|

काठमाडौँ : माओवादी केन्द्रले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाएपछि पार्टीभित्र चर्को असन्तुष्टि देखिएको छ।

राष्ट्रियसभा अध्यक्षका लागि माओवादीबाट दाहालसहित अहिलेकी उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी आकांक्षी थिए। यसैगरी मायाप्रसाद शर्मा, रेणु चन्दलगायतको नाम पनि चर्चामा थियो। 

ऐतिहासिक रुपमा महिलाको नेतृत्व हुने र अनुभवी पनि रहेकी अर्याललाई नै अघि सार्नुपर्ने मत पनि माओवादीमा थियो। उपाध्यक्ष अर्याल स्वयंको चाहना पनि त्यही थियो।

नयाँ गठबन्धनबाट राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने निश्चित भएपछि उनी लबिङमा जुटेकी थिइन् तर भएको उपाध्यक्ष पदसमेत उल्टै गुम्ने भएपछि अर्याल निराश भएकी छन्। यद्यपि पार्टीको निर्णय आफूले मान्ने उनी बताउँछिन्।

‘अध्यक्ष खाली हुँदै गर्दा मैले अनुभव पनि बटुलेको र महिलाको हिसाबले समेत ऐतिहासिक हुन्थ्यो भन्ने थियो। काम पनि गरिनै हाल्थेँ। इमेज पनि बिग्रेको थिएन’, उनले थाहाखबरसँग भनिन्, ‘यस्तो अवस्थामा अध्यक्षमा प्रमोट गरिदिएको भए हुन्थ्यो भन्ने थियो तर फेरि पार्टीले गरेको निर्णय हो, मान्नैपर्छ। भोलि निर्वाचनपछि म राजीनामा दिन्छु।’ ​

राष्ट्रियसभा अध्यक्ष संवैधानिक परिषद्को सदस्य पनि हुने भएकाले ६ वर्षका लागि यसैपटक निर्वाचित भएका झक्कुप्रसाद सुवेदीलाई अध्यक्ष बनाउनुपर्ने मत पनि कतिपय नेताहरूका थियो। तर अध्यक्ष प्रचण्डको चाहनाअनुसार उनका भाइलाई नै उम्मेदवार बनाइएपछि पार्टी पदाधिकारीले नै चर्को असन्तुष्टि जनाएका छन्। 

पार्टी अध्यक्ष प्रचण्ड ‘नेपोटिज्म’बाट बाहिर निस्कन नसक्दा पार्टीपंक्ति निराश र असन्तुष्ट हुनुपर्ने स्थिति सृजना भएको माओवादीका एक पदाधिकारी बताउँछन्। अहिले राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा भाइलाई छान्दा पार्टीमा सकारात्मक सन्देश नगएको उनको बुझाइ छ।

‘प्रचण्डजी नेपोटिज्मबाट बाहिर निस्कन सक्नुभएन’, ती पदाधिकारीले थाहाखबरसँग भने, ‘अरुलाई दिँदा विश्वासिलो नहुने भएर पनि आफ्नो विश्वासपात्रलाई छान्नुभएको होला तर यसले पार्टीभित्र भने सकारात्मक सन्देश दिएन।’ 

त्यसो त माओवादी अध्यक्ष प्रचण्डको परिवारमोहविरुद्ध पहिल्यैदेखि विभिन्न टीका टिप्पणी र आलोचना हुँदै आएको छ। यही १० फागुनमा बसेको स्थायी कमिटी बैठकबाट नेताहरूको कार्य विभाजन गर्ने क्रममा पनि प्रचण्डले आफ्ना परिवारका सदस्य अट्ने निर्णय गराएका थिए। 

स्थायी समिति सदस्यसमेत रहेका सुदूरपश्चिमका नेता खगराज भट्टलाई पदच्यूत गर्दै उनले बुहारी बिना मगरलाई सुदूरपश्चिम प्रदेशको सह-इन्चार्ज बनाए। त्यसविरुद्ध पार्टी उपमहासचिव जनार्दन शर्माले ‘नोट आफ डिसेन्ट’ नै लेखे। 

त्यसै वेला प्रचण्डले भाइ नारायण दाहाललाई पनि बागमती प्रदेशको सह–इन्चार्जको प्रस्ताव गरेका थिए तर उपमहासचिव शर्माकै आपत्तिपछि दाहाललाई भने सह-इन्चार्ज बनाइएन।

गत वर्षको आमनिर्वाचनमा कान्छी छोरी गंगा दाहालका श्रीमान् जीवन आचार्यलाई टिकट दिलाउनेदेखि पछि मन्त्री बनाउन प्रचण्डले लिएको कदम पनि विवादित थियो। उनै ज्वाइँ आचार्यका लागि उनले टिकट नै साटफेर गरेका थिए। 

