|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा २ विभागीयसहित ४ टिम विजयी भएका छन्।

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन एपीएफ, कोशी प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन्।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा मंगलवार मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको हो।

आज (बुधवार) भएको पहिलो खेलमा विभागीय टिम एपीएफ (सशस्त्र प्रहरी)ले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ। एपीएफले २५–१६, २५–१८, २५–१८ अन्तरले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो। 

अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ अन्तरले पराजित गर्दै कोशी प्रदेश भलिबल टिम विजयी भएको छ। कोशी प्रदेशले २५–१९, २५–१९, २१–२५ र २५–२० अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो।

अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ। नेपाल पुलिस क्लबले २५–१२, २५–१६ र २५–११ अन्तरले कर्णाली प्रदेशलाई पराजित गरेको हो। 

आजै भएको अन्तिम खेलमा गण्डकी प्रदेशले सोझो सेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। गण्डकी प्रदेशले २५–१९, २५–१५ र २५–२१ को अन्तरले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो। 

प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ, उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ, तृतीय हुनेले नगद ५० हजार रुपैयाँ र चौथो हुने टिमले नगद ३० हजार रुपैयाँका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ।

उत्कृष्ट ५ विधालाई नगद ५० हजार र सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा विभागीय तीनवटा टिमहरू आर्मी, सशस्त्र र प्रहरीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेशका टिमको सहभागिता रहेको छ। प्रतियोगिता फागुन १९ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.