|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पाएको छ। गत बिहीबार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राडा केशरजंग बराललाई २० औँ उपकुलपतिमा नियुक्त गरेपछि शुक्रबार नै कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा उनले पदभार ग्रहण गरिसकेका छन्। 

त्रिविको उपकुलपति रिक्त भएको झण्डै ४ महिनापछि सरकारले बराललाई भिसी नियुक्त गरेको हो। उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै त्रिवि उपकुलपतिको पद रिक्त थियो।

उपकुलपतिमा नियुक्त भएपछि भद्रगोल त्रिवि सुधारमा उनले तदारूकता देखाएका छन्। पहिला त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाकमा ल्याउने उनको योजना छ।

नियुक्त भइसकेपछि थाहाखबरसँग उनले भनिसकेका छन्, ‘समयमा परीक्षाको नतिजा प्रकाशन नहुँदा लाखौँ विद्यार्थीहरूले अनेक समस्या भोगिरहेका छन्, त्यसैले दोस्रोमा अबदेखि समयमा परीक्षा नतिजा प्रकाशित गर्ने मेरो योजना छ, तेस्रोमा त्रिविको शैक्षिक कार्यक्रमका पाठ्यक्रम अद्यावधिक गर्ने मेरो योजना छ।’

उनले चारवर्षे स्नातक तहलाई तीनवर्षेमा झार्ने योजना पनि सुनाएका छन्। यसले त्रिविको साख जोगाउन बरालले सक्लान् भन्ने आशा आम नागरिकले गरेका छन्।

भिसी भन्छन्- भिसीले मात्रै त्रिविको सुधार गर्न सक्दैन

देशकै जेठो र पुरानो विश्वविद्यालय हो त्रिभुवन विश्वविद्यालय। विसं २०१६ सालमा स्थापित त्रिविले गुणस्तरीय शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हो तर यहाँ अनेकन समस्याहरूले त्रिविलाई गाँजेको छ। समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुँदैन‚ सेवा प्रवाहमा समस्या छ।

भागबन्डामै चलिरहेको छ। राजनीतिक आन्दोलनको अखडा बनेको छ त्रिवि। विद्यार्थीहरू सेवा लिनको लागि त्रिविमा गए भने घण्टौँ लाइनमा बसेर विभिन्न बहानामा छिनभरको कामलाई दिनभर लगाइदिन्छन् कर्मचारीहरू।

त्यसैले त गुणस्तरीय र व्यावहारिक शिक्षा नमिलेको भन्दै पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरूको लर्को छ। यता, क्याम्पसहरू रित्तिँदै छन्। 

त्यसो त नवनियुक्त भिसी बराल आफू एक्लैले त्रिवि सुधार गर्न नसक्ने बताउँछन्। यसका निम्ति सबैकाे साथ सहयाेग आवश्यक पर्ने उनले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग नियुक्ति पत्र बुझिसकेपछि पत्रकारहरूले सोधेको प्रश्नमा उनले भनिसकेका छन्, ‘जति राम्रो भिसी भए पनि भिसी एक्लैले विश्वविद्यालय सुधार्न सक्दैन, अहिलेको जुन राजनीतिक वातावरण र अहिलेको उच्च शिक्षाको जुन त्रिविको वातावरण छ नि, त्यसलाई सुधार गर्नको निम्ति देशको प्रमुख पार्टीहरूको कोअपरेसन नभइ जति उफ्रे पनि जस्तो राम्रो भिसी आए पनि केही लाग्दैन।’

त्यसैले सबैभन्दा मुख्य पार्टीसँग छलफल गरेर अगाडि बढ्नुपर्ने उनको बुझाइ छ। ‘म प्रमुख दलसँग छलफल गर्छु, त्रिवि बिग्रियो भने देशै बिग्रन्छ,’ उनले भने।

भिसीले आफ्नो टिम बनाउने अधिकार पाउनुपर्ने माग 

त्रिविका नवनियुक्त भिसीले आफ्नो टिम बनाउन अधिकार पाउनुपर्ने पनि बताएका छन्। उनले रेक्टर, रजिस्ट्रार र भिसी एकेडेमिक र व्यवस्थापकीय र प्रशासकीय क्षमताका आधारमा नियुक्ति गर्नुपर्ने पनि बताएका छन्।

