|

काठमाडौँ : वामलोकतान्त्रिक गठबन्धन भत्काउने नेकपा एमालेको प्रयास अन्ततः सफल भएको छ। एकाएक राजनीतिमा उलटपुलट भएजस्तो देखिए पनि प्रमुख प्रतिपक्षी एमालेको लामो प्रयासपछि सोमवार ‘पुस १०’ उल्टिएको हो।

गत वर्ष सम्पन्न आमनिर्वाचनपछि ०७९ पुस १० मा बनेको एमाले–माओवादीसहितको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा फागुनमै टुटेको थियो। 

एमालेको निरन्तरको प्रयासपछि सोमवार फेरि उही गठबन्धन ब्युँतिएसँगै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा थन्किने अवस्था बनेको छ।

वाम–लोकतान्त्रिक गठबन्धन टुटेसँगै दुबै पक्षले यसको दोष एकअर्कालाई लगाएका छन्। माओवादीले कांग्रेसका कारण सरकारले नै अपेक्षित गति लिन नसकेको, पटक–पटक कोशीमा घात भएको, जनयुद्धको जगमा उभिएको संघीयतामा मोजमस्ती गरे पनि जनयुद्धलाई अपमान गरेको, हिन्दु राष्ट्र स्थापनाको मुद्दामा काँध थाप्न लागेको र गठबन्धनमा रहेर गठबन्धनविरोधी निर्णय पारित गरेको जस्ता आरोप थोपरेको छ। 

लामै समययता कांग्रेस र उसका मन्त्रीहरूसँग असन्तुष्ट रहँदै आएका प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण निर्माणपछि कांग्रेसले सहयोग नगरेकै कारण गठबन्धन फेर्न बाध्य भएको स्पष्ट पारेका छन्। 

खासगरी कांग्रेसबाट अर्थमन्त्री रहेका डा. प्रकाशशरण महतले सहयोग नगरेको र मन्त्रिपरिषद् पुनर्गठन गर्न पनि नमानेपछि समीकरण परिवर्तन गर्नुपरेको पार्टी नेताहरूसँग उनले ब्रिफिङ गरेका थिए।  

कांग्रेसले विभिन्न तवरले सरकार र माओवादीविरुद्ध भाँजो हाल्ने काम गर्दा एमालेले ‘रिअलाइजेसन’ गरेर आएकाले नयाँ गठबन्धन निर्माण भएको प्रचण्डको प्रष्टोक्ति छ। पार्टीका नेताहरूसँग उनले भनेका छन्, ‘एमालेले वाम-एकता र सहकार्य गराउनुपर्छ भनेर रिअलाइजेसन गरेको हुनाले एमालेसँग मिलेर जाने, राप्रपाबाहेक सबैलाई समेटेर जाने भन्ने विषयमा उहाँहरूबीच सहमति बनेको हो।’ 

गत वर्ष फागुनमा कांग्रेससँगको गठबन्धनमा फर्किँदै गर्दा उनै प्रचण्डले आफूलाई एमालेसँग रहँदा उकुमुकुस भएको बताएका थिए। एमालेलाई प्रतिगमनकारीको संज्ञा दिँदै आएका उनले आज त्यही एमालेसँग हात मिलाएपछि यसलाई ठूलो उपलब्धिका रुपमा अर्थ्याएका छन्। उनले यसलाई कम्युनिष्ट एकताको प्रयासका रुपमा पनि व्याख्या गरेका छन्।  

सोमवारकै एक कार्यक्रममा प्रचण्डले सत्ता समीकरण परिवर्तनलाई विशेष र नयाँ उथलपुथल भनेका छन्। उनले आफू नमर्दासम्म यस्तो उथलपुथल भइराख्ने दावीसमेत गरे। उनले साङ्केतिकरुपमा उपयोग गर्न खोजे कुनै पनि बेला लात्ताले हानेर निस्कने पनि बताएका छन्।

‘आजको दिन विशेष दिन। नयाँ उथलपुथल भएको दिन पनि बन्यो। यो सानो कुरा होइन ठूलो कुरा हो। क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिष्ट एकताको पहल पनि भइरहेको छ’, उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ।’ 

देशको ठूलो दल भएर पनि सरकारबाहिर रहनुपर्ने अवस्था आएपछि कांग्रेसले पनि अन्तिम अवस्थामा माओवादीलाई पाखा लगाउन एमालेसँग सहकार्यको प्रस्ताव नगरेको होइन। स्रोतका अनुसार प्रचण्डले थप सहकार्य गर्न नसकिने अन्तिम जवाफ दिएपछि देउवाले आफ्ना दूत बालकोट पठाएका थिए। ओलीलाई नै प्रधानमन्त्री बनाउने गरी कांग्रेसले प्रस्ताव गरे पनि त्यसलाई ओलीले बेवास्ता गरेपछि कांग्रेसको प्रयास असफल भएको हो। 

देशको ठूलो दल भएर पनि सत्ताबाहिर रहनुपर्ने स्थिति बनेपछि निराश बनेको कांग्रेसले गठबन्धन टुट्नुमा आफ्नो नभइ माओवादीकै दोष भएको निष्कर्ष निकालेको छ। कांग्रेस सभापति देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठले कांग्रेसमाथि लागेको सबै आरोप बहाना मात्रै भएको भन्दै माओवादीबाट धोका भएको निष्कर्ष निकालिसकेको छ।

