|

हेटौँडा : केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारकाबाट बाहिरिएको कांग्रेसले समर्थन फिर्ता लिएको छ। कांग्रेसले समर्थन फिर्ता लिएसँगै शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सरकार गठनका लागि बहुमत पुग्नै नसक्ने बातावरण बनाउन कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने गरी समीकरण निर्माणमा अघि बढिसकेको छ।

बागमती प्रदेशसभामा नयाँ गठबन्धनका रास्वपा र जसपा छैनन्। एमाले र माओवादीलाई सरकार बनाउन साना दलको समर्थन आवश्यक छ। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको आवश्यक पर्छ। प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सदस्य छन्। एमाले, माओवादी र एकीकृत समाजवादीको कुल सांसद ५५ सदस्य छन्। प्रदेश सभामा बहुमत पुर्‍याउन उनीहरुलाई थप १ जनाको समर्थन चाहिन्छ। हाम्रो नेपाली पार्टीलाई सहभागी गराए मात्र प्रदेशसभामा बहुमत पुग्छ।

कांग्रेसले हाम्रो नेपाली पार्टीका सांसदहरुसँग वार्ता अगाडि बढाइसकेको छ। यदि हाम्रो नेपाली पार्टीका सांसदहरुलाई आफ्नो पक्षमा पार्न सके बागमतीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताबहादुर सिंह लामाका अनुसार कांग्रेसले साना दलहरुसँग सहकार्य गरेर जाने विषयमा छलफल गर्ने बताएका छन्।

‘कांग्रेसको नेतृत्वमा सरकार निर्माणका लागि पहल गर्छौ। कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुपर्ने हुन्छ। नेता लामाले भने, ‘ उहाँले विश्वासको मत लिन सक्नुभएन भने हामी प्रक्रियाअुनसार अगाडि बढ्छौँ। र त्यो वातावरण बनाउन हामी अन्य दलका साथीहरुसँग निरन्तर छलफल गर्नेछौं।’

लामाले बागमतीमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्न पहल गरेर असफल भएको खण्डमा संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।

सुरुदेखि नै जम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको हाम्रो नेपाली पार्टीले यसपटक भने कुनै निर्णय गरिसकेको छैन। हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्र बज्रचार्यका अनुसार कुन दललाई समर्थन गर्ने भन्ने विषयमा कुनै टुंगो लागि नसकेको बताए।

‘हामी सबै दलका नेताहरुसँग छलफलमै छौँ। मुख्यमन्त्रीज्यू र कांग्रेस संसदीय दलका नेता बहादुरज्यूसँग हाम्रो भेटघाट हुनुका साथै फोन सम्पर्क पनि भइरहेको छ। बज्रचार्यले भने, ‘ यो विषयमा हामी छलफल गरेर निर्णय गर्नेछौं।

बज्रचार्यले आफू पदमा जानेभन्दा पनि कुन दलसँग सहकार्य गर्दा जनताको हित हुन्छ त्यहि दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.