उनका अनुसार हिजो सानोदेखि माथिसम्म भागबण्डा त्रिवि चलनको थियो। अबदेखि भने त्यो हुनुहुँदैन भन्ने पक्षमा उनी छन्।

‘त्रिविजस्तो ठूलो शैक्षिक संस्थामा राजनीतिक समन्वय र व्यालेन्स मिलाउन जरूरी छ तर म यो विचारमा छु पार्टीले भिसीको अनुकूल भए पनि नभए पनि पठाउने चलन थियो तर त्यो तरिकाले अब विश्वविद्यालय चलाउन सकिँदैन,’ उनले भने।

त्यसमा निश्चित रूपमा प्राज्ञिक र पोलिटिकल रूपमा संयोजन गरेर लैजान जरूरी रहेको उनको भनाइ छ।

‘यसरी भागबण्डामा जानु हुँदैन र भिसीले आफ्नो टिम बनाउन अधिकार पाउनुपर्छ भन्ने पक्षमा म छु,’ उनले त्यसबेला भनेका थिए, ‘मलाई नियुक्त गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि यही कुरा राखेको छु, म छानिने बेला अन्तर्वार्तामा पनि यही कुरा राखेको छु।’

यीबाहेक अरू डीन क्याम्पस चिफ र विभागीय प्रमुख प्रणालीगत रूपमा नियुक्ति गर्नुपर्ने पनि उनको माग छ। ‘प्रणालीगत रूपमा गर्दा एउटा पियन, सानोभन्दा सानो मान्छे भोलिको दिनमा क्याम्पस चिफ हुन्छन् र डीन हुन्छ भन्ने निश्चित हुन्छ,’ उनले भने।

‘भिसीको त्रिवि सुधारका योजनामा हामी सधैं सहयोग गर्छौं’

त्रिविको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा उपनियन्त्रक डा. पवन बराल नवनियुक्त भिसीले ल्याएका त्रिवि सुधारका योजनामा सधैं साथ र सहयोग गर्ने र हौसला दिने बताउँछन्।

‘त्रिविमा बेथिति छन्, यसलाई अन्त्य गर्दै गुणस्तरीय शिक्षा र सहज ढंगले विद्यार्थीहरूलाई सेवा प्रदान गर्नुपर्ने छ,पाठ्यक्रम अद्यावधिक गर्नुपर्नेलगायत धेरै काम गर्नुपर्ने छ, जुन काम गर्न भिसीको हुटहुटी छ उहाँले गर्नुहुन्छ भन्ने आशा लिएका छौँ, हामी पनि सक्ने जति यसका लागि सधैं साथ सहयोग दिन्छौं,’ उनले भने।

यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै उच्च शिक्षामा अब त्रिविले छलाङ मार्नुपर्ने उनको जोड छ। ‘यसका निम्ति भिसीबाट नयाँ नयाँ जुन योजनाहरू आउँछन्, हामी स्वागतका साथ कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ,’ उनले भने। 

यता, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पनि नवनियुक्त भिसीले सधैं राष्ट्र, विश्वविद्यालय र विद्यार्थीको हितमा काम गरे सहयोग गर्ने बताएका छन्। काम नगरेको खण्डमा सोहीअनुसारको प्रतिक्रिया/व्यवहारसहित विश्वविद्यालयमा भेट्ने उनको भनाइ छ।

उनले सामाजिक सञ्जालबाटै भनेका छन्, ‘विभिन्न स्वरूपको आन्दोलनको आज २ महिना पूरा भएको छ, आशा छ तपाईंले जायज यी मागलाई सम्बोधन गर्ने अठोट गर्नु नै भएको छ, बोलेर होइन काम गरेर विश्वविद्यालय सुध्रिन्छ, राष्ट्र, विश्वविद्यालय र विद्यार्थीको हितमा काम गरे सहयोग गर्ने, काम नगरे सोहीअनुसारको प्रतिक्रिया/व्यवहारसहित विश्वविद्यालयमा भेट्ने कुरा अवगत गराउँदै विश्वविद्यालयमा हार्दिक स्वागतसहित उपकुलपति नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दछु।’

भिसी बरालले भने भ्रातृ संगठनको हस्तक्षेपले विश्वविद्यालय नचल्ने र त्यसो नहुनुपर्ने पनि बताएका छन्।

(याे पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.