|

धनकुटा : धनकुटाको पाख्रीबासमा भएको पिकअप दुर्घटनामा परी मृत्यु भएकी बालिकाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु भएकी ९ वर्षीया बालिका पाख्रीबास–१० चुम्बाङकी संस्कृति राई रहेको प्रहरीले जनाएको छ।

धनकुटाको हिलेबाट चुम्बाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप भ्यान पाख्रीबास नगरपालिका–१० चुम्बाङमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते हुनेको संख्या १९ पुगेको छ। घाइते १३ जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने ६ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परी घाइते भएका धनकुटा नगरपालिका–४ का ३६ वर्षीया देवी खत्री, १० वर्षीय अजित खत्री, ४७ वर्षीया सुनिता खत्री, पाख्रीबास–१० की २४ वर्षीया लक्ष्मी राई र ३२ वर्षीया कोपिला गिरी, पाख्रीबासकै २२ वर्षीया रविका राई, काठमाडौँका ४० वर्षीय सानु आले र २८ वर्षीय सुलप आले, तेह्रथुमको छथर गाउँपालिका–३ की २३ वर्षीया एलिसा श्रेष्ठ, धरान–१८ की २८ वर्षीया मेलिना श्रेष्ठ, धरान–१६ की ३० वर्षीया मधु राई, भोजपुरको अरुण गाउँपालिका–६ की ४९ वर्षीया जयकुमारी राईलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ धरान पठाइएको छ।

यस्तै पाख्रीबास–१० की ३६ वर्षीया देविका खत्री, ७ वर्षीया नयन राई, १८ वर्षीया अनु परियार, ३१ वर्षीय नेत्रबहादुर कार्की, २४ वर्षीया अन्जना राई र ४० वर्षीया इन्द्रकुमारी राईको धनकुटा अस्पतालमा उपचार भइरहेको धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए।

पिकअप सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो। ढुवानीका लागि प्रयोग हुने पिकअपले धनकुटाका ग्रामीण भेगमा मानिस बोक्ने गरेका छन्।

पिकअपको डालोमा मानिस बोक्दा सम्बन्धित निकाय मुकदर्शक बनेको स्थानीयको आरोप छ। सवारी चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.