|
फाइल तस्वीर

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छानुसार चलेको आरोप लगाएका छन्।

बिहीवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन्। उनले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भए पनि कार्यकारीको इच्छाअनुसार चल्ने गरेको आशंका रहेको धारणा राखे।

महामन्त्री थापाले सम्पत्ति शुद्धिकरणले बेनामी उजुरीको आधारमा कुनै एकजना व्यवसायी वा राजनीतिज्ञलाई दुःख दिने माध्यमको रूपमा काम गरेको आरोपसमेत लगाए। उनले बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाइ हुन्छ भन्ने सुनेको समेत बताए।

उनले कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको आरोप पनि लगाए। उनले राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान प्रयोग भएको प्रशस्त प्रमाण आफूसँग रहेको दावी गर्दै यो हल्ला नभएर वास्तविकता नै भएको पनि दावी गरे।

‘सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान कानूनअनुसार चलेका छन्‚ अपेक्षा गर्ने त्यही हो। यी दुई निकाय प्रधानमन्त्री कार्यालयमातहत राख्नुपर्ने कारण कानूनी रुपमा चलाउनभन्दा पनि कार्यकारीको इच्छामा चलेका छन् कि भन्ने आशंका छ। कार्यकारी शक्ति हुनेले सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान हतियार बनाउँछन् भन्ने आरोप छ‚’ उनले भने, ‘राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान प्रयोग भएका उदाहरण र प्रमाण छन्।’

उनले राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अप्ठ्यारो भएको विषयमा जानकारी दिन माग गरे।

‘राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अप्ठ्यारो भएको छ कि छैन?‚’ उनले भने‚ ‘सम्पत्ति शुद्धिकरणले बेनामी उजुरीको आधारमा कसैलाई परेशान गर्ने माध्यमको रुपमा काम गरेको बुझिन्छ। मुद्दा हेर्ने विषयमा मोलमोलाइ हुन्छ भन्ने सुनिन्छ।’

उनले सम्पत्ति शुद्धिकरण विभागले टास्क फोर्सले दिएको सुझावबमोजिम घर जग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धिकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.