|

ललितपुर : आईसीसी विश्व क्रिकेट लिग-२ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु मैदानमै नामिबियासँग ४ विकेटले पराजित भयो।

१३३ रनको सामान्य लक्ष्य पछ्याएको पाहुना टोली नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गर्‍यो।

सामान्य लक्ष्य पाएकाले नामिबियाका लागि खेल जित्न त्यति कठिन परेन।यसअघि टस जितेर पहिले नामिबियाले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भएको थियो।

नामिबिया विरुद्धको खराब ब्याटिङ

पहिले ब्याटिङ गरेको नेपालले नामिबिया विरुद्ध राम्रो प्रर्दशन गर्न सकेन। नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो। आशा गरिएका ब्याटरहरू दोहोरो अंकको स्कोर नबनाउँदै आउट भए।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा गुल्सन झाले २१ रन, करण केसीले १६ रन, कुशल मल्लले १५ रन  र पवन सर्राफले १२ रन बनाए।। 

कमजोर लक्ष्य 

नामिबिया जस्तो टोलीका लागि १३३ रनको लक्ष्य सामान्य हो। नेपालले कम्तीमा पनि २०० को हाराहारीमा लक्ष्य दिन सकेको भए, बलिङमा दबाब दिएर नेपालले नतिजा आफ्नै पक्षमा पर्न सक्थ्यो। पर्याप्त विकेट र बल बाँकी छँदा नामिबियाले नेपाललाई हराउन सक्यो। 

घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा अहिलेसम्मकै न्यून स्कोर बनाउने क्रममा नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो।

यसअघि नेपालले सन् २०२१ म ओमानविरुद्ध  र सन् २०२२ मा यूएईविरुद्ध नेपाल घरेलु मैदानमा १७९ रनमा अलआउट भएको थियो। पछिल्ला १५ खेलमा जित हासिल गरेको कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले बिहीबार त्यो साख जोगाउन सकेन। 

ओपनिङ ब्याटर चलेनन् 

नेपालका सुरुवाती ब्याट्सम्यान कुशल भूर्तेल खेलको पहिलो बलमै रोयल डक आउट भए। रनको खाता नै खोल्न नसकेका उनी रुविन ट्रम्पेलम्यानको बलमा जेजे स्मिथद्वारा क्याच आउट भए। अघिल्ला धेरै खेलमा उनको सुरुवाती स्कोरका कारण नेपालले सुखद नतिजा ल्याएको थियो।

भूर्तेलका ओपनिङ पार्टनर आशिफ शेख पनि मात्र ४ रनमै क्रिजबाट बाहिरिए। ११ बलको सामना गर्दा मात्र १ चौका हानेका उनी थोरै रनमै आउट हुँदा त्यसपछि आउने ब्याटरहरू दबाबमा परेका थिए। यसका कारण नामिबियाका बलरहरुले कण्डिसनलाई राम्रोसँग प्रयोग गरे र एक पछि अर्को विकेट लिए। 

पावर प्लेमै ४ विकेट  

नेपालले पावर प्लेको सदुपयोग गर्दै राम्रो स्कोर गर्नुपर्नेमा ४ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो। यो बेला धेरै रन बनाएर ठूलो स्कोर खडा गर्न मद्दत मिल्नुपर्नेमा झन् धेरै विकेट गएर नेपाली क्रिज नै धरापमा परेको थियो। 

कप्तान पौडेल र अनिल पनि सस्तैमा आउट 

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा राम्रो खेल पस्केका रोहित पौडेल र अनिल साहले नामिबियाविरुद्धको खेलमा ब्याटको जादु देखाउन सकेनन्। १३ बलको सामना गरेका रोहितले जम्मा १ रन जोडे भने ६ बलको सामना गर्दा २ चौका हानेर अनिलले ८ रन भन्दा बढी पुर्‍याउन सकेनन्। 

