|

धनकुटा : धनकुटाको पाख्रिबासमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

धनकुटाको हिलेबाट चुम्बाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप भ्यान पाख्रिबास नगरपालिका वडा नं. १० चुम्बाङमा दुर्घटना हुँदा एकजना ११ वर्षीय बालकको मृत्यु भएको हो।मृत्यु भएका बालकको पहिचान नखुलेको धनकुटा अस्पतालले जनाएको छ।

धनकुटा अस्पतालका अनुसार पाख्रिबासका २२ वर्षीया रविका राई र काठमाडौँका ४० वर्षीय सानु आलेलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

धनकुटा नगरपालिका वडा नं. ४ का ३६ वर्षीया देवी खत्री, १० वर्षीय अजित खत्री, ३६ वर्षीया देविका खत्री, ४७ वर्षीया सुनिता खत्री, पाख्रिबास नगरपालिका वडा नं. १० की लक्ष्मी राईको धनकुटा अस्पतालमा उपचार भइरहेको छ।

अन्य ८ जनाको स्थानीय प्राथमिक अस्पतालमा उपचार गरि थप उपचारका लागि धनकुटा अस्पताल ल्याइँदै गरेको धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए।

स्थानीयवासी र नजिकै रहेको स्कुलका शिक्षक र छात्रछात्राले दुर्घटनाका घाइतेहरुको उद्धार गरेका थिए। 

पिकअप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। पिकअपमा १७ जना सवार रहेका थिए। अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुना रहेको बताइएको छ।

ढुवानीका लागि प्रयोग हुने पिकअपले धनकुटाका ग्रामीण भेगमा मानिस बोक्ने गरेका छन्। पिकअपको डालामा मानिस बोक्दा सम्बन्धित निकाय मूकदर्शक बनेको स्थानीयको आरोप छ।

सवारीचालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.