|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपकुलपति पद रिक्त भएको झण्डै चार महिनापछि २० औँ उपकुलपति पाएको छ। बिहीबार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राडा केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै त्रिवि उपकुलपति पद रिक्त थियो। त्यसपछि प्रधानमन्त्री प्रचण्डले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने भन्दै खुला आवेदन आव्हान गरे। जसमा ४३ जनाको आवेदन पर्‍यो।

त्यसमध्येबाट १४ जनाको सर्टलिष्ट सार्वजनिक भयो। त्रिवि उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत आइतबार नै १४ जनाको सर्टलिष्टमध्ये अन्तरवार्ता सकिएलगत्तै  १ नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्राडा केशरजंग बराल र तेस्रो नम्बरमा प्राडा टंकनाथ धमलाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।

को हुन् बराल?

प्राडा बराल २०१४ सालमा पाल्पामा जन्मिएका हुन्। उनले २०३९ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरू गरेका थिए। २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भएका उनी २०५५ सालमा दिल्ली युनिभर्सिटीले विद्यावावारिधि (पीएचडी) को उपाधि प्रदान उनलाई गरेको थियो।

त्यसपछि सरकारले उनलाई २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्‍यो। त्यसपश्चात् चार वर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा उनी बिदा भएका थिए।

त्रिविमा चुनौतीका चाङैचाङ

देशकै जेठो र पुरानो विश्वविद्यालय हो त्रिभुवन विश्वविद्यालय। २०१६ सालमा स्थापना भएको त्रिविले गुणस्तरीय शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हो। तर,गुणस्तरीय र व्यावहारिक शिक्षा नमिलेको भन्दै पछिल्लो समय उच्च शिक्षा अध्ययनको लागि विदेशिने विद्यार्थीहरूको लर्को छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार दैनिक ७ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिने गरेका छन्। जसकारण यहाँका क्याम्पसहरू पछिल्लो समय रित्तिँदै गएको छ। 

राजनीतिक भागबन्डामै त्रिवि चलिरहेको छ। राजनीतिक आन्दोलनको अखडा बनिरहेको छ। समय समयमा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरू त्रिविमा ताला लगाउने कार्य गर्दै आएका छन्। अहिले पनि त्रिविको विभागैपिच्छे गेटमा कालो ब्यानर टाँगिरहेको देखिन्छ। यी क्रियाकलापको पनि अन्त्य गर्नुपर्ने चुनौती छ। 

त्यस्तै, शैक्षिक क्यालेन्डर लागू नहुनु,रिक्त पदाधिकारी नियुक्त नहुनु र त्रिविको कोर्ष अधावधिक नहुनु अर्को समस्या छ। परीक्षा भएको १५ महिनासम्म पनि त्रिविले नतिजा प्रकाशन गर्न सक्दैन। नतिजा प्रकाशन गर्ने वेला उत्तरपुस्तिका हराएर त्रिविले पुनः परीक्षा लिन्छ।

त्रिविले उत्तरपुस्तिका हराएपछि माघ (२०७८) मा सञ्चालन भएको व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको रिसर्च मेथोडोलजी विषयको २ सय ७ जना विद्यार्थीको पुनः परीक्षा २०७९ पुस २४ गते लिएको थियो।

यस्तै,बारम्बार कहिले प्रश्नपत्र दोहोरिने गरेको छ भने कहिले प्रश्नपत्र बाहिरिने गरेको छ त्रिविमा। २०७९ जेठ १८ गते (त्रिवि) को मानविकी संकायले स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र अन्तर्गतको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको भन्दै विवाद उत्पन्न भयो। 

उक्त घटना सेलाउन नपाउँदै फेरि असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन बिहेवियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो। 

त्रिविले अझै पनि सहज ढंगले लाखौँ विद्यार्थीहरूलाई सेवा प्रवाह गर्न सकेको छैन। अनेक बहानामा समस्या खेपिरहेका छन् उनीहरू। इतिहासमै पहिलोपटक त्रिवि पनिकाले गत माघ १५ गते अनलाइन सेवा सुरू गरेको थियो।

त्रिविका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालबाट कम्प्युटरको माउस क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएका थिए।

तर, अनलाइन सेवा सुरू गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको नियन्त्रणमा पुग्यो। त्यसैले पनि झनै त्रिविको विश्वसनीयता घट्दै गयो।  यी लगायत अन्य धेरै त्रिविमा देखिएका छन् समस्या। ती समस्या समाधान गर्दै नवनियुक्त उपकुलपति बरालले त्रिवि हाक्नुपर्ने छ।  

यसो भन्छन् उपकुलपति बराल

त्रिवि उपकुलपतिमा नियुक्त भएपछि उपकुलपति प्राडा. बराल त्रिवि सुधारमा लागिपर्ने बताउँछन्। जसमध्ये पहिला त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाकमा ल्याउने उनले बताए। उनले थाहाखबरसँग भने,‘समयमा परीक्षा नतिजा प्रकाशन नहुँदा लाखौँ विद्यार्थीहरूले अनेक समस्या भोगिरहेका छन्,त्यसैले दोस्रोमा अबदेखि समयमा परीक्षा नतिजा प्रकाशित गर्ने मेरो योजना छ।’ 

यस्तै,उनले तेस्रोमा त्रिविको शैक्षिक कार्यक्रमका पाठ्यक्रम अद्यावधिक गर्ने जानकारी दिए। ‘यी नै कुराहरूलाई मेले पहिलो चरणमा प्राथमिकता दिएको छु,अन्य योजनाअनुसार काम गर्दै जाने छु,’उनले भने।

(याे पनि)



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.