|

काठमाडौँ : बंगलादेशले आइतवार साफ यु–१६ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै बंगलादेश च्याम्पियन भएको हो।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णयका लागि टाइब्रेकरतर्फ धकेलिएको थियो। भारतका एलिना देवी र दिव्यानीको पेनाल्टी सफल भएन। सौरभी प्रीतिको प्रहार भारतकी गोलकिपर सुरभीकुमार मुन्नी रोक्दै बंगलादेशमाथि दबाव बनाइन्। लगत्तै भारतकी कप्तान श्वेता रानीले गोल गरिन्। तर बंगलादेशकी मरियम बिन्ताले गोल गरिन् तर भारतको तेस्रो पेनाल्टी प्रहार गर्न आएकी एलिना देवीको प्रहार सफल भएन।

उनको प्रहार बंगलादेशकी गोलकिपर एर्जन बेगमको हातमा छुँदै पोस्टमा ठोकिएर फर्कन पुग्यो। त्यससँगै भारत र बंगलादेश २–२ को अवस्थामा पुग्यो। त्यसपछि बंगलादेशकी थुइनुई मर्माले गोल गर्दा भारतकी बोनिफिलिया शुलाईको पेनाल्टी बंगलादेशी गोलकिपर एर्जनले उत्कृष्ट बचाउ गरिन् तर बंगलादेशकी अल्पी अक्तेरको पेनाल्टी रोकिएपछि भारतलाई ठूलो राहत मिल्यो। भारतकी अन्विता रघुरमनले गोल गर्दै आफ्नो टोलीको आशा जीवितै राखिन्। बंगलादेशकी साथी मुन्डाले गोल गरिन्।

तर दिव्यानी लिन्डाको पेनाल्टी रोक्दै बंगलादेशकी गोलकिपर एर्जनले आफ्नो टोलीलाई उपाधि दिलाइन्।

भारतले खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलबाट अग्रता लिएको थियो। बोनिफिलिया शुलाईले मध्यभागबाट दिएको उत्कृष्ट पास नियन्त्रणमा लिँदै अनुष्काले गोल गरेकी हुन्। त्यो गोलसँगै भारतले पहिलो हाफमा १–० को अग्रता लियो तर दोस्रो हाफमा भने भारतले अग्रता जोगाउन सकेन।

७० औं मिनेटमा मरियम बिन्ताको गोलबाट बंगलादेश खेलमा फर्कियो। एनन्ना मुर्मुको कर्नर पासलाई मरियमले वान टच गोल गरेकी हुन्।

भारतकी कप्तान अर्पिता विश्वासले मरियमलाई कडा निगरानी राखे पनि उनले चतुरतापूर्वक वान टच गोल गरेकी हुन्। त्योसँगै निर्धारित समय १–१ को बराबरीमा टुङ्गियो।

यद्यपि, पेनाल्टी सुटआउटमा भने भारत अभागी सावित भयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.