सर्ट रन छोडेर बाउण्ड्रीमा ध्यान दिँदा 

अनावश्यक सर्ट हान्दा पवन सर्राफ, सोमपाल कामी र कुशल मल्लले क्याच आउट हुन पुगे। छोटो छोटो रन लिएर अगाडि बढ्दै टिकेर अघि बढेको भए नेपाली स्कोर थप बलियो बन्न सक्थ्यो, जसका कारण नामिबिया दबाबमा जान सक्थ्यो।

पवन १२ रन , सोमपाल २ तथा कुशल मल्ल १५ रनमा आउट भए। सोमपाल र कुशल दुवै गेरार्ड इरामुसको बलमा आउट भएका थिए। 

कुनै ठूलो साझेदारी बन्न सकेन 

५ औँ विकेटका लागि ४६ रनको साझेदारी भीम सार्की र कुशल मल्लबीच भएको थियो। एकदिवसीयमा राम्रो साझेदारी गरेर टिक्दै खेल्नुपर्नेमा त्यस्तो हुन सकेन। न ओपनिङमा राम्रो साझेदारी बन्न सक्यो न त सार्की र मल्ल बाहेक अन्य खेलाडीबीच राम्रो साझेदारी भयो।

विकेट नगुमाई छोटो छोटो रन लिएर लामो समय टिकेर खेलेको भए पनि नामिबियासामु अलि फराकिलो लक्ष्य पस्किन सकिन्थ्यो, नामिबिया दबाबमा आएर नतिजा बदलिन सक्थ्यो। 

नामिबियाका बलर गेरार्ड इरामुसलाई रोक्न नसक्दा 

नेपालको स्कोर १३२ रनमा रोक्न नामिबियाका बलर गेरार्ड इरामुसको अहं भूमिका छ। उनले ८.१ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए। उनले करण, गुल्सन, सोमपाल, कुशल र भीमलाई आउट गरे।

जब भीम र कुशलको पार्टनरसिपलाई तोडाउन गेरार्ड सफल भए त्यसपछि नेपाल दबाबमा आयो। भीम ३१ र कुशल १५ रन बनाउँदै कुल ४६ रनको साझेदारी थिए। यो पार्टनरसीप जमेको भए नामिबियालाई दबाब पर्न सक्थ्यो। गेरार्डको बलमा नेपाली ब्याटरहरूले डटेर रन हानेको भए नेपालले अर्कै नतिजा ल्याउन सक्थ्यो। 

दबाब राखेर बलिङ गर्न नसक्दा 

नेपालले कमजोर लक्ष्य दिइसकेपछि जवाफी ब्याटिङमा उत्रिएको नामिबियालाई शुरुवाती ओभरमा जस्तो दबाब दिएर कसिलो बलिङमा नेपालले ध्यान दिनुपर्ने थियो। शुरुको २ या ३ ओभरमै १–२ विकेट झार्न सकेको भए , कमजोर लक्ष्य भएपनि नामिबिया पनि दबाबमा पर्न सक्थ्यो।

सुरुवाती ब्याट्स्म्यानहरु माइकल भान लिङ्गेन, निकोलास डाबिन र जान फ्राइलिङ्कलाई वीना दोहोरो अंक आउट गर्न सकेको भए, नेपाल त्यही लक्ष्यमा पनि सफल हुन सक्थ्यो। 

जान निकोल लोफ्टीको विकेट 

२४.१ ओभरमा जाने ग्रिन आउट भएपछि नामिबिया फेरी दबाबमा थियो। त्यतिवेला पर्याप्त बल बाँकी भए पनि विकेट एक पछि अर्को गइरहँदा नामिबिया धर्मराउने हो कि  भन्ने स्थितिमा थियो तर त्यसपछि क्रिजमा आएका जान निकोल लोफ्टी इटोनले ३० रन हान्दै नामिबियालाई जिततर्फ लम्काए। उनलाई सस्तैमा आउट गर्न सकेको भए, नामिबिया दबाबमा आएर सम्हालिन नसक्दा नतिजा बेग्लै बन्ने सम्भावना पनि हुन सक्थ्यो। 

नेपालले अब शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.