|

हेटौंडा : बागमती प्रदेशमा सरकार र विपक्षी दलहरूबीच भएको सहमति कार्यान्वयन गराउन विशेष समिति गठन गरिएको छ। बिहीवार बसेको प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा १६ जनाको विशेष समिति गठन गरिएको हो।

बैठकमा सरकारका तर्फबाट मुख्य सचेतक रत्नप्रसाद ढकालले आव २०८०।०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति प्रदेश नियमावली पहिलो संशोधन सहित २०७४ को नियम १५२ बमोजिम गठन गरियोस् भनी प्रस्ताव गरेका थिए।

मुख्य सचेतक ढकालले पेश गरेको प्रस्तावमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक लम्सालको संयोजकत्वमा कांग्रेसका सांसद प्रभात तामाङ, नेकपा एमालेतर्फ संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, माओवादीका तर्फबाट रत्न ढकाल, इन्द्रप्रसाद गोतामे र राप्रपा तर्फबाट संसदीय दलका नेता उद्धव थापा र गिरबहादुर तामाङ सदस्य रहेका छन्।

यसैगरी नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगर, वसन्तप्रसाद मानन्धर हाम्रो नेपाली पार्टीका तर्फबाट शैलेन्द्रमान बज्राचार्य सदस्य रहेका छन्।

उक्त प्रस्तावको विशेष समितिमा रहेका संयोजक सहित सदस्यहरूले समर्थन गर्दै संसद्‌बाट बहुमतले पारित भएका छन्। गठन भएको विशेष समितिले अब २९ फागुन मंगलवार दिनको ३ बजे प्रदेशसभाको बैठकमा प्रतिवेदन पेश गर्नुपर्ने छ। समितिको कार्यविधि समिति आफैँले तोकेबमोजिम हुने सभामुख भुवनकुमार पाठकले जानकारी गराएका छन्।

सरकारले १ असारमा ६२ अर्ब ७० करोडको बजेट ल्याएको थियो तर विपक्षी दलले विरोध गरेपछि १८ असारमा छुटेका योजना समेट्ने सहमति भएको थियो।

सहमति कार्यान्वयन नभएको भन्दै विपक्षी दलले पटक पटक विरोध गरेपछि प्रदेशसभाको हिउँदे अधिवेशन १४० दिनपछि मंगलबार बसेको थियो।

अधिवेशनको पहिलो बैठकमा पनि सहमति कार्यान्वयन नै विषय उठेपछि बुधवारका लागि बैठक बोलाइएको थियो तर मुख्यमन्त्री आफैँ अनुपस्थित भएपछि बुधवारको बैठक पनि नबसी स्थगित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.