|
फाइल तस्वीर

काठमाडौँ : नेपालले फिफा विश्वकप २०२६ र एशियन कप छनोटअन्तर्गत होम एण्ड अवे दुवै खेल बहराइनमा नै खेल्ने तय भएको छ।

नेपालले बहराइनसँगको होम खेल यही चैत ८ गते काठमाडौँस्थित दशरथ रंगशालामा खेल्ने निश्चित थियो तर दशरथ रंगशालाको मैदान खेल्नलायक नभएपछि खेल बहराइनमा सारिएको हो। 

बहराइनका खेल पदाधिकारीले दशरथ रंगशालाको निरीक्षण गरेर दशरथ रंगशालाको मैदान खेल्न योग्य नरहेको भन्दै एशियाली फुटबल महासंघ (एएफसी)समक्ष उजुरी गरेका थिए।

एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गरेर मैदान खेल्न योग्य नरहेको र खेल्न नहुने प्रतिवेदन दिएका थिए।

न्युट्रल भेन्युमा खेल आयोजना गर्न एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रह गरेपछि एन्फाले शुरुमा भुटानमा खेलाउन एएफसीलाई अनुरोध गरेको थियो। 

बहराइनले हाई अल्टिच्युड (उच्च पहाडी भेग) भएकाले भुटानमा खेल्न नसक्ने जनाउ दिएपछि एन्फाले साउदी अरबमा खेल्ने भनेको थियो। 

बहराइनले साउदीमा पनि खेल्न मानेन बरु उसले दुवै खेल बहराइनमा खेले नेपाललाई आर्थिक सहयोग गर्ने वचन दिएपछि नेपालल दुवै खेल बहराइनमा नै खेल्न तयार भएको हो।

एन्फा स्रोतका अनुसार एन्फाले भुटानमा अवे खेल खेल्ने निर्णय गरेको तर बहराइनले नमानेकाले साउदीमा खेल्ने प्रस्ताव गर्दा पनि बहराइनले मानेन। 

बहराइनले बरु त्यहाँ नै नेपालले होम एण्ड अवे दुवै खेल खेल केही आर्थिक सहयोग गर्ने भनेपछि दुवै खेल बहराइनमा खेलिने पक्का भएको उक्त स्रोतले जनायो।

समूह एच मा रहेको नेपालले यसअघि खेलेका दुई खेल हारिसकेको छ। समूह एच मा यूएई, बहराइन र यमनसहित नेपाल पनि छ।

यूएईले खेलेका दुई खेलमध्ये दुवै जितेर समूहको शीर्षमा छ भने बहराइन र यमनले खेलेका दुई खेलबाट २/२ अंक बटुलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.