५७ लाखमा २० लाखले मात्रै लगाए

|

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले दादुरा-रुबेलाविरुद्धको खोप २० लाख (३४ प्रतिशत) बालबालिकाले मात्रै लगाएको जानकारी दिएको छ।

मन्त्रालयले ५१ जिल्लाका ९ महिनादेखि १५ वर्षमुनिका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य राखेको थियो।

‘एकतीस जिल्लाको रिपोर्ट आएको छैन‚ रिपोर्ट पठाएका जिल्लाले पनि कुनैले भर्खरै अभियान सञ्चालन गरेका छन् भने ११ जिल्लामा हिउँ परेकाले ढिलो भयो’‚  परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले भने।

हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान शुरु भएको छैन।

महाशाखाको विवरण हेर्दा खोप लगाउन थालेको १२ दिन भइसक्दा लक्ष्यअनुसारका बालबालिकाले खोप नलगाएको देखिएको छ। परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार प्रारम्भिक संख्या मात्रै आएको बताए।

‘कतिपय ठाउँमा बल्ल खोप अभियान शुरु भएको छ भने केही स्थानीय तहले खोप लगाएको विवरण पठाएका छैनन्। यसले गर्दा कम लगाएको जस्तो देखिएको हो तर एक हप्ताभन्दा बढी समय रहेको हुँदा लक्ष्यअनुसारका बालबालिकालाई खोप लगाइ सकिनेछ’‚ परिवार कल्याण महाशाखा प्रमुख डा. कर्णले भने।

खोपप्रति धेरै अभिभावकको गलत बुझाइ

सरकारले दादुराविरुद्धको पूर्ण खोप लगाएका बालबालिकालाई पुनः खोप लगाउने अभियान शुरु गरे पनि धेरै अभिभावक आफ्ना बालबालिकालाई पुनः दादुरा-रुबेलाविरुद्धको खोप लगाउने विषयमा अन्योलमा छन्। खोप पूरा गरेपछि फेरि किन खोप लगाउने र खोप दोहोर्‍याउँदा बच्चालाई हानि हुने डरले दादुरा-रुबेलाविरुद्धको खोप लगाउन अभिभावक हच्किएका हुन्।

हाल सरकारले लगाइरहेको दादुरा-रुबेलाविरुद्धको खोप बुस्टर खोप भएकाले यसअघि पूर्ण खोप लगाएका बालबालिकाले पनि लगाउनुपर्ने बताउँछन्‚ परिवार कल्याण महाशाखा प्रमुख डा. कर्ण। ‘यसअघि पूर्ण खोप लगाएका बालबालिकाले किन खोप दोहोर्‍याउनुपर्ने भनेर धेरै अभिभावकको जिज्ञासा छ तर यो बुस्टर खोप हो। यसअघि पूर्ण खोप लगाएका बालबालिकामा पनि दादुरा संक्रमण भएकाले यो खोप अनिवार्य लगाउनुपर्छ’‚ डा. कर्णले भने। उनले यो खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै ८५ प्रतिशतलाई दादुरा–रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए।

राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. गरिबदास ठाकुर पछिल्लो समय धेरै जिल्लामा दादुरा संक्रमण बढ्दै गएको हुँदा योपटक सबैले खोप लगाउन छुटाउन नहुने बताउँछन्। डा. ठाकुरले भने‚ ‘दादुराको एक संक्रमितबाट १८ जनामा सर्ने जोखिम हुन्छ। पछिल्लो समय हाम्रोमा दादुरा संक्रमण अलि बढी देखिदै गएको छ। त्यसैले योपटक जोखिम क्षेत्रअनुसार सरकारले तोकेको उमेर समूहका बालबालिकाले अनिवार्य खोप लगाउनुपर्छ।’

सरकारले दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मद्देनजर गरी फागुन १३ देखि चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो। भूकम्पप्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि लगाइसकिएको छ।

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइरहिएको छ। खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म विद्यालय तथा खोप केन्द्रमा उपलब्ध छ।

खोप अभियानका लागि देशभर ४८ हजार ७९८ खोप केन्द्र रहेका छन्। यस्तै ४९ हजार ९३७ स्वास्थ्यकर्मी र ५९ हजार ९०६ स्वयंसेवक परिचालित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.