झन्डै एकवर्षपछि फेरि सत्ताको सिँढी चढेको एमाले भने आफ्नो प्रयास सफल भएकोमा दङ्ग छ। नयाँ समीकरण निर्माणपछि एमाले अध्यक्ष ओलीले आफूहरू नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताएका छन्। 

सोमवार पार्टी निकट मजदुर संगठन 'जिफन्ट'को कार्यक्रममा उनले सत्ता समीकरणमा भएको फेरबदलले देश भताभुङ्ग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने दावी गरेका छन्। 

‘हामी अलिक नयाँ ढंगले जान खोजिरहेका छौँ। आजको राजनीति छिटोछिटो परिवर्तन हुँदै गरेको छ,’ उनले भने, ‘हेरौँ कत्तिको प्रभावकारी ढंगले अगाडि बढ्छ। आंशिकरूपले भए पनि देशको भताभुङ्ग बिग्रिएको छ, त्यसबाट सकारात्मक बाटोतर्फ अगाडि बढ्छ भन्ने विश्वास मैले लिएको छु।’

यसअघि माओवादीले आफूहरूलाई प्रतिगनकारीको संज्ञा दिए पनि देशको स्थिति सुधार गर्ने अभिप्रायले फेरि सहकार्यको हात बढाएको एमाले नेताहरूको भनाइ छ। 

‘देशको स्थिति असाध्यै बिग्रेको हुनाले यो ढंगले अघि बढ्दा राम्रो होला कि भनेर माओवादीलगायतका दलसँग गठबन्धन गर्ने निष्कर्षमा पुगेका हौँ’, एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘तर यसमा हाम्रो ठूलो सर्त केही छैन। मात्र अबको सरकारले राम्रो काम गरोस् भन्ने हो।’ 

माओवादीले कम्तिमा बाँकी कार्यकालको आधा सरकारको नेतृत्व पाउनेगरी एमालेसँग सहमति गरेको हो। उसले प्राथमिकतामा राखेको संक्रमणकालीन न्यायको विषय टुंग्याउन यसअघि देखि नै एमालेको साथ खोज्दै आएको थियो भने राष्ट्रियसभा अध्यक्षमा पनि सहयोग गर्ने अपेक्षा राखेको छ।  

नयाँ गठबन्धन निर्माणसँगै एमाले–माओवादीमा उत्साह र कांग्रेसमा निराशा छाएका बेला देश र जनताका लागि यसले कुनै फाइदा नपुर्‍याएको विश्लेषण गरिएको छ। 

पटक–पटक हुने सत्ता समीकरण फेरबदलले देशलाई अस्थिर बनाउनुका साथै जनतालाई निराश पार्ने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।

‘यो घटना एकाएक भएको देखिए तापनि यो अगाडिदेखि नै सरकारमा रहेका दलहरूबीचमा रहेको असन्तोषको विष्फोट मात्र हो’, उनी भन्छन्, ‘यो घटनाले नेपालमा राजनीतिक अस्थिरता झन् बढ्ने र जनतामा स्थिरता कहिल्यै नहुने भो भन्ने चिन्ता थपेको छ।’

सत्ता समीकरण परिवर्तन भएर जनतामा स्थिरता छैन भन्ने सन्देश गएको विषयलाई कांग्रेस माओवादी एकले अर्कालाई दोषारोपण गरे पनि यसमा दुवै दल उत्तिकै जिम्मेवार रहेको विश्लेषक श्रेष्ठ बताउँछन्। 

आफूले प्रतिगमनकारी भनेको शक्तिसँग फेरि हात मिलाउनुका पाछाडि माओवादीको स्वार्थ रहेको उनले औँल्याए। ‘एमाले जस्ताको त्यस्तै छ’, श्रेष्ठले भन्छन्, ‘अहिले नेपालमा कसैको पनि बहुमत नभएको स्थितिमा जोसँग मिल्दा ज्यादा फाइदा हुन्छ, त्योसँग दलहरू मिलेका देखिन्छन्।’    

भागबण्डा प्याकेजमै 

नयाँ सत्ता समीकरण निर्माणसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठनसमेत गरेका छन्। आज (सोमवार) नै माओवादीबाट हितबादुर तामाङ, एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'ले विना विभागीय मन्त्रीको शपथ लिएका छन्। 

नवगठबन्धनले भागबण्डा मिलाउन तीन सदस्यीय कार्यदलसमेत बनाएको छ। उक्त कार्यदलले नै कसलाई कुन मन्त्रालय दिने सहमति जुटाउने छ भने अन्य शक्ति बाँडफाँटबारे सहमतिको विन्दु खोज्ने एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए। 

सरकारको नेतृत्व कसले कति गर्ने र राष्ट्रियसभा अध्यक्ष दुबै विषयमा सहमति भइनसकेको उनले बताए। 

‘सरकार बनाउने सन्दर्भमा नै हामी अहिलेलाई सीमित भयौँ। त्यसकारण यसबारे टुंगो लगाउन कार्यदल बनाएका छौँ। सबै विषय कार्यदलले नै टुंग्याउँछ’, उपमहासचिव ज्ञवालीले भने, ‘प्रधानमन्त्री कसले कति लिने भनेर जाने कुरा ठूलो सर्त रहँदैन।’

माओवादी नेताहरूले भने बाँकी कार्यकाल आधा–आधा सरकारको नेतृत्व गर्ने गरी सहमति भएको बताएका छन्। माओवादीले राष्ट्रियसभा अध्यक्षमा पनि आफूहरूको दावी कायमै रहेको स्पष्ट पारेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.