मंगलबारदेखि शुरु भएको पार्टीको विधान सम्मेलनमा उनले अझ एक कदम अगाडि बढेर भने, ‘हामीले एकातिर समाजवादी मोर्चा बनाएका छौँ। अर्कोतिर समान विचार भएको पार्टी एक हुने कोसिस पनि गरिरहेका छौँ।’

कांग्रेससँगको सहकार्यप्रति माओवादीको असन्तुष्टि नयाँ भने होइन। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले इमान्दारीका साथ आफ्नो उम्मेदवारलाई भोट नहालेको भन्दै गठबन्धन तोड्ने चेतावनी अध्यक्ष प्रचण्डले दिएका थिए। 

कांग्रेसको थमथम्याइपछि आमनिर्वाचनमा पनि वाम-लोकतान्त्रिक गठबन्धन सँगै चुनावमा होमिए। नयाँ सरकार निर्माणका क्रममा पहिला प्रचण्डलाई प्रधानमन्त्री सुम्पन कांग्रेसले आनाकानी गरेपछि १० पुसमा गठबन्धन तोडियो तर तीन महिना नबित्दै फेरि जोडियो।

त्यसयता सँगै गठबन्धनमा रहेका कुनै दल एकअर्काप्रति सन्तुष्ट छैनन्। खासगरी राष्ट्रियसभा निर्वाचनयता गठबन्धन दलहरूबीच एकअर्काप्रति असन्तुष्टि बढ्नुका साथै विश्वासको संकट चुलिएको हो। कोशीमा उही मतदाता भएका कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित हुँदै गर्दा माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि थप असन्तुष्टि र अविश्वासको वातावरण पैदा भएको हो। 

अहिले माओवादी नेताहरू कांग्रेसँगको सहकार्य आफूहरूको बाध्यता भएको बताउन थालेका छन्। कांग्रेससँग विचार, सिद्धान्त, नीति केही नमिले पनि अहिलेको गठबन्धन बाध्यात्मक भएको माओवादी उपमहासचिव मात्रिका यादव बताउँछन्। ‘कांग्रेससँग हाम्रो केही पनि मिल्दैन तैपनि अहिलेको गठबन्धन हाम्रो बाध्यता हो’, उनको भनाइ छ। 

कांग्रेससँग असन्तुष्टि र अविश्वास चुलिएकै मौकामा वामपन्थी एकताको पक्षमा उभिँदै आएका माओवादी र एमालेका नेताहरूले सक्रियता बढाएका हुन्। दुवै पक्षका नेताहरूबीच भेटवार्ता र छलफल हुँदै आए पनि तत्कालै एमालेसँग सहकार्यको सम्भावना नरहेको वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका माओवादी उपमहासचिव वर्षमान पुन बताउँछन्। 

टिआरसी माओवादीको मात्र नभई राष्ट्रिय एजेन्डा भएकाले यसमा एमालेको साथ खोजेको उनले बताए। ‘यो माओवादीको मात्र नभई राष्ट्रिय एजेन्डा भएकाले यसमा एमालेले पनि समर्थन गरिदेओस् भन्ने हाम्रो अपेक्षा हो’, पुनले भने। 

वामपन्थी एकताको आवश्यकता अहिलेको मात्रै नभई सधैँको भएको अर्का उपमहासचिव यादव बताउँछन्। ‘वामपन्थी एकता आजको मात्रै होइन, सधैँको आवश्यकता हो‘, उनले भने, ‘अध्यक्ष कमरेडले त आह्वानै गर्नुभयो नि।’ 

समाजवादी क्रान्तिको आधार तयार पार्न विचार, सिद्धान्त र संगठन मिल्ने सबै एक हुनुपर्नेमा उपमहासचिव यादवको जोड छ। 

त्यसो त पछिल्लो समय नयाँ राजनीतिक कोर्स निर्माणका प्रयास भइरहेकै छन्। केही समयअघि मात्रै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराबीच दुई आवासीय बैठक ललितपुरको एक होटलमा सम्पन्न भएका छन्। 

एमालेका एक पदाधिकारीले थाहाखबरसँग भने, ‘त्यो ढंगको बसाइ त विभिन्न स्तरमा भइरहेकै छन् तर ठोस परिणाम आउन सकेको छैन।’

वार्तापछिको प्रगति समेटेर दुवै पक्षले प्रतिवेदनसमेत बुझाएका छन् तर अध्यक्षस्तरमै कुरा मिलेको छैन। स्रोतका अनुसार माओवादीले दुई अध्यक्षात्मक प्रणालीमै जान प्रस्ताव गरेको छ भने एमालेले यो प्रणाली स्वीकारेको छैन। 

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने माओवादीकै कारण कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको टिप्पणी गर्छन्। ‘कांग्रेसलाई बलियो बनाउने, वर्गीय हिसाबले भन्ने हो भने देशमा दलाल पुँजीवादलाई बलियो बनाउने काममा उहाँहरू नै सबै हिसाबले समर्पित देखिनुहुन्छ’, वामपन्थी सहकार्य र एकताबारे उनले भने, ‘प्रश्न पहलको भन्दा पनि नियतको र वामपन्थी चरित्रको हो।’ 

सरकार निर्माणका क्रममा बनेको वामपन्थी गठबन्धनलाई जोगाउन एमालेले हदैसम्मका प्रयास गरेको उपमहासचिव ज्ञवालीले स्मरण गरे। ‘गत वर्ष एमालेले त प्रचण्डजीलाई गठबन्धनको संकटबाट रेस्क्यू गरेर प्रधानमन्त्री बनाएको हो’, उनले भने, ‘एमालेलाई राष्ट्रपति दिन गाह्रो हो भने नन्दकिशोर पुन, अमिक शेरचन, बाबुराम भट्टराई वा माधव नेपालमध्ये कसैलाई बनाएर सहकार्य जोगाऔँ भनेर एमालेले प्रयत्न गरेको त यथार्थ हो नि तर रामचन्द्र पौडेल नभई हुँदैन, कांग्रेस नभई हुँदैन भनेर जम्प गरेको उहाँहरूले नै हो।’  

वामपन्थी सहकार्य र एकताको पक्षमा एमाले सधैँ रहेको र सम्भावनाका ढोका अहिले पनि खुलै रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.