कांग्रेससँगको चुनावी गठबन्धनमा भागबन्डा गर्दा सोलुखुम्बु माओवादीको भागमा परेको थियो तर प्रचण्डले सोलुखुम्बु कांग्रेसलाई दिएर आचार्यका लागि मोरङ ६ (१) लिएका थिए। निर्वाचन जितेर आएका ज्वाइँ आचार्यलाई पछि मन्त्री बनाउन प्रचण्डले चालेका कदम पनि विवादित बने।

शुरुमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री हुँदा ०७९ पुस २६ मा प्रचण्डकै चाहनाले गर्दा आचार्य पर्यटनमन्त्री बने। एमाले–माओवादी सहकार्य छोटो समयमै ‘ब्रेक’ लागेपछि कांग्रेससँगको गठबन्धन सरकारमा पनि आचार्यलाई प्रचण्डकै चाहनाअनुसार तत्कालीन मुख्यमन्त्री उद्धव थापाले आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका थिए। 

आफ्नै कान्छी छोरी गंगालाई प्रचण्डले प्रमुख स्वकीय सचिव बनाएको विषय पनि माओवादीभित्रै र बाहिर पनि चर्को आलोचना हुने गर्छ। गंगा हावी भएकै कारण पार्टी उपमहासचिवसमेत रहेका हरिबोल गजुरेलले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको नेताहरू बताउँछन्। 

अर्की छोरी रेणु दाहाललाई भरतपुरको मेयर पद दिलाउन माओवादी आन्दोलनलाई नै दाउमा राखेको आरोप पनि प्रचण्डमाथि छ। ०७४ मा मतपत्र च्यातेर उपनिर्वाचनबाट रेणुलाई मेयर जिताएको आरोप लागेको थियो। 

उसो त अध्यक्ष प्रचण्डले लाद्ने गरेको परिवारवादविरुद्ध माओवादी नेताहरू बोल्ने वा विरोध गर्न सक्ने अवस्थामा छैनन्। विरोध गर्दा पाखा लाग्ने डर नेता–कार्यकर्तामा व्याप्त रहेको ती पदाधिकारी बताउँछन्। 

‘पहिलो त बोल्दा सुनुवाइ हुने भए पो बोल्नुको अर्थ रहन्छ। अर्को चाहिँ बोल्दा कतै आफैँलाई पाखा लगाइन्छ कि भन्ने डर भएकाले अधिकांश नेता–कार्यकर्ता चित्त नबुझे पनि विरोध गर्न नसक्ने अवस्था छ’, उनी भन्छन्, ‘यस्तो साइलेन्ट प्रोटेस्टले पार्टीमा धेरैको क्रियाशीलता पनि मर्छ।’  

माओवादीका अर्का पदाधिकारी पनि अध्यक्ष प्रचण्डका भाइलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाइएकोमा सन्तुष्ट छैनन्। पार्टीमा नातावाद, कृपावाद र व्यक्तिवादको कुरा आमरुपमा उठिरहेको अवस्थामा त्यसलाई थप बल पुर्‍याउने गरी यो निर्णय भएको उनको बुझाइ छ।  

‘अहिले जुन प्रकारले नातावाद, कृपावाद र व्यक्तिवादको कुरा पार्टीमाथि आमरुपमा उठिरहेको छ- विना मगरको कुरा अस्ति भर्खरै उठ्यो। छोरी–ज्वाइँको कुरा पनि उठ्दै आएको छ। अहिले फेरि त्यस्तै कुराबाट जोगिनु पर्थ्यो’, ती पदाधिकारीले थाहाखबरसँग भने, ‘यसले पार्टी कार्यकर्तामा निराशा थप्ने काम गर्‍यो।’

नारायणले भने आफूले पार्टीमा गरेको योगदानकै कारण अहिले अवसर पाएको दावी गरेका छन्।

‘यो मैले पार्टीमा लामो समय गरेको योगदानले गर्दा पाएको हो। अध्यक्ष प्रचण्डले पार्टी भएर सोच्नुहुन्छ, गर्नुहुन्छ र भन्नुहुन्छ। त्यसैगरी मलाई जिम्मेवारी दिनुभएको हो। फेरि सिंगो पदाधिकारी बैठक बसेर पास भएको कुरा अध्यक्ष प्रचण्डले दिएको भन्ने कुरै भएन’, उम्मेदवारी दर्तापछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अहिले अध्यक्ष प्रचण्डसँग दाजुभाइको नाता पर्ने हिसाबकिताब गर्नेले म हिजो युद्धमा हिँड्दा दाइ छ तँ नहिँड भनेनन्।’  

राष्ट्रियसभाको आइतवार सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज (सोमवार) सत्ता गठबन्धनका तर्फबाट दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता पनि गराइसकेका छन्। 

नयाँ अध्यक्ष चयनका लागि भोलि (मंगलवार) निर्वाचन हुँदै छ। तत्काल राष्ट्रिय राजनीतिमा कुनै नाटकीय फेरबदल नआए दाहालको जित निश्चितजस्तै छ।

उनी २०७८ चैत २५ मा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन्। अब अध्यक्ष चुनिए दाहालले आगामी ४ वर्षका लागि राष्ट्रियसभाको नेतृत्व गर्नेछन्।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.