|

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णप्रसाद भट्ट, दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक महेन्द्रराज वाग्लेविरुद्ध २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

सहायक वन अधिकृत बह्मदेव महतो, रेञ्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद र सहायक वन अधिकृत टोलकराज चापागाईविरुद्ध २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दावी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

आयोगले सहायक वन अधिकृतहरु लालबाबु झा, गणेशकुमार थारु र नागेन्द्रप्रसाद सिंह राजपुत, फरेष्टर रामरक्षाकुर्मी चौधरी तथा वन रक्षक सञ्जय थारुविरुद्ध २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दावी गरेको छ। आयोगले वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वासुदेव गोडिया तथा प्रदेशसभा सदस्य जानकीप्रसाद यादवविरुद्ध २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दावी गरेको छ।

त्यस्तै गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका  सञ्चालक एकनाथ घिमिरेविरुद्ध नौ लाख ३९ हजार एक सय ३५ र एआर काठ दाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गीता जिसीविरुद्ध १९ लाख ७३ हजार ५